जिपिएस प्रविधि जडान गर्न आवेदन

0
426

झापा, 

जिपिएस प्रविधि जडानका लागि जिल्लामा एउटा मात्र एम्बुलेन्सको निवेदन परेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

जिपिएस प्रविधि जडानका लागि आवेदन दिनेमा नेपाल रेडक्रस सोसाइटीका कन्काई शाखाको प्रदेश नं. १–१०–००१ च ९२०१ नम्बरको एम्बुलेन्स मात्र रहेको सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो । प्रशासनले जिपिएस जडान गर्न गत असार १४ गतेसम्म आवेदन दिनका लागि सूचना जारी गरेको थियो ।

सोही सूचनाका आधारमा रेडक्रस कन्काई शाखाको मात्र निवेदन परेको उहाँको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले ग्लोबल फण्डको सहयोगमा एम्बुलेन्समा जिपिएस जडान गर्ने योजना रहेकाले सम्बिन्धत जिल्लामा सेवा पु¥याइरहेका एम्बुलेन्सलाई मापदण्ड दिँदै आवेदनका लागि जिल्लामा सूचना जारी गर्न प्रशासनलाई निर्देशन दिएको थियो ।

जिपिएस जडानका लागि आवेदन दिन ‘क’ वा ‘ख’ वर्गको एम्बुलेन्स हुनुपर्ने, स्वास्थ्यचौकी, अस्पताल वा स्वास्थ्यसँग सम्बन्धित संस्था हुनुपर्ने, एम्बुलेन्स चालकले ‘वीइएमटी’ मान्यता प्राप्त तालिम लिएको हुनुपर्ने, एम्बुलेन्स सञ्चालन अनुमति लिएको, नवीकरण भइरहेको, ‘फोर डी’ भएकोलगायतको मापदण्ड बनाइएको थियो ।

नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार जिल्लामा हाल १२७ वटा एम्बुलेन्स दर्ता भएर सञ्चालनमा छन् । तर जिल्लामा सञ्चालित एम्बुलेन्स सबै नै ‘ग’ वर्गका रहेको हुँदा निवेदन नपरेको हुनसक्ने सोसाइटी झापा कार्यालयका अधिकृत हरिशरण खड्काले जानकारी दिनुभयो ।

जीपीएस प्रविधिको प्रयोगपछि एम्बुलेन्स कहाँ र कुन अवस्थामा छ भन्ने विषयमा सजिलै जानकारी प्राप्त हुने, एम्बुलेन्सका चालकले यात्रु बोकेको वा गैरकानुनी काम गरेको अवस्थामा थाहा लाग्ने आदि कारणले महत्वपूर्ण हुने उहाँको भनाइ छ । उहाँले रेडक्रसद्वारा सञ्चालित एम्बुलेन्स ‘अपग्रेट’ गराएर ‘ख’ वर्गको बनाउने तयारी गरिरहेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here