प्रधानमन्त्रीद्वारा एमसीसी पारित गर्न एमालेको सहयोग माग

0
603

काठमाण्डौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार बिहान भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए।

भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीले अनुरोध गरेको बताए।

भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेका छन्।

एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदको कारबाही रोकेर अवैध रुपमा दल (नेकपा एस) दर्ता गरिएको भन्दै लगातार संसद अवरुद्ध गर्दै आएको छ। माधव नेपालको कारबाही वैध हुनुपर्ने, सांसदको हैसियतमा संसदमा उपस्थित गराउन नहुने र कारबाही रोक्ने सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने एमालेको माग छ।

एमालेसँग संवाद गर्न यसअघि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाए पनि माधव नेपाल सहभागी भएका कारण एमाले सहभागी भएन। त्यसैगरी सभामुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको छैन।

सहमतिको निरन्तर प्रयास गर्दा पनि एमालेले अवरोध कायमै राखेपछि सत्ता गठबन्धनले संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ। जसअन्तर्गत देउवा शनिबार बालकोट पुगेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here