तटबन्ध र ढलको व्यवस्थापन नहुँदा जलमग्न झापा

0
411

झापा ।

तटबन्ध र ढलको व्यवस्थापन नहुँदा झापा जलमग्न भएको छ भने सयौ घर डुवानमा परेका छन् ।

जब घरआँगनमा पानी पस्छ, त्यही वेला डुबानमा परेका पीडित बासिन्दाको चेत खुल्छ । अनि हारगुहार गर्न थाल्छन्– ‘घरआँगनमा पानी पस्यो, कसैले हाम्रो समस्या सुनिदिएन ।’ अनि गाली गर्छन् आफैँले भोट दिएर जिताएका जनप्रतिनिधिलाई । उनीहरूको आक्रोश राजनीतिक दलका नेता र स्थानीय पालिकामाथि पनि त्यतिकै छ ।

पूर्वतयारीसँगै दीर्घकालीन समस्या समाधानमा खासै चासो नदेखाएका जनप्रतिनिधि, नेता तथा तिनका कार्यकर्ताहरू पनि यस्तो विपद्मा गरून् त के गरून् ? उनीहरू पनि हुल बाँधेर डुबान र जलमग्न घर–आँगन पुग्छन् । स्थलगत अनुगमन गर्छन् । पीडितहरूलाई आश्वासन बाँड्छन् । राहत पनि दिन्छन् । अनि आज ठूलो काम ग¥यो भनेर जनप्रतिनिधि, नेता तथा तिनका कार्यकर्ताहरू छाती फुलाएर हिँड्छन् । अनि पीडामा परेका स्थानीय घरआँगनको तस्वीर सामाजिक सञ्जालमा हाल्छन् ।

जब मनसुन सकिन्छ, डुबान र जलमग्नमा परेका पीडित स्थानीय बासिन्दासँगै जनप्रतिनिधि, नेता तथा कार्यकर्ताहरू सबै त्यो दिनको पीडा बिर्सिन्छन् । अनि पुरानै कार्य व्यस्ततामा फर्किन्छन् । अनि पर्खन्छन् अर्को मनसुन । हरेक मनसुनमा यस्तै गतिविधिले निरन्तरता पाइरहेको छ ।

मंगलवार बिहानदेखि परेको अबिरल वर्षाका कारण झापाका अधिकांश पालिका डुबान र जलमग्न बनेका छन् । अहिले जताततै डुबानमा परेका पीडित र स्थानीयको कुरा पनि माथि उल्लिखित भनाइमा ठ्याक्कै मेल खान्छ । स्थानीय सरकारले डुबान तथा जलमग्न हुने स्थानको पहिचान गरी समयमै बजेट विनियोजन गरी तटबन्ध र ढल निकासको काम गरिदिए यस्ता समस्या समाधान हुनेमा अधिकांश स्थानीयको भनाइ छ ।

यता डुबान र जलमग्न भएका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । स्थानीय सरकारले सडक ढल निकासको उचित व्यवस्थापन, पैनी तथा खोलामा तटबन्ध नगर्दा स्थानीय जोखिम मोलेर बस्न बाध्य छन् । बाढी पूर्वानुमान महाशाखाको पछिल्लो विवरणले झापाको भद्रपुर, बिर्तामोड, शनिश्चरे, आसपास भारी वर्षामापन गरेको छ । अहिले पनि झापामा भारी वर्षा भइरहेको छ । पैनी तथा खोलाको पानी घरआँगनमा पस्दा सदरमुकाम भद्रपुरका अधिकांश वडा जलमग्न छन् ।

भद्रपुर–८मा २५ घर परिवार विस्थापित भएको छ । भद्रपुर ३, ४, ५ र ६मा सयौँ घर डुबानमा परेको छ । मेची नदीमा पानीको बहाव बढिरहेकाले तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर सन्तोषकुमार बुढाथोकीले जानकारी दिए । देवीबस्ती, मेची किनार, बसपार्क, भानुचोक आसपासका दर्जनौँ घर जलमग्न भएको उनले बताए ।

त्यस्तै गौरादह–६स्थित टंगुवा बस्तीमा २५ घर डुबानमा परेका छन् । घरआँगनमा २ फिटसम्म पानी जमेपछि उनीहरूलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको प्रहरी कार्यालय झापाका इन्स्पेक्टर गुरुप्रसाद तिम्सिनाले जानकारी दिए । मकलडुब्बा खोलाको पानी शिवसताक्षी–६स्थित शिवगञ्जमा पस्दा जबरजंग दर्जी मानबहादुर दर्जी र सञ्जय मल्लिकका घर डुबानमा परेका छन् ।

गौरीगञ्ज–१मा बनियानी खोलाले रणमाया लिम्बूको घर डुबानमा पारेको छ । गौरीगञ्ज–१ माई खोलाको पानी पस्दा बाकुबाडीमा १५, देवीगाडामा ५ र टापु बस्तीमा १२ घर डुबानमा परेको इन्स्पेक्टर तिम्सिनाले जानकारी दिए । गौरादह–६मा रतुवा खोला पसेर तेलिया डाँगी टापुमा परिणत भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए ।

उनका अनुसार शिवसताक्षी ३ र ५, कमल १मा कमल र बनियानी खोला पसेको छ । शिवसताक्षीमा–६ मा ४० घर डुबानमा परेका छन् । झापा १ मिलनबस्तीमा ९० घरमा पानी पसेको सभापति ढकालले जानकारी दिए । जिल्लाको मेची, निन्दा, विरीङ, कनकाई, मावा, अन्धुवा, बनियानी, देउनियाँ, हडिया, घाग्रामा पानी बहाव बढिरहेकाले तटबन्ध नलगाएको तटीय क्षेत्र तीव्र रूपमा कटान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

१६० घर उच्च जोखिममा

सोमबार रातिदेखि आएको अविरल वर्षाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान शुरु भएको छ । कमल गाउँपालिका–५, ६ र ७ नम्बर वडामा रतुवा नदीले कटान गर्न शुरु गरेको रेडक्रस सोसाइटी झापाका सभापति ढकालले जानकारी दिए । त्यस्तै कमल–६ को खयरबारीमा जनताको तटबन्ध अन्तर्गत निर्माण गरिएकोे बाँधमा पनि कटान शुरु भएको छ ।

सोही गाउँपालिकाका घनश्याम धिमाल र धनमाया तामाङको दुई वटा सुगुर फार्म बगाएको छ । वडा नं ६ र ७का घरपरिवार जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ । कमलखोलाले केम्पा बजारपूर्व कमलपुल घाटउत्तर पुरानो बाँध समेत भत्काएको छ ।

यता रतुवा खोलाले गौरादह–५ र ६को कोहवरा उत्तर टङ्वाका करिब ६० घर डुबानमा परेका छन् भने गौरादह–६को लेलिया डाँगीमा १२५ घरको दुवैतर्फबाट रतुवाखोला बगेकाले उच्च जोखिममा परेका छन् । गौरादह–६कै दामुनाखोला सुकुम्बासी बस्तीमा पस्दा ३५ घर उच्च जोखिममा परेका छन् ।

वर्षाका कारण शिवसताक्षी नपा–४ सन्थाल बस्ती (सुकुम्बासी बस्ती) मा कमल–बनियानी खोलाको पानी पसेको छ । खोला बस्ती पस्दा त्यहाँका ३० घर डुबानमा परेको छ । बस्तीमा करिब चार फिट पानी पसेपछि सो बस्तीका १०६ जनालाई स्थानीय त्रिभुवन मावि राखिएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here