बिमल दाहाल,
माई।

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि नेकपा एमाले माई नगरपालिका इलाममा ६ जना मेयर र १० जना उपमेयरका आकांक्षी बीच सहमति जुटाउने प्रयास सफल हुन सकेको छैन ।
मेयरका लागि वर्तमान मेयर दीपककुमार थेवे, उपमेयर विष्णुमाया रिमाल, एमाले जिल्ला कमिटी सचिवालय सदस्य बुद्वि खनाल, माई नगर अध्यक्ष खम्वसिंह लिम्वू, प्रदेश सदस्य ध्रुव श्रेष्ठ र साविक दानावारी गाविसका पूर्व अध्यक्ष समेत रहेका प्रदेश सदस्य रत्नबहादुर अधिकारीको नाम चर्चामा रहेको छ ।
यसैगरी उपमेयरमा आकांक्षी रहेका रुपा राई, हिमा भण्डारी, रञ्जिता भट्टराई, कुमारीमाया आले मगर, शान्ता थेगिम, कृष्णकुमारी थापा, मुखराज आङ्दम्वे, सन्तराम योङ्हाङ, धनबहादुर आङ्दम्वे र मोहन देवानको आकांक्षा रहेको छ ।
एमाले बिधान वमोजिम सर्वसम्मत नभए मेयरमा दुई पुरुष र एक महिलाको सहमति गरी माथिल्लो कमिटीमा सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ । धेरै आकांक्षी रहेकाले माईमा सवैको नाम माथिल्लो कमिटीमा सिफारिस हुने देखिन्छ ।
नगरपालिकाको मेयर र उपमेयर जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमा उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गर्नेछ । जिल्ला कमिटीले आवश्यकताको आधारमा नाम काँटछाँट गर्न सक्नेछ । प्रदेश कमिटीले अन्तिम नाम तय गरी टुङ्गो लगाउने छ ।
एमालेको वर्चस्व मानिएको माई नगरपालिकामा गठवन्धन दलले पनि साझा उम्मेदवार तय गर्न सकेका छैन । आ–आफ्ना दलका अडानमा रहेका गठवन्धन दलहरु एमालेको उम्मेदवारका आधारमा आफ्नो उम्मेदवारी तय गर्ने रणनीतिमा रहेको बताइन्छ ।
गत २०७४ सालमा स्थानीय तह निर्वाचनमा एमालेका मेयरले ६०४८ मत ल्याई बिजयी बन्दा नेपाली कांग्रेसले ४५२६, माओवादी केन्द्रले १८४७, संघीय समाजवादीले ४१५, राप्रपाले ४८ र स्वतन्त्र उम्मेदवारले ७१ मत ल्याएका थिए ।


























