काठमाडौँ,

सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको प्रमुख, महानिरिक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आइतबार बालुबाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हो ।
हाल उनी अतिरिक्त महानिरिक्षकका रुपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत थिए। २०२४ मा कर्णाली प्रदेशको दैलेखमा जन्मिएका सिंह ११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए ।
हालका आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण १८ वैशाखमा अनिवार्य अवकाश पाउने भएपछि सरकारले सिंहलाई आईजीपीमा बढुवा गरेको हो। २९औं महानिरिक्षकका रुपमा आइतबारबाटै सिंहले प्रहरीको कमाण्ड सम्हाल्ने बताइएको छ। ३० वर्षे सेवा अवधिको नियम कायमै रहे उनले अब एक वर्ष प्रहरी संगठन चलाउनेछन् ।
सो पदका लागि सिंहसँगै अतिरिरक्त महानिरिक्षक विश्वराज पोखरेल, सहकुल थापा र रविद्र धानुक पनि प्रतिस्पर्धी थिए । प्रतिस्पर्धी मध्ये पोखरेललाई एक नम्बरमा गणना गरिदै आएको थियो । क्रम मिचेर निर्णय गरिएकोले यो नियुक्ति पनि विवाद रहित भने रहन सक्ने देखिदैन ।
यसैबीच सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र एआईजी अर्याललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । केही दिनअघि मात्र एआईजीमा बढुवा भएका उनी आईजीपीका लागि एक्ला दाबेदार थिए । नवनियुक्त आईजीपी अर्यालले सोमबारदेखि कार्यभार सम्हाल्ने बताइएको छ ।
३० वर्षे सेवाअवधिका कारण हालका आईजी पुष्पराम केसी आइतबारबाट अनिवार्य सेवा निवृत्त हुने भएपछि रिक्त स्थानमा अर्याललाई नियुक्त गरिएको हो । हाल सेवा निवृत्त के सी गत चैत ३० देखि मात्र सशस्त्रको महानिरिक्षक भएका थिए ।
यही वैशाख ४ गते अर्याल एआईजी बढुवामा सिफारिस भएका अर्यालले वैशाख १४ गते मात्र एआईजीको दर्ज्यानी चिह्न पाएका थिए । २०५४ चैतमा सेवा प्रवेश गरेका अर्याल अहिलेकै कानुनी प्रावधान रहे २०८३ सम्म नेतृत्वमा रहने छन् ।






























