बिर्तामोड उद्योग वाणिज्य संघ पाँचौं साधारण सभा: संघलाई आर्थिक रुपमा दरिलो बनाइने, दुई पत्रकार सम्मानित

0
605

बिर्तामोड।

सरकारद्वारा प्रस्तुत बजेट उद्योगी र ब्यवसायीको पक्षमा भएको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले बताएका छन् । उनले सरकारले नीजि क्षेत्रको प्रर्वद्धन गर्नका लागि केही सहयोगी बन्ने बताए । कोरोना कहरका कारण नीजि क्षेत्रको आर्थिक अवस्था धरासायी बनिरहेका बेला भर्खरै ल्याएको बजेट सकारात्मक भएको उल्लेख गरे ।

उनले बिर्तामोड उद्योग र ब्यवसायको ठूलो सम्भावा बोकेको क्षेत्र भएकाले ब्यवसायीको हितमा काम गर्न स्थानीय सरकारलाई आग्रह समेत गरे । बिर्तामोड उद्योग वाणिज्य संघको सोमबार भएको पाँचौ साधारण सभाको प्रमुख अतिथी समेत रहेका ढकालले नीजि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गरे ।

बिर्तामोडको विकास समृद्धिका लागि उद्योग वाणिज्य संघ सबैसंग हातेमालो गर्न तयार रहेको अध्यक्ष प्रकाश शिवाकोटीले बताए । संघले साधारणसभामार्फत विभिन्न भावी योजनाहरु अघि सारेको छ । संघका अध्यक्ष शिवाकोटीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संघलाई आर्थिक रुपमा अझ दरिलो बनाउनका लागि संघको भुइँतला तथा पश्चिम र उत्तरको कम्पाउन्डवालको ठाउँमा सटरसहितको कोठा तयार गरी व्यापारिक प्रयोजनका लागि भाडामा लगाउने भएको छ ।

प्रत्येक सपिङमल, कम्प्लेक्स, मार्केट तथा अत्यधिक कारोबार हुने स्थानमा सुझाव पेटिका स्थापना गर्ने, बिर्तामोड नगरपालिका र उद्योग वाणिज्य संघको संयुक्त साझेदारी तथा समन्वयमा जनचेतनामुलक कार्यक्रम, उत्पादनमुलक कार्यक्रमहरु सञ्चालन गर्ने संघले योजना बनाएको छ । त्यस्तै, बिर्तामोड नगर क्षेत्रका विभिन्न स्थानमा रुखबिरुवा राप्ने तथा भद्रपुररोड सडकको बीच भागको रोड डिभाइडरमा पmूलबगैँचा स्थापना गर्ने प्रतिवेदनमा उल्लेख छ ।

बिर्तामोडमा अतिआवश्यक रहेको सार्वजनिक शौचालयको विषयमा अध्ययन गरी मुक्तिचोक क्षेत्रको आसपास, महेन्द्र राजमार्गको नजिक उचित जग्गाको खोजी गरी सार्वजनिक शौचालय स्थापना गर्न कार्यमा नगरपालिकासँग समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवेदनमा उल्लेख छ । स्थानीय सरकारको समन्वयमा बिर्तामोड नगर क्षेत्रका विभिन्न स्थानमा सडकबत्ती जडान गर्न र भएका ठाउँमा मर्मत गर्ने, रातिपनि प्रस्ट देखिन सकिने सिसी क्यामेरा थप गर्नका लागि आवश्यक समन्वय गर्ने योजना अघि सारेको अध्यक्ष शिवाकोटीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संघले अन्तर्राष्ट्रिय स्तरको व्यापारिक महोत्सव सञ्चालन गर्ने, बिर्तामोडमा अव्यवस्थित पार्किङ, सवारीचापलाई ध्यानमा राखी ट्राफिक प्रहरी, स्थानिय प्रशासनको सहकार्यमा उचित व्यवस्थापनमा पहल गर्ने जनाइएको छ । आफूले नेतृत्व सम्हालेपछि ब्यवसायीको क्षेत्रमा धेरै कामहरु भएको अध्यक्ष शिवाकोटीले बताए ।

उनले कोरोना कहरका समयमा ब्यवसायीहरुलाई सुरक्षित राख्न भ्याक्सिनको ब्यवस्था, तथा असहाय अपाङ्ग तथा बाढीपिडितलाई खाद्यन्न वितरण, ब्यवसायीको कर छुट, वाणिज्य संघमै नापतौलका उपकरणको चेकजाँच गर्ने ब्यवस्था, बिर्तामोडमा सरसफाई अभियान लगायतका धेरै कामहरु भएको उल्लेख गरे ।

साधारणसभालाई संविधानसभा सदस्य मनकुमार गौतम, सुधीरकुमार शिवाकोटी, नेपाल उद्योग वाणिज्य संघका प्रदेश–१ अध्यक्ष टीकाराज ढकाल, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभ रिजाल,मेची भन्सार कार्यालय कांकरभिट्टाका प्रमुख केशव ओली, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष दिनेश श्रेष्ठ लगायतले शुभकामना राखेका थिए । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी उपरीक्षक विश्वमणी पोख्रेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले गरेका थिए भने सञ्चालन महासचिव अर्जुन मैनालीले गरेका थिए ।

वाणिज्य संघद्वारा पाण्डे र भट्टराई सम्मानित

बिर्तामोड उद्योग वाणिज्य संघले दुईजना पत्रकारलाई सम्मान गरेको छ । संघको सोमबार अतिथि सदनमा सम्पन्न पाँचौँ वार्षिक साधारणसभामा सञ्चारकर्मी केशव भट्टराई र विनोद पाण्डेलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष समेत रहेका कञ्चनजंघा एफएमका सम्पादक भट्टराई र पूर्वाञ्चल दैनिकका फोटो पत्रकार पाण्डेलाई साधारण सभाको अवसर पारेर सम्मान गरिएको हो । पाण्डे महासंघका कार्यसमिति सदस्य हुन् ।

पत्रकारद्वयलाई नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष ढकालले दोसल्ला ओढाएर नगदसहित प्रशंसापत्र प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here