भद्रपुरका मारवाडी, बंगाली र मैथिल समाजले मनाए होली

0
534

झापा, 

फागु पूर्णिमा अर्थात् होली (फागु)का अवसरमा भद्रपुरका मारवाडी, बंगाली र मैथिल समाजले छुट्टाछुट्टै होली मिलन समारोह मनाएका छन्। धार्मिक संस्कृति जगेर्ना गर्न भद्रपुर मारवाडी संघ, मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चको संयुक्त आयोजना मारवाडी संघको कार्यालयमा होली मिलन समारोह भव्य रुपमा मनाइएको छ।

मारवाडी संघका अध्यक्ष अजय साहेवालाको अध्यक्षता तथा प्रदेश १ का भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट ६ जना विद्यार्थी, ५ जना वयोवृद्ध र दुई जनालाई मरणोपरान्त गरी १३ जनालाई सम्मान गरिएको थियो। संघका पूर्वअध्यक्ष स्व परशुराम अग्रवाल र ओमप्रकाश साहेवालालाई मरणोपरान्त सम्मान सम्मान गरिएको थियो।

वयोवृद्ध सम्मानबाट राजकरण कोठारी, किशन मित्रुका, लक्ष्मीदेवी अग्रवाल, नैनादेवी साहेवाला र लक्ष्मी देवी टायललाई सम्मान पत्रले सम्मान गरिएको थियो।
विद्यार्थीतर्फ स्नातक तहदेखि एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने र चित्रकलामा उत्कृष्ट भएकालाई प्रमाणपत्र सम्मान गरिएको थियो। मारवाडी भाषाका विभिन्न गीत, नृत्य, नाटक र कविता वाचन गरिएको थियो।

बंगाली युवा क्लब भद्रपुरले पनि विविध गरि होली मिलन समारोह मनाएको छ। धार्मिक परम्परासँगै रंग लगाएर आपसमा सद्‌भाव साटासाट गर्दै होली मनाएको हो। होली मिलन समारोह आयोजक समितिका संयोजक सञ्जय घोषको अध्यक्षमा भएको कार्यक्रममा भगवान् राधाकृष्णको तस्वीरमा रंग लगाएर होली मिलन समारोहको उद्घाटन गरेको समितिका सदस्य मानस घोषले जानकारी दिए।

साथै बंगाली समुदायका महिला, बालबालिका, युवायुवतीहरूले पनि एक अर्कोलाई रंग दली नृत्य गरेर समारोहलाई भव्य बनाएको समितिका उपाध्यक्ष निर्मल घोषले जानकारी दिए। मैथिल समाज भद्रपुरले मोहपाल धर्मशालामा होली समारोह भव्य रुपमा मनाएको छ। समाजका अध्यक्ष रमेशचन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले आपसमा रंग दलेर होली पर्व मनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here