‘मानसिक रोगीलाई परामर्श र औषधिबाट निको पार्न सकिन्छ’

0
464

काठमाडौँ, 

मानसिक रोग भएका व्यक्तिलाई परामर्शबाट नै रोग निको पार्न सकिने चिकित्सकले बताएका छन् ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र, नेपालको १९औँ वार्षिक उत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, मानसिक रोग विभागका प्रमुख डा सरोज ओझाले भूकम्प र कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमले मानसिक रोगी बढ्दै गएकाले परामर्शबाट नै रोग निको पार्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मानसिक रोगीलाई आधा परामर्श र आधा औषधिबाट निको पार्न सकिन्छ ।” उहाँले सरकारले मानसिक स्वास्थ्यमा लगानी गरी नेपालमा नै मानसिक स्वास्थ्यको गुणस्तर सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । परामर्श केन्द्रले अहिलेसम्म गरेको अध्ययनअनुसार ४० प्रतिशत चिन्ताजन्य समस्या, २६ प्रतिशत डिप्रेशन र मानसिक असन्तुलन, छारे रोगजस्ता अन्यमा समस्या देखिएको जनाएको छ ।

मनोविज्ञ करुणा कुँवरले कोभिड–१९ को महामारीपछि बालबालिकामा मानसिक रोग देखिएको बताउनुभयो । उहाँका अनुसार बालबालिकामा डराउने, दुःखी देखिने, आत्तिने, चिन्तित देखिने, अनुशासनजन्य समस्या, ध्यान एकीकृत गर्न नसक्ने, विद्यालय नआउने, विद्यालयमा अनुपस्थित हुनेलगायतका समस्या देखिने गरेका छन् ।

उहाँले कोभिड–१९ को महामारीमा ९ देखि १६ वर्ष उमेर समूहका बालबालिका आत्महत्या गरेको पाइएको बताउनुभयो । “कोभिड–१९ को बन्दाबन्दीमा पहिलो एक हप्ता बालबालिका छुट्टै जस्तै मनाएका थिए । तर बन्दाबन्दीको १५ दिनपछि बालबालिका आत्तिएको पाइयो”, उहाँले भन्नुभयो, “लगातारको बन्दाबन्दीले विद्यालय जान, साथीभाइसँग भेट्न, खेल्न नपाएर धेरैमा आत्तिएर मानसिक समस्या नै देखिएको पाइयो ।”

केन्द्रका अध्यक्ष डा एसपी कलौनीले विद्यालय तहमा बालबालिकाको मानसिक स्वास्थ्य परामर्श दिनका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार १० देखि १५ प्रतिशत विद्यार्थीलाई विशेष खालको मनोवैज्ञानिक पद्दतिबाट उपचार गराउनुपर्ने आवश्यकता देखिएको छ ।

यस्तै केन्द्रले गरेको अध्ययनमा वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढी ७३ प्रतिशतमा चिन्ताजनक समस्या, १७ प्रशितमा डिप्रेशन, चार प्रतिशतमा आघात र तीन प्रतिशतमा आत्महत्याका प्रयास भएको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार वैदेशिक रोजगारमा गएकामध्ये १०.४ प्रतिशत आत्महत्या गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here