विराटनगर,

जनता समाजवादी पार्टी (जसपा)का नेता उमेश यादवले पार्टी परित्याग गरेका छन्।
उनले शनिबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग गरेको जानकारी दिएका हुन्। उनले आगामी स्थानीय तहको निर्वाचनका लागि विराटनगर महानगरपालिकाको मेयरमा दाबी गरेका थिए ।
तर, सत्तारुढ गठबन्धनबीच तालमेल हुँदा विराटनगरको मेयर नेपाली काङ्ग्रेस र उपमेयर जसपाको भागमा परेको थियो।
पार्टीबाट मेयरको टिकट नपाएपछि उनले सबै जिम्मेवारीबाट राजीनामा दिएको बताउँदै उनले आफू स्वतन्त्र बस्ने बताए।
शुक्रबार जसपा नगर समितिले उमेश यादव, जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रसहित ८ जनाको नाम सिफारिस गरेको थियो। उनले ०७४ को स्थानीय तह निर्वाचनमा विराटनगरको मेयरमा १४ हजार ९ सय ५८ मत प्राप्त गरेर नेपाली कांग्रेसका भीम पराजुलीसँग पराजित भएका थिए ।


























