अवैध नेटवर्किङ व्यापारको धन्दा विदेशसम्म

0
1049

रामेछापकी सुनिता दर्लामीले साथीको लहै–लहैमा लागेर इनफिनिटी ग्लोबल नाम गरेको नेटवर्किङ व्यापारधन्दामा एक लाख ६० हजार रुपैयाँ लगानी गरिन् । आफूले लगानी गरेपछि आफ्ना अन्य दुईजना साथीहरुलाई पनि लगानी गर्न भनिन् । आफ्नो लाइनमा रहने गरी एकजनाबाट चार लाख रुपैयाँ र अर्को साथीबाट एक लाख ४० हजार रुपैयाँ लगानी गराइन् ।
सुनिताले यसरी लगानी गर्नु र अरुलाई पनि लगानी गर्न उत्प्रेरित गर्नुको पछाडि छिट्टै पैसा कमाउने र धनी बन्ने सपना नै थियो । दिनको दुई गुणा र रातको चौगुणाले कमाइ हुने प्रलोभनमा उनीहरुले यसरी लगानी गरेका थिए ।

बुटवलकी कविता शर्माले सोही नेटवर्किङ व्यापारमा पटक–पटक गरेर ४० लाख रुपैयाँ लगानी गरिन् । उनलाई एक बर्षमा लगानी दोब्बर हुने र अन्य नयाँ साथी जोडेमा कमिसन पाइने आश्वासन दिइएको थियो । कवितालाई ‘कन्भिन्स’ गर्नेहरुले धेरै पैसाका चेक देखाउने गरेको, महँगो–महँगो गाडी किन्न सकेको, बङ्ला किनेको र ऐसको जिन्दगी बिताउने गरेको भनिन्थ्यो । यसरी भन्न आउनेहरु महँगो गाडी चढेर नै आउँथे र आफूले पनि यसरी नै कमाएको भन्दै प्रलोभनमा पार्थे ।

झापाका कमल गिरील े१० लाख रुपैयाँ लगानी गरेका छन् । लगानी गरेको केही महिना राम्रै भएको रदुई तीन लाख फिर्ता पाएको उनको भनाइ छ । त्यसपछि ठगहरु बिस्तारै सम्पर्कविहीन हुँदै गए । पैसा फिर्ता माग्दा सम्पर्क मै नआउने र आईहाले धम्कीका भाषा प्रयोग गर्ने थालेपछि उनलाई आफू ठगिएको थाह भयो ।

नेपाल सरकारले अवैध घोषणा गरी नेटवर्किङ बिजनेसका धन्दावालहरुलाई कारवाही गर्न शुरु गरेपछि अहिले वैदेशिक रोजगारीमा रहेका नेपालीहरु यसको तारो बन्ने गरेका छैन् । विदेशमा काम गर्ने नेपालीहरुसँग पैसा पनि हुने र उनीहरुलाई मनाउन सजिलो पनि हुनाले ठगहरुको ध्यान विदेशमा रहेका नेपालीहरु माथि गएको हो ।

युनिटी लगायतले गैरकानूनी रूपमा पिरामिड शैलीमा सञ्जाल विस्तार गरी अर्बौं ठगेको गुनासोपछि सरकारले दशकअघि त्यस्ता व्यवसायलाई प्रतिबन्ध लगाएको थियो । सर्वोच्चले २०६८ चैत १५ मा नेटवर्क मार्केटिङ व्यवसायमा बन्देज लगाउने सरकारी निर्णय कानूनसम्मत भएको फैसला सुनाएको थियो । त्यही फैसलामा सर्वोच्चले स्वच्छ प्रतिस्पर्धा र उपभोक्ताको हितमा प्रतिकूल प्रभाव नहुने गरी कानून बनाएर प्रत्यक्ष व्यवसाय सञ्चालनका लागि अनुमति दिन सक्ने भनेको थियो ।

नयाँ कानूनमा पनि नेटवर्किङ र पिरामिडशैलीको व्यापार व्यवसाय गर्न नपाइने भनिए पनि इजाजत लिएका र आवेदन दिएका प्रायः कम्पनीले पिरामिडशैली मै सञ्जाल विस्तार गरिरहेका छन् । विदेशमा ठगिएपछि कसैसँग उजुरी गर्ने आधार नहुने भएकोले ठगी गर्न सजिलो भएको छ । सोझासाझा कामदारहरुलाई फकाइफुल्याइ गरेर उनीहरुलाई लगानी गर्न उत्प्रेरित गर्ने गरिन्छ ।

वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐनको दफा ११ मा कसैले पनि पिरामिडमा आधारित व्यवसाय सञ्चालन गर्न नपाईने भनेर स्पष्ट व्यवस्था छ । ऐनमा पिरामिडमा आधारित व्यवसाय भन्नाले वस्तु खरिद गर्नुपूर्व अनिवार्य रूपमा कुनै किसिमको सदस्यता लिनुपर्ने अवस्था भएको, एक वस्तु खरिद गर्दा अन्य वस्तु समेत एकमुष्ट प्याकेजमा खरिद गर्नुपर्ने र वस्तु खरिद गर्ने व्यक्तिले आफू मातहत अर्को प्रत्यक्ष बिक्रेता वा वितरक बनाउन नसकेको अवस्थामा आफूले भुक्तानी गरेको र कम वा लाभ बराबरको वस्तु प्राप्त गर्न नसक्ने स्थितिको सञ्जालयुक्त कार्य भनिएको छ ।

यस्तै कम्पनीको वस्तु बिक्री गर्ने प्रायोजनका लागि व्यावसायिक दृष्टिले अनुचित र असम्भवदेखिने आकर्षक उपहार दिई वा कमिसनको प्रलोभन देखाई सदस्य बनाउने वा महँगो वस्तु खरिद गर्न लगाउने, वस्तुको खुद्रा बिक्रीलाई निरुत्साहित गर्ने व्यापारिक कार्ययोजना भएको वा कुनै वस्तुलार्ई अप्रत्याशित लाभ हुने वा चिकित्सा विज्ञानबाट निको नहुने भनी प्रमाणित भएको रोग निको हुने अलौकिक वस्तु हो भनी विश्वासमा पारी बिक्री वा वितरण गर्ने सञ्जालयुक्त कार्यलाई पनि पिरामिडमा आधारित व्यवसाय भनिएको छ ।

हाल अनलाइन बिजनेस गर्ने अधिकांशले यस्तै प्यारामिडशैलीको नेटवर्किङ व्यापार गरिरहेका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीहरु अहिले यिनै इनफिनिटी ग्लोबल, सोल म्याक्स लगायतका कम्पनीहरुबाट ठगीमा परेका छन् । दुबईमा कार्यरत कतिपय सामाजिक अभियन्ताहरु नै यो कार्यमा लागेका छन् । झापा जिल्लाबाट दुबईमा रोजगारी गर्न जाने अधिकांश श्रमिकहरु यसरी ठगिमा परेका छन् ।

एक हजार डलरदेखि १० हजार डलरसम्म डुब्यो उठाइ पाउँ भन्ने व्यहोराका निवेदनहरु अनगिन्ती छन् । इन्फिनिटी ग्लोबलबाट ठगिने ३० जनाभन्दा बढी पीडितहरुले आफ्नो पैसा उठाइ दिन हारगुहारगर्ने गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमा आफ्नो समूह नै बनाएर नेटवर्किङ व्यापारका मालिकलाई कसरी कारवाही गर्ने भनेर छलफल चलाउन थालेका छन् । पीडित सुनिताका अनुसार इन्फिनिटीमा मात्र झण्डै ७० हजार सदस्य बनेका छन् ।

अधिकांश कम्पनीहरु कहीँकतै दर्ता गरिएको हुन्न । फसिएमा आफ्नो पैसा दाबी गर्ने र कानूनी उपचार खोज्ने आधारहरु पनि हुन्न । सुनिता भन्छिन– ‘ हामीलाई पैसा तिरेको प्रमाण केही पनि दिइएन । आफूभन्दा माथिको सदस्यलाई ‘अपलाइन लिडर’ लाई भरोसा गर्ने भनेर कन्भिन्स गरिन्छ । पैसातिरेको रसिद पनि दिइदैन ।

केहीले नेपालमा रहेको आफ्नो जग्गा नै बेचेर पनि पैसा लगानी गरेको पनि पाइन्छ । उजुरी गर्ने कतै ठाउँ नपाएपछि अहिले उनीहरु बिलखबन्दमा परेका छन् । जान्दाजान्दै फसियो, कसलाई कहाँ उजुरी गर्नु र ! आफ्नै बद्नाम हुन्छ कि भन्ने डर छ, सम्पर्कमा आएका झापाका कुमार लिम्बू भन्छन्– वैदेशिक रोजगारीमा आएका झापा जिल्लाका अधिकांश नेपाली ठगिएका छन््, तर बोल्न सकिरहेका छैनन् ।

नेटवर्किङ धन्दामा यसअघि संलग्नता पुष्टि भई सकेका व्यक्तिहरु नै अहिले फरक नामका कम्पनी दर्ता गरी बजारमा खुलेआम आफ्नो उपस्थिति देखाउन थालेपछि ठगीधन्दाको चक्रव्यूह फेरि डरलाग्दोरुपमा फैलिएको छ । केहीले एउटा नाममा कम्पनी दर्ता गरेर अनुमानित नपाएका प्यारामिडशैलीको व्यापार गरिरहेका छन् । गृह मन्त्रालयले पौष २३ गते एक विज्ञप्ति जारी गर्दै यस्तो अबैधधन्दा नगर्न सचेत गराए पनि यो धन्दा घटेको छैन । बरु बढेकोबढ्यै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here