समृद्धिको वर्ष होस्

0
431

समय बलियो छ । ऊ निर्वाध अघि बढिरहेको छ । समयको निश्चित यात्रा निरन्तर अघि बढ्नु हो । ऊ सँगै हाम्रा पात्राहरु फेरिन्छन् । वर्तमान भूत बन्छ र भविष्य वर्तमान बनेर हाम्रा अघि उपस्थित हुन्छ । समयको त्यही उपस्थिति आज वि.सं. २०७९ बनेर चियाउन आइपुगेको छ आँगनमा ।

त्यसैले अविरल, अविराम बग्ने जल प्रवाह जस्तै जीवन भोगाइमा कुनै दिन वर्तमान ठानेको २०७८ मा कति अभिलेखयोग्य उपलब्धी हासिल ग¥यौं– एकपटक सम्झनाको तरेली नै भए पनि स्मरण गर्नुपर्ने हुन्छ । प्राणीमध्येको सर्वोच्च भनेको पनि शायद त्यही विशिष्टताले होला । त्यसैले विगतका कर्मको आत्ममूल्याङ्कन गर्दै नयाँ वर्षमा अझ परिष्कृत हुँदै समृद्ध, समुन्नत र सुखद् भविष्य निर्माणको सत्सङ्कल्प गर्ने दिन हो आज ।
बितेका तीन वर्ष कोरोना नामको महाशत्रुसँग लड्दै बित्यो । त्यसले कतिलाई दुःख र चिन्ताको गर्तमा डुवायो । कति अनाथ बनिए, कति आज पनि जीवन रक्षाका लागि संघर्ष गर्दैछन् । ‘जरो उखेलिएर’ कतिलाई त्यसैले ‘मालामाल’ पनि बनायो तर राष्ट्रको समृद्धिमा भने अभिशाप बनेर बस्यो । त्यसबाट केही त्राण पाउँदै गर्दा जन तथा देश सेवा गर्ने भनिएको राजनीतिमा उतार आयो, सत्ता फेरियो, नयाँ शक्ति सत्तारुढ भयो । नारा उस्तै रहे, वाचा तिनै दोहो¥याइए तर जनअपेक्षा जहाँको तहीं ठिङ्ग उभिएको छ । कोरोनाले अर्थव्यवस्था प्रभावित हुन पुग्यो, राष्ट्रिय आय ओरालो लाग्यो, हजारौं युवाशक्ति रोजगारविहीन भए । सामाजिक अपराध बढेर गयो, भ्रष्टाचार पन्पियो, सुशासन, समृद्धि र विकास ओठे भक्तिका मन्त्र मात्रै बनिए ।
जसरी पनि समय बगिरहन्छ, बगिरह्यो र एउटा वर्षको पाना पुरानो स्मरण बनाएर गयो । यो वर्ष निर्वाचनमय बनेर आएको छ नेपालीका लागि । प्रारम्भकै महिनामा स्थानीय तहको निर्वाचन गरेर सरकार गठन गर्ने कार्ययोजनामा रहेका नेपालीको ओठमा मुस्कान दिन सक्ने प्रतिनिधि चयन गर्ने सामथ्र्य दिओस् यो वर्षले । विगतका अप्ठ्यारा, असहज र कङ्टकपूर्ण यात्राको स्मरणले यो वर्षलाई आशा, भरोसा र विश्वासमा रुपान्तरण गर्न सकोस् । रोग, भोक, अशिक्षा र पछौटेपनविरुद्ध लड्ने ऊर्जा, चेतना र अग्रसरता नयाँ वर्षले प्रदान गरोस् । राजनीतिक दल, नागरिक समाज एवम् सम्पूर्ण नेपालीमा सकारात्मक विचार प्रवाहित हुन सकोस् । सबैको जय होस्, सबै स्वस्थ, समृद्ध र सुखी होऔं– नयाँ वर्षको मंगलमय शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here