किरण अर्याल
सोचाइ र जीवनका भोगाइमा ठ्याक्कै तालमेल नमिल्न सक्छ । मानिसले एकखालको तर सोच्छ भोगाइ त्यसको ठिक विपरीत पनि हुन सक्छ । चाहना र आवश्यकता पूरा गर्ने होडमा जीवनको एक वसन्त अर्को वसन्त बितिरहेकै हुन्छ । भनिन्छ, नयाँ वर्षमा नयाँ सोचको आगमन हुन जरुरी छ । बाल्यकालमा नयाँ वर्षले छुट्टै रौनकता दिन्थ्यो ।
हिरो÷हिरोइनको पोस्कार्डमा आफ्नो मिल्ने साथीलाई नयाँ वर्षको शुभकामना दिँदै शुभकामना आदानप्रदान गर्नुको मज्जा नै बेग्लै थियो । ती दिन कहाँ गए कहाँ कता हराए पत्तै भएन । कैयौं वसन्त पार गरियो, तर ती पलहरु कहिले आएन अहिलेको नयाँ प्रविधि र सामाजिक सञ्जालले ती पललाई गुमनाम बनाइ दियो ।
यो सालको अन्त्यसँगै नयाँ वर्षको आगमन हुँदैछ । मनमा हौसला उत्साह छ । तर, पहिलेको जस्तो उत्साह पटक्कै छैन । बोटबिरुवाले पालुवा हाल्दै छन्, गुलाब रंगी–बिरंगी फुल्दै छन्, कमल फूलको सुगन्धमा मौरी अल्मलिँदै छन्, चराहरु गीत संगीत दिँदै नयाँ बर्षलाई बोलाउँदै छन् । कोइलीको कुहुकुहुले वनजंगल डाँडापाखा नै रोमाञ्चित बनेको छ ।
नयाँ वर्ष, नयाँ दिन माहोल नै कस्तो रमाइलो, हरेकले नयाँ–नयाँ सिर्जना सिर्जने चाहना बोकेर यताउता डुल्दै हुने छन् । खुशी र उमँग बोकेर नयाँ वर्ष चरी झैं उडिरहेको हुनेछ । छुट्टै मिठासता भरेर मानिसहरुको चहलपहल बढेको हुन्छ । जोशजाँगर र हौसलाले सफलताको शिखर चुम्नेछ । मानिसहरु कल्पनामा डुबिरहेका हुन्छन् ।
तर, सोचाइ र भोगाइ फरक बनिदिँदा मानिस निराश बन्ने अवस्था आएको छ । चुनौति धेरै थपिएका छन् । देशको अर्थतन्त्र चुर्लुम्म डुबेको छ । मानिस विलासी बनेका छन्, कृषियोग्य जमिन प्लटिङ्ग गरी बिक्री भएका छन् । चल सम्पत्तिभन्दा बढी अचल सम्पत्ति धेरै भएको छ । जसले गर्दा देश नै टाट पल्टने स्थितिमा छ । २०७९ को नयाँ वर्ष र २०७९ को समग्र वर्ष नै चुनौति र समस्याले जेलिन्छ कि भन्ने भान हुन्छ । उपभोक्ता बढ्नु र उत्पादन घट्नु मुख्य समस्याका रुपमा रहेको पाइन्छ ।
विकासको गतिमा कुद्दै गरेको हाम्रो देश राजनीतिको घेराबन्दीमा परेर नयाँपन थप्न नसक्ला कि झैं छ । देशमा दक्ष जनशक्ति उत्पादन भएको भए पो देशले हरेक वर्ष नयाँपन दिन सक्थ्यो । बिडम्बना हाम्रो देश नेपालमा भ्रष्टाचारी र देशद्रोहीको संख्या उल्लेख्य मात्रामा भएको कारण कुनै पनि वर्षले नयाँपन दिने विश्वास गर्न सकिँदैन । नयाँ वर्ष त यस्तो बन्नुपर्छ जसको आगमनले थप ऊर्जा प्रदान गर्न सकोस् । राष्ट्रियताप्रति हरेकले नयाँ वर्षको दिन आफ्नो देशको निमित्त केही नयाँपन थप्ने सोचको प्रण गर्न सकुन् ।
घडीको सुई आफ्नै गतिमा घुमिरहेकै छ । मानिस अस्वस्थकर जीवनशैलीको कारण मृत्युलाई अकालमै रोज्दैछ । हरियालीमा प्रदुषणले अतिक्रमण गर्दैछ । मनमा नयाँ वर्षले केही गर भन्दै घण्टी बजाइरहेछ । तर, वातावरण केही गर्न नसक्ने स्थितिमा पुग्दैछ । मानिस मतलवी बनि क्षणिक फाइदामा आफूलाई बेचिरहेछ । अवस्था यस्तो बन्दैछ खुशीमा रम्ने कि भविष्यको चिन्तामा दुःखी हुने ।
बालापनमा पाएको त्यो नयाँपनको खुशी के अब महशुस गर्न पाइन्न त ? यो देशले कहिल्यै नयाँपन, विकासको गति महशुस गर्न नपाउँला त ? देशको अर्थतन्त्र नयाँ वर्षसँगै तहस–नहस भएरै जान्छ त ? के हामी युवाको कर्तव्य होइन देश विकासमा सहयोग गर्ने ? अवसर र चुनौतिलाई हामीले बुझेर व्यवहार गरे कसो देशमा नयाँपन नआउला र ?
२०७९ सालको नयाँ वर्षले हाम्रो देश नेपालमा आएका हर समस्याको किनारा लगाएर देश विकासको गति नरोकियोस् । देश र देशवासी नेपालीमा नयाँ उमँग, नयाँ सोच र चाहनाको बास होस् । नयाँ बर्ष उच्चारणमा मात्र सिमित नभई देशमै नयाँपन आउने कार्यको रुपमा रहोस् शुभकामना ।



























मैले लेखेर छापिएको कविता थियो 24/25बर्ष अगाडि
प्रजातन्त्र भन्ने ।खोजी गर्न मिल्छ कि।
चन्द्रकान्त गड्तौला।