अर्जुनधारालाई धान बालीको बिउमा आत्मनिर्भर बनाउने

0
458

अर्जुनधारा।

झापाको अर्जुनधारा नगरपालिकालाई धान बालीको बिउमा आत्मनिर्भर बनाउँदै कृषकहरुको आर्थिक जीवनस्तर उकास्ने लक्ष्य सहित अर्जुनधारा नगर विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले कार्यक्रम सुरु गरेको छ ।

संस्थाले उक्त कार्यक्रम अन्र्तगत बुधबारदेखि नगरका ४० जना बढी कृषकको सहभागितामा तीन दिवसीय धान बाली बिउ वृद्धि विषयक अगुवा कृषक तालिम सुरु गरेको छ ।

अर्जुनधारा–८ स्थित आदिवासी–दलित–महिला सामुदायिक भवनमा आयोजित उक्त तालिमको उद्धेश्य स्थानीयस्तरमा रहेका कृषकहरुलाई बिउ वृद्धि गर्दा आवश्यक प्रविधि र विधि बारे सीप र ज्ञान प्रदान गर्नु रहेको तालिमका सहजकर्ता एवम् कृषि विज्ञ टेकबहादुर पोखरेलले बताए ।

तालिम पश्चात् कृषकहरुलाई आवश्यकताको आधारमा ५० प्रतिशत अनुदानमा धानको मूल बिउ प्रदान गरिने संस्थाका उपाध्यक्ष छत्र पौड्यालले जानकारी दिए । उक्त तालिममा सहजकर्ताहरु कृषि विज्ञ पोखरेलसँगै कृषि अनुसन्धान निर्देशनालय तरहरका कृषि विज्ञ सुरेन्द्रकुमार यादव, कृषि फार्म चन्द्रडाँगीका प्रमुख वीरेन्द्र पराजुली, कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट, पशु विकास अधिकृत पदमलाल राईले सहजिकरण गर्ने छन् ।

यस वर्ष न्यूनतम ५० विगाहा क्षेत्रफललाई लक्षित गरेर मिथिला, आईआर १००८, लल्का बास्मती, स्वर्णा सब १, बहुगुणी २लगायत छ प्रकारको धानको बिउ वितरण गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष प्रत्युस रानाले जानकारी दिए । बिउ वितरणसँगै कृषकहरुले उत्पादन गरेको धानको खरिद, प्रशोधन, प्याकेजिङ र बजारीकरणको काम पनि संस्था आफैले गरि कृषकहरुलाई उचित मूल्य प्रदान गर्ने संस्थाको लक्ष्य रहेको अध्यक्ष रानाले बताए ।

नगर कृषि तथा पशुपन्छी मत्स्य विकास शाखाको आर्थिक तथा प्राविद्यिक सहयोगमा आयोजित उक्त तालिमको नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए । अध्यक्ष रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा निवर्तमान उपप्रमुख हरिकुमार राना, नवनिर्वाचित उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पशु विकास अधिकृत राईले तालिमको औचित्य बारे प्रकाश पारेको कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष पौड्यालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here