बलेवा,

कुनैबेला उनी आरनमा धेरै व्यक्ति आउँथे । अहिले आरनमा ल्याउने सामान नै छैन । खेती किसानी छाडेर बजारमा बस्ने भएपछि आरन पेशा सङ्कटमा पर्दै गएको छ ।
बागलुङ नगरपालिका–१ रामरेखाका ६३ वर्षीय बमबहादुर विश्वकर्माले यस्तो अवस्था अनुभव गरेका छन् । अनुभव मात्र होइन उनले आफ्नै जीवनमा पुख्र्यौली पेशाले खानै नपुग्ने अवस्था ल्याएको बताउन थालेका छन् ।
दैनिक २० देखि ३० व्यक्तिले आरनमा सेवा लिन आउँदा उनको राम्रो कमाइ थियो । कतिपयले नगद दिन्थे भने कतिपयले अन्न दिँदा उनको घरपरिवार चलेको थियो । अहिले भने दैनिक आरनको सेवा लिन आउने नै घटेका छन् । त्यसैले उनको कमाइ घट्दै गयो । त्यही पेशाले परिवार पाल्नुपर्ने बाध्यता छ ।
“अहिले दिनमा रु ५०० सम्म कमाइ हुन्छ, अन्न भने पाइदैन,’ विश्वकर्माले भने, “किनेर खानुपर्छ, यो पेशाको भरमा बाँच्न गाह्रो भइसक्यो ।” यो पेशाबाटै उहाँले चार छोरा र दुई छोरी हुर्काउनुभएको थियो । तर अहिले समस्या बढ्दै गएको छ । विश्वकर्माले भन्नुभयो, “पेशा छाडौँ खान केही छैन, नछाडौँ कति दुःख गरिरहने ?”
पुख्र्यौली पेशा बाहेक अन्य काम पनि उनले जान्नुभएको छैन् । परम्परागत रुपमा उहाँले फलाम ल्याएर हँसिया, कुटो, कोदालो, खुकुरी र दाउ बनाउने गर्नुभएको छ ।
पछिल्लो समय कोइलासमेत नपाउँदा काममा अप्ठ्यारो भएको विश्वकर्माले बताए । बजारमा आधुनिक र बनिबनाउ हतियार आउन थालेपछि उनको जस्तै धेरैको पेशा सङ्कटमा पर्दै गएको छ ।































