अर्जुनधारामा सहकारीको लेखा र व्यवस्थापन सम्बन्धी तालिम शुरु

0
382

अर्जुनधारा ।

नगर सामाजिक विकास शाखाको आयोजनामा दुई दिवसीय सहकारी लेखा सम्बन्धी आधारभूत तालिम तथा सहकारी व्यवस्थापन तालिम सोमबारदेखि झापाको अर्जुनधारामा सुरु भएको छ ।

अर्जुनधारा नगरपालिका कार्यक्षेत्र भई सञ्चालनरत् सहकारीका सञ्चालक समिति, व्यवस्थापक र कर्मचारीहरुलाई लक्षित गरि दुवै तालिमको आयोजना गरिएको शाखाका प्रमुख राजविक्रम खड्काले जानकारी दिए ।

अर्जुनधारा–७स्थित सामूहिक उद्धार तथा उपकार संघको सभाहलमा आयोजित उक्त तालिमको प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले उद्घाटन गरेकी थिइन् । दुवै तालिमका सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षकद्वय तीर्थराज ओझा र देवीप्रसाद कोइरालाले प्रशिक्षण दिने बताइएको छ ।

सहकारी लेखा सम्बन्धी आधारभूत तालिमतर्फ लेखाको परिचय, अर्थ, अवधारणा, महत्व, लेखाको नियम र डेविट तथा क्रेडिट गर्ने विधि, लेखामा प्रयोग हुने शब्दावली, सहकारी संकेत नम्बरहरु, गोश्वारा भौचरको परिचय, आवश्यकता र प्रयोग साथै संकेत नम्बर अनुसार गोश्वारा भौचार प्रविष्टि अभ्यास, सहकारीका मुख्य र सहायक खाताको परिचय, खाता संकेत नम्बर अनुसार गोश्वारा भौचार प्रविष्टि अभ्यास साथै व्यापार खाता सम्बन्धी जानकारी र वासलात तथा नाफा नोक्शान विवरण तयारी, खाताबन्दी सम्बन्धी जानकारी साथै सहकारी र गरिबी व्यवस्थापन जानकारी प्रणाली(कोपोमिस)का विषयमा जानकारी दिइने शाखाद्वारा जारी तालिमको कार्यतालिकामा उल्लेख गरिएको छ ।

त्यसैगरी सहकारी व्यवस्थापन तालिमतर्फ सहकारी संस्थाको पृष्ठभूमी, उद्देश्य, सिद्धान्त तथा मूल्यमान्यताहरु, संस्थाको साधारण सभा तथा सञ्चालक समितिको काम कर्तव्य र अधिकार, सहकारीमा संस्थागत सुशासन र आन्तरिक नियन्त्रण प्रणाली र सहकारीमा बजेट तथा कार्यक्रम र योजनाको अवधारणा विषयमा जानकारी दिइने उक्त कार्यतालिकामा उल्लेख गरिएको छ ।

दुवै तालिममा जनही ५०/५० जना बढी प्रशिक्षार्थीको सहभागिता रहेको बताइएको छ । प्रमुख प्रशासकीय अधिकृत राईको अध्यक्षतामा आयोजित तालिम उद्घाटन सत्रमा अर्जुनधारा–७ वडा समितिका अध्यक्ष गोविन्दप्रसाद खतिवडाले सहकारीको विषयमा आफ्नो धारणा राखेका थिए । नगर सामाजिक विकास समितिका संयोजक एवम् कार्यपालिका सदस्य भोला परियारले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शाखा प्रमुख खड्काले गरेका थिए ।

त्यस्तै शाखाले यही बुधबारदेखि दुई दिवसीय सहकारी सचेतना तालिम पनि सञ्चालन गर्ने शाखाद्वारा जारी गरिएको कार्यक्रम तालिकामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here