
जीवन के को लागि हो ? प्रेम विवाह, वासना सन्तान प्राप्ति वा अरु केही ? किन बाँच्दछन् ? बाँच्नुको सार्थकता के हो ? जीवनको खास मूल्य के हो ? यसैको वरिपरि जीवन केन्द्रित छ । म चाहिँ बाँचिरहेको मात्र देख्छु । जीवन जिउन जान्दैनन् मान्छेहरु सरल सहज रूपमा । मान्छेहरु यतिसम्म व्यस्त हुन्छन् ।
अहिलेको समयमा मानिसलाई आरामको श्वास फेर्न समेत फुर्सद हुँदैन । उनीहरु भनिरहेका भन्ने गर्छन् मलाई श्वास फेर्ने समेत फुर्सद छैन । कसरी जिउछन् ती व्यक्तिहरु ? उनीहरुको जीवन कस्तो हुन्छ ? जीवनको मूल्य न बुझ्नेहरु आफू स्वयम्लाई जान्न सकिरहेका हुँदैनन् । जीवनको मूल्य धेरै छ । आफूलाई बुझ्न सक्नु चिन्न सक्नु परमात्माको दर्शन हुनु जस्तै हो । अहिलेको समयमा मानिसहरु भौतिकवादी यश आरामको जिन्दगी जिउन चाहेका हुन्छन् ।
अहिलेको मान्छेहरुमा आध्यात्मिक चेत छैन । यद्यपि केही फरक त आएको छ नै जो सकारात्मक छ । जीवनमा आउने विविध पक्ष अफ्ट्यारा परिस्थितिहरुलाई सामना गर्न सक्छ । सकारात्मक कुरामा नकारात्मक पक्ष र नकारात्मक कुरामा सकारात्मक पक्ष देख्न सक्नुपर्छ । अनुशासनको घेराभित्र बस्न पर्दछ । अनुशासन भनेको के हो भन्ने थाह छ तर अनुशासनमा बस्न चाहँदैनन् । कर्तव्य भनेको के हो ? कर्तव्य पालना गर्न मान्दैनन् । समाज आफ्नो–आफ्नो तरिकाले जिन्दगी जिइरहेको देखिन्छ । अहिलेको युगमा बडो गजब तरिकाले जिन्दगी जिइरहेको देखिन्छ ।
आफ्नो स्वभाव र स्वार्थमा जिउँछन् । तर, म भन्छु आफ्नो मात्र नभई परिवार, देश र समाजको लागि बाँच्न जान्नु पर्दछ । पृथ्वीमा एकपटक जन्म लिएपछि समाज र देशको लागि केही गर्न सक्नुपर्छ । भनिन्छ नि जन्म सामान्य भए पनि मृत्यु चै इतिहास बनोस् । हामी खुशी हुन के–के गर्छौ ? पैसा कमाउँछौं । आराम जिन्दगी जिउन चाहिँरहेका हुन्छौं । मान्छेको स्वभाव पनि अचम्मको लाग्छ । लोभ, इष्र्या, कुरौटेपन, अरुको चासो लिने, अरुबाट अपेक्षा राख्ने । यस्ता नेपालीका स्वभाव हुन् । खास रूपमा भन्नुपर्दा अहिलेको आधुनिक मान्छेहरुले आफ्नो अस्तित्व नै बिर्सिएका छन् । जीवन के हो ? म किन बाँचिरहेको छु भन्ने बोध जीवनमा आयो भने बाँच्नुको सार्थकता आउँछ ।
म चाहिँ आफ्नो मात्र नभई समाज परिवर्तन र रुपान्तरणको लागि बाँच्न चाहन्छु । धुमपान–मध्यपानरहित समाजको कल्पना गर्छु । समाज दिब्य बनोस् । हरेक मान्छेमा आध्यात्मिक चेत होस्, भावना होस् । सबै मान्छेहरु असल बनुन् भन्ने चाहना राख्दछु । विवाह गर्नु बासनाको आनन्द लिनु, छोराछोरी जन्माउनु, हुर्काउनु, पढाउनु त जसले पनि गर्छ नै । यत्तिकैमा जीवन जिएर सकिँदैन अतः जीवनको मूल्यलाई हेर्नुपर्छ । जीवनमा जिउनुको सार्थकता चाहिँ के हो ? सकारात्मक दृष्टिकोण स्वस्थ जीवन, तन–मन स्वस्थ हुनु । हाम्रा असिमित चाहनाहरु पूरा हुँदै जानु र अन्तिममा मोक्ष प्राप्त सार्थक जीवन होला बाँच्नुको । हाम्रो जीवनमा काम, क्रोध, लोभ, मोहले दुःख दिइरहेका हुन्छन् । उमेर बढ्दै गएपछि समय अनुसार आफ्ना इच्छा आकांक्षा आफ्नो मन, विचार, भावना पनि परिवर्तन हुन्छन् । मान्छे पौढ अवस्थामा पुगेपछि हाँस्न नै बिर्सिन्छन् । छोराछोरीहरु हाँस्दा यो समय हाँस्ने भन्दिन्छन् ।
जीवनमा त उत्साह, उमँग, जोश, जाँगर र अनुहारमा प्राकृतिक हसाइ सरल–असहज परिस्थितिहरुलाई सामान गर्दै अघि बढ्नुपर्छ । यहीँ त हो नि बाँच्नुको सार्थकता । सकारात्मक र स्वस्थ जीवन जिउनु नै जीवनको मूल्य हो । समाजमा कोही देख्न सकिन्छ हतार–हतारमा खान्छन् र हतारमै बोल्छन् । हतार भए जस्तै गरेर काम गरिरहेका हुन्छन् र हतार–हतार गर्दागर्दै मृत्युमा पनि पुग्छन् । जो इमानदारिताका साथ जीवन जिउँछन् र सत्यलाई आत्मसात गर्छ भने तिनिहरुको जीवन सुखमय बन्दछ । जीवनमा पैसा कति कमायौंभन्दा पनि आफ्नो जीवनदेखि कति खुशी छौं त्यो महत्वपूर्ण कुरा हो । कहिलेकाही समाजमा बसेर पैसा मात्र कमाउन खोज्छौं र पैसा कमाउँदा–कमाउँदैमा जीवन बितिसकेको हुन्छ ।

समाजसेवाका कार्यहरु गर्ने, थोरै–थोरै भए पनि चन्दा अथवा दान गर्नुपर्छ । उत्साह, उमँग, सकारात्मक अनि अनुशासित भएर जीवन जिउन सक्नुपर्छ । कहिलेकाही परिवारका साथ तीर्थयात्रामा जाने, रमाउने, घुम्ने जीवनका खुशीहरु बाड्ने गर्नुपर्छ । यहीँ कुराहरु त हो नि जीवनमा हामीले चाहेको । जीवनमा जस्तो कर्म गर्छौं, त्यस्तै फल हामीले प्राप्त गर्छौं र जीवनमा राम्रो कर्म ग¥यो भने जिन्दगी सुन्दर बन्छ । म को हुँ । किन आए । मेरो उद्देश्य के हो ? म कसका लागि बाँचिरहेको छु । आफू बाँचेको जीवनप्रति उसलाई बोध छैन । जीवनको सत्यसँग ऊ अपरिचित छ । ऊ भित्र उठेको भावना विचारप्रति सजगता छैन । मानिस आफ्नै स्वार्थमा तल्लीन छ । त्यसकारण मानिसभित्र रहेको अस्तित्व संकटमा परेको छ । भौतिक सुख र सुविधामा अलमलिएको छ ।
सुख र शान्ति पाउने आशामा म को हुँ ? के हुँ भन्ने कुरा बिर्सिएको छ । जब मानिसले सार्थक जीवन के हो बुझ्दै जान्छ । अनि उसले जीवनको मूल्य बुझ्दै जान्छ । कहिलेकाही जीवनमा मानिस एकदिन मर्छ भने उसलाई लाग्छ । तर, जीवनको मूल्य चाहिँ बिर्सिन्छ । अन्ततः हामीले सोचेको र कल्पना गरेकोभन्दा पनि फरक छ । हामीले यो होला भनेर कल्पना गरेका हुन्छौं, त्यो भन्दा पनि भिन्न र पृथक छ । जान, बुझ, हेर आफूले बाँचिरहेको जीवनप्रति । सम्पूर्ण जीवनको अवलोकन गर । तब तिमीले बुझ्दै जान्छौ । जीवनको सत्यसँग नजिक हुन्छौ । अनि तिमीलाई थाह हुँदै जान्छ जीवनको सार्थकता के रहेछ । मानिसको जीवन दुर्लभ छ । केही समयका लागि आएका हौं । यही पृथ्वीमा हराउँछौं । हामी त केवल दिनका लागि आएका हौं, लिनका लागि होइन । त्यसकारण परिवार समाज र राष्ट्रलाई केही योगदान गर्न सकियो भने जीवन अझ सुन्दर हुनेछ ।
जीवन जिउनुको सार्थकता भनेको मनलाई पवित्र बनाउनु पनि हो । हरेक मान्छेलाई सकारात्मक दृष्टिले हेर्न सक्नुपर्छ । हामी समाजको सामाजिक प्राणी भएकाले मेलमिलाप प्रेम , भाइचाराको नजरले हेर्नुपर्छ । आफूले चिन्यो भने बाँच्नुको अर्थ हुन्छ र आफूले चिनिसकेपछि मर्नुको कुनै दुःख हुँदैन । जीवनको मूल्य त यहाँ छ । आफूले आफैलाई जानेको छ, बुझेको छ । जीवन र जगतलाई राम्रोसँग हेर्न सक्नुपर्छ । जो जीवन हाँसी–हाँसी जिउँछ, तनाव र शोकरहित जिउँछ उसको स्वस्थ जीवन बाँचेको हुन्छ । सकारात्मक भएर बाँच्न सक्नु नै हाम्रो जीवनको सार्थकता बन्छ र जीवनको मूल्य पनि त यहीँ हो ।


























