गएको दुई वर्षदेखि विश्वलाई त्रस्त बनाइरहेको कोभिड–१९ को पछिल्लो उत्परिवर्तित रुप ओमिक्रोन नेपालभित्र पनि समुदायमा फैलिसकेको आशंका गरिएको छ । शुक्रबार मात्रै चौबीस जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि संक्रमण समुदायमै फैलिएको हुनसक्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ । पुस महिनामा एक हजार एक सय छयालीस पोजेटिम नमूनाको एसजिन स्क्रिनिङ गर्दा दुई सय पचास वटा नमूनामा वाइस प्रतिशत एसजिन नेगेटिभ पत्ता लागेको मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिइन् । यसअघि तीन जनामा मात्र ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । अब तीब्र विस्तार हुने ओमिक्रोन संक्रमितको संख्या सत्ताइस पुगेको छ । कोरोना संक्रमण दर न्यून हुँदै गएकाले जनस्वास्थ्यका मापदण्डको पालनामा असावधानी र लापरवाही बढ्दै गएको अवस्थामा बढ्न थालेको संक्रमणको गति र नयाँ भेरियन्टको तीब्रता नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

विगतको डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक भएकाले धेरै मानिस संक्रमित हुनसक्ने त्रास बढेको छ । अस्पतालहरुलाई विरामीको चापलाई ध्यानमा दिई उपचारका लागि अक्सिजन लगायतका स्वास्थ्य उपकरणको जोहो गर्न, स्वास्थ्यकर्मीलाई तयारी अवस्थाममा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन पनि दिएको छ । संक्रमण रोग विज्ञ डा. शेरबहादुर पुनले ओमिक्रोन संक्रमितहरु कति गम्भीर अवस्थामा छन् भन्ने खुलिनसकेको भन्दै त्यसको गाम्भीर्यलाई हेरेर सरकारले नियन्त्रण गर्ने योजना बनाउनुपर्ने बताएका छन्् । भारतमा संक्रमण देखिएको पन्ध्र दिनपछि नेपालमा संक्रमण पहिचान भएको विगतको अनुभव यसपटक पनि दोहोरिएको छ । ओरालो लागेको कोरोना संक्रमण र मृत्युदर उकालो लाग्दै गएको र भारतबाट नेपाल आउनेहरुको चाप पनि बढ्दै गएको अवस्था र ओमिक्रोनका संक्रामक गतिले अनिष्टको संकेत गरिसकेको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोनाको संक्रमणलाई रोक्न यसअघि जनस्वास्थ्यका विश्वव्यापी मापदण्डको पालना गर्न जोड दिँदै आएको थियो । सरसफाईमा ध्यान दिन, हात बारम्बार धुन, दूरी कायम गर्न, भीडभाडमा नजान, भीडभाड हुने कुनै गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरिएको थियो । त्यही अवस्था आज पनि कायम रहेकाले प्रवेशद्वारहरुको निगरानी, सजगता र स्वास्थ्य परीक्षणको कार्यलाई प्रभावकारी बनाउनुपर्छ । खुल्ला सीमाना भएका कारण प्रहरी उपस्थिति बढाएर मुख्य द्वार भएर मात्र प्रवेश गर्ने र त्यस्ता मार्गहरुमा हेल्थ डेस्क, होल्डिङ सेन्टर, स्वास्थ्य परीक्षण, खोप लगायतको सेवा विस्तार गरेर ओमिक्रोनले पार्न सक्ने प्रभाव र असर नियन्त्रण गर्न स्थानीय सरकारसँग समन्वय गरेर सीमा नाकामा कडाइ गरिनुपर्छ । अहिले पनि संक्रमितमध्ये पन्ध्र जना भेन्टिलेटरमा, एकासी जना आइसीयुमा रहेको र शुक्रबार एकै दिन पाँच सय बहत्तर जनामा संक्रमण पुष्टि भएको तथ्यांकलाई सर्वसाधारण, स्थानीय सरकार, सरोकारवाला निकाय र सरकारले गम्भीर ढंगले लिनु पर्दछ । यसो नभए सम्भावित जोखिमलाई कम गर्न सकिने छैन ।




























