छविराज ढकाल / पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरका नव निर्वाचित प्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेले नगरका शाखा प्रमुखहरुसँग छलफल गर्नुभएको छ । उहाँहरुले आज आइतबार नगरका विभिन्न शाखाहरुले हालसम्म गरेका कार्यप्रगतिका बारेमा जानकारी लिँनु भएको हो।
नगर प्रमुख तुम्वापोले नगर र मातहतका वडा कार्यालयहरुमा चुस्त दुरुस्त काम कारवाही गरेर नगरवासीको सेवामा समर्पित रहन सम्बन्धित शाखा प्रमुखहरुलाई निर्देशन समेत दिनुभयो । उपप्रमुख काफ्लेले जनप्रतिनिधि र कर्मचारीको सहकार्यमा नगरमा उदाहरणीय काम गर्न लागिपर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले योजना, प्रशासनिक गतिविधि सहितका विषयमा प्रष्ट्याउनु भएको थियो । शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले, लेखा प्रमुख पिताम्बर वस्ती, प्रशासन प्रमुख शिव रार्ई, सहकारी प्रमुख केशवदेवी धमला, स्वास्थ्य प्रमुख मुरारी आचार्य, पशुपंक्षी प्रमुख हेमचन्द्र दहाल, प्राविधिक प्रमुख सन्तोष केसीले शाखाका गतिविधि उल्लेख गर्नुभयो ।
भूूमि आयोग सेवा केन्द्र प्रमुख ताराप्रसाद ढकाल, महिला तथा बालबालिका प्रमुख गीता कट्टेल, सामाजिक सुरक्षा तथा पञ्जीकरण प्रमुख जमुना दहाल र कृषि शाखाबाट टीकादेवी राईले पनि शाखाका गतिविधि सम्बन्धमा जानकारी गराउनु भयो ।
हालसम्ममा आन्तरिक आम्दामी लक्ष्यभन्दा बढी भएको, वडा वडामा ८५ प्रतिशत योजना सम्पन्न भएको, गत आर्थिक वर्षभन्दा हालसम्म चालु र पूँजीगत खर्चका योजना र काम बढी सम्पन्न भइसकेको जानकारी गराइएको छ ।






























