विमल दहाल, माई ।

नगर स्तरीय महिला सशक्तीकरण सञ्जाल माई नगरपालिकाको आयोजनामा ५ दिने महिला क्षमता विकास तालिम सितलीमा सम्पन्न भएको छ।
कार्यक्रममा क्षमता विकास अन्तरगत उद्घोषण सिप, माइन्युट लेखन, बैठक सन्चालन, महिलाको बर्तमान अवस्था र सुधार गर्नुपर्ने उपाय, नेतृत्व क्षमता, संविधान र देवानी संहितामा महिलाको अधिकार, कानुनी ब्यवस्था तथा मोवाएल बैङ्किङ र अनलाईन प्रणाली लगायत विषयमा सहजीकरण गरिएको थियो। तालिमलाई सहजकर्ताहरु दिवाकर भण्डारी, उर्मिला तामाङ, हरि प्रसाद पौडेल र विमल दहालले सहजीकरण गर्नु भएको सशक्तीकरण संजाल कोषाध्यक्ष मिना श्रेष्ठले जानकारी दिनुभयो।
क्षमता विकास तालिम समापन कार्यक्रममा प्रमुख अतिथि माईका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले सिकेका विषयलाई ब्यवहारमा लागु गर्ने सहभागीहरुलाई आग्रह गर्नुभएको थियो। वहाँले तालिमलाई तालिम मायाको रुपमा नलिई समन्यायीक, समावेशी समाज निर्माणमा प्रयोग गर्न र मानवीय क्षमताको विकास गर्न आबश्यक रहेको जानकारी दिनुभयो। अधिकारीले आगामी आर्थिक वर्ष महिला लक्षित कार्यक्रमका लागि १९ लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

विशेष अतिथि निबर्तमान उपमेयर विष्णुमाया रिमालले मन्चमा आएर बोल्न नसक्ने महिलालाई शसक्तिकरण संजालले नेतृत्व गर्न सक्ने वनाएको बताँउनु भयो। वहाँले निरन्तर उद्घोषण सीपलाई अभ्यास गर्न सहभागीलाई आग्रह गर्नुभयो।आयोजक संस्थाको संरक्षक समेत रहनु भएको रिमालले महिलालाई संगठित भई महिला हकहितमा निरन्तर कृयाशिल रहन महिला शसक्तिकरण संजाललाई सुझाव दिनुभएको थियो । समापन कार्यक्रममा माई-४ का वडाध्यक्ष हेम बहादुर लायो मगर, वडा नम्बर-१० का वडाध्यक्ष गणेश राई, सहजकर्ता दिवाकर भण्डारी, उर्मिला तामाङ, सहभागी प्रतिनिधि लगायतले मन्तव्य राख्नुभएको थियो।
आयोजक संस्थाका अध्यक्ष जुनु राईको अध्यक्षता, उपाध्यक्ष रञ्जना थापाको स्वागत र सचिव रुपा राईको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। नगर भित्रका ७० जना महिलाको सहभागिता रहेको तालिम माई नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो।






























