
गणतन्त्र प्राप्ति पछिको दोस्रो स्थानीय निर्वाचन २०७९ को समापन र परिणाम सार्वजनिकको लगभग समाप्तिमा आई पुग्दा विगतको निर्वाचनको परिणामभन्दा भिन्न प्रकारका नतिजाहरु सार्वजनिक भइरहेका छन् । विगतमा नेपाल कम्युनिष्ट पार्र्टी एमालेले आफ्नो वर्चश्व कायम राखेका कैयौं स्थानहरुमा फरक दलहरुले विजय हासिल गरी आफ्नो पार्र्टीका झण्डा गाडीरहेको अवस्था छ भने अन्य अधिकतर स्थानहरुमा एमालेले विजय हासिल गरिसकेको छ । प्राप्त पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेस स्थानीय निकाय निर्वाचनमा सबैभन्दा ठूलो दल हुन सफल भइरहँदा नेकपा एमाले दोस्रो एवम् नेकपा माओवादी केन्द्र तेस्रो स्थान ओगट्न सफल भएको देखिएको छ ।
स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेस मुलुककै ठूलो दल हुन सफल हुनु कांग्रेस पार्र्टीप्रति आस्थावान र निष्ठावान लाखौं नेता कार्यकर्ताहरुका लागि खुशीको कुरा भएता पनि यस पार्र्टीमा विगतदेखि कै घात र अन्तरघातको पुरानो रोगले यसपटक समेत कैयौं स्थानहरुमा नराम्रो पीडा र छट्पटी दिएको देख्दा यस पार्र्टीप्रति आस्थावान कार्यकर्ताहरुको एउटा गतिलो जमातलाई नै वितृष्णा उत्पन्न भएको आभाष मिलेको छ ।
झापा जिल्ला कै कुरा गर्नुपर्दा सर्वप्रथम त टिकट वितरणमा नेतृत्वपंक्तिले जुन प्रकारको वितण्डा मच्चायो त्यसले निश्चितरुपमा एउटा गतिलो पंक्तिलाई नराम्रोसँग झस्क्याएन मात्र अपितुः हजारौं कार्यकर्ताहरुलाई निराश तुल्यायो । टिकट वितरणको रस्साकस्सीपछि पनि गुट र उपगुटको खेतीमा रमाउने कतिपय नेतृत्वपंक्तिबाट पार्र्टी हारे हार्छ, तर फलानो व्यक्तिले कसैगरी जित्नु हुँदैन भन्ने दरिद्र मानसिकताबाट ग्रसित भई अदृश्य पाराले चालिएका गोटीकै कारण कतिपय सफल र व्यापक सम्भावना बोकेका होनाहार उम्मेदवारहरुले हार व्यहोरेको तथ्य सबैसामु छर्लङ्ग छ ।
झापा जिल्लाका प्रायः सबै पालिकाहरुमा टिकट वितरणमा गरिएको पक्षपातपूर्ण व्यवहार र पार्र्टीभन्दा व्यक्तिवादी प्रवृत्ति हावी हँुदा कैयन स्थानहरुमा व्यापक असन्तुष्टी उत्पन्न भई वागी उम्मेद्वार खडा भई दिँदा पार्र्टीका आधिकारिक उम्मेद्वारहरुले नमिठो पराजय भोग्नु पर्यो । परिणाम स्वरुप, व्यक्तिको त जीत भयो होला, तर पार्र्टीले अपुरणीय क्षति व्यहोरो जसको असर आगामी निर्वाचनहरुमा देखिँदै जाने छन् । कुनै–कुनै नगरपालिकामा त झन् एउटै दलका नगर प्रमुख पदका दुई जना उम्मेदवार उम्मेदवारी दर्ता गर्न गई नोमिनेशन फारम थुताथुत र खोसाखोस गर्दा देखिएका नाटकले अन्य पार्र्टी र जनमानसमा पारेको प्रभावले यस पार्र्टीको भविष्यले कुन बाटो निर्धारण गर्ने हो भन्ने कल्पना मात्र गर्न सकिन्छ ।

विगत ३५ वर्षसम्म कांग्रेस पार्र्टीप्रति निष्ठावान रही क्रियाशील सदस्य हुँदै महाधिवेशन प्रतिनिधिमा समेत उत्कृष्ट मतसहित विजय हासिल गरेका व्यक्तिलाई समेत टिकट नदिई अपमानित गरेर बागी उम्मेदवार उठ्न बाध्य पारिँदा अन्ततः कसलाई फाइदा वा कसलाई बेफाइदा हुने हो त्यसको समयमै निक्र्योल गर्न नसक्ने नेतृत्व पंक्तिलाई कसरी मूल्याङ्गकन गर्ने हो त्यो अलग्गै पाटो छ । आफ्नै पार्टीको व्यक्तिलाई टिकट दिने र उसैलाई हराउन आफ्नै पहलमा बागी उम्मेदवार खडा गरी आफ्नो पार्टीको मत कटाउने मात्र होइन, बागी उम्मेदवार पक्षबाट अन्य पार्टीलाई एकोहोरो मत हाल्न लगाई आफ्नै उम्मेदवारलाई हराएर कुटील हाँसो हाँसेर आत्मसन्तुष्टीमा रमाउने लब्ध प्रतिष्ठित नेतागणहरुलाई आगामी निर्वाचनहरुमा अमूक समूहले त्यसै गरेमा त्यसको जवाफदेही को हुने ?
इतिहास साक्षी छ, जब–जब निर्वाचनको चर्चा–परिचर्चा शुरु हुन्छ निश्चित व्यक्तिहरु आफ्नो गुटलाई अघि सार्न लबिङ्ग गर्ने, बार्गेनिङ्ग गर्ने र अन्य कार्यकर्ताहरुको मनोभावनामा आघात पुर्याउने मात्र कार्य गरेको देखिन्छ । फलस्वरुप संघीय निर्वाचन होस वा स्थानीय निर्वाचन, पराजय नेपाली कांग्रेसले नै व्यहोर्नु परेको छ । घात र अन्तरघातले सिर्जना गर्ने अन्तिम नतिजा नै चुनावी प्रतिस्पर्धामा आफ्नो पराजय र विपक्षी प्रतिस्पर्धीको विजयको सुनिश्चितता हो ।
त्यसैले आफ्नै दलमा कुनै पनि बहानामा कसैप्रति पनि घात र अन्तरघात हुनुहँुदैन र कथंकदाचित त्यस्तो भएको पाइएमा पार्र्टीको नेतृत्वपंक्तिले (यहाँ नेतृत्व भन्नाले, संघीय सांसद, पार्टीका केन्द्रीय सदस्य, संविधान सभा सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सभापति तथा नगर सभापति समेतलाई बुझ्नु पदर्छ) यस जिल्लाको कुन–कुन स्थानमा गुटको राजनीतिले सिंगो पार्टीलाई क्षति पुर्यायो र आफैंले टिकट दिएर उम्मेदवार बनाई आफ्नै पहलमा हराउँदा कस्तो आत्मसन्तुष्टि मिल्यो छातीमा हात राखेर आत्मसमिक्षा गर्न ढिला गर्नुहुँदैन ।
यदि भुलबस त्यस्ता क्रियाकलापहरु भएका भए आत्मालोचना गर्ने र अन्य कसैले गरेको जानकारीमा आएमा उक्त व्यक्ति वा समूहलाई यथाशक्य छिटो अनुशासनात्मक कारवाही गरी त्यस्ता कुपात्रहरुलाई थप चलखेल गर्न अवसर नै नदिने अवस्था सिर्जना गराउन जोडदार अपिल गर्दछु । धन्यवाद, जय नेपाल ।

























