अमित खम्बू,
अर्जुनधारा ।

अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित प्रमुख बलदेवसिंह गोम्देन तामाङले नगरमा रहेका अन्य दलहरुलाई प्रतिपक्षमा भएको अनुभूति गर्न नदिने गरि कार्यहरु गरिने बताए ।
अर्जुनधारा–७स्थित सामूहिक उद्धार तथा उपकार संघको सभाहलमा बुधबार आयोजित नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण, शुभकामना तथा धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख तामाङले सो कुरा बताएका हुन् ।
त्यसैगरी नगरमा योजनाबद्ध, सामूहिक र सहभागितामूलक विकासका लागि आफूहरुले नगर योजना आयोग र सल्लाहकार परिषद्को कुरालाई पनि उठाएको उनले जानकारी दिए । उनी भन्छन्–“विज्ञ र अग्रज व्यक्तित्वहरु सल्लाहकार रहने उक्त आयोग र परिषद्ले नगरपालिकाको विकास र समृद्धिका एजेण्डाहरुमा साझा अवधारणा निर्माण गर्न सहयोग पु¥याउने छ ।”
त्यस्तै अर्जुनधारा नगरपालिका भएर बग्ने नदीहरुमा तटबन्धन, खेतीयोग्य जमिनको लागि आवश्यक सिँचाई र बाइपास सडक निर्माण गर्न प्रदेश र संघमा जुनसुकै दलको सरकार भए पनि आफूले सामूहिकरुपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले प्राविद्यिक, व्यावसायिक तथा रोजगारीमूलक शिक्षा, स्वास्थ्य सुविधामा सबैको सहज पहुँचका लागि योजना बनाएर काम गर्ने बताए ।

प्रमुख तामाङको अध्यक्षता र संविधान सभा सदस्य एवम् पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा १ जना उपप्रमुख, ११ जना वडाध्यक्ष, २२ जना खुल्ला सदस्य, ११ जना महिला सदस्य र ११ जना दलित महिला सदस्यले सपथ ग्रहण गरेका थिए ।
गत जेठ ९ गते मुख्य निर्वाचन अधिकृत एवम् झापा जिल्ला अदालतका न्यायाधीश गिरीराज गौतमबाट शपथ ग्रहण गरेका प्रमुख तामाङले उनीहरुलाई सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा संविधान सभा सदस्य प्रेमबहादुर गिरी, प्रदेश नं.१का सांसद् वृख प्रधान, निवर्तमान प्रमुख हरिकुमार राना र उपप्रमुख कमला खतिवडा आचार्य, नेकपा एमालेका नगर इञ्चार्ज दिपेन्द्र लम्साल, नेपाली काँग्रेसका नगर सभापति हेमराज खरेल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष अर्जुन मेचेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नवनिर्वाचित उपप्रमुख खड्गमाया पराजुलीले धन्यवाद ज्ञापन मन्तव्य व्यक्त गरेको कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले व्यक्त गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख हिमराज सेढाईंले गरेका थिए ।


























