सुरुङ्गा कात्तिक २७ । दक्षिणी झापाको शिवगञ्ज गाविसमा रहेका एक हजार ७० कृषकका परिवार समुदायमा आधारित जैविक विविधता व्यवस्थापन परियोजना लि–वर्डले सञ्चालन गरेको अभियानबाट लाभान्वितक भएका छन् ।
अभियान अन्तर्गत लि–वर्डले आय आर्जनका लागि कृषकलाई तरकारी खेती, बंगुरपालन, माछा पालन, भकारो सुधार( गोठे मल बनाउन), गड्यौले मल उत्पादन, घरेलु विषादी उत्पादनका रु ११ लाख बढी रकम अनुदान स्वरुप उपलब्ध गराएपछि उनीहरु लाभान्वित भएका हुन् । झापामा लोप हुँदै गएका वालीको प्रवद्र्धन र संरक्षणमा महत्वपूर्ण टेवा पु¥याउँदै आएको संस्था लि –वर्डले शिवगञ्ज गाविसका १ सय १० परिवारलाई तरकारी खेती, ९२ परिवारलाई वंगुरपालन, ५० परिवारलाई माछा पालन, ५० परिवारलाई खर्च कटौती तथा भकारो सुधार (गोवर मल बनाउने विधि) , १०० परिवारलाई गड्यौले मल वनाउन र घरेलु विषादी उत्पादनका लागि ५० परिवारलाई ११ लाख रुपैयाँ अनुदान स्वरुप उपलब्ध गराएको लि– वर्ड झापाका प्रमुख पूर्ण पौड्यालले बताए ।

शिवगञ्ज गाविसका ९ वटै वडामा २२ वटा समूह गठन गरी उक्त रकम उपलब्ध गराएको पौड्यालको भनाइ छ । ५ वर्ष अघिबाट सुरु भएको अभियानका क्रममा त्यस क्षेत्रका कृषकले १ सय १६ प्रकारका लोपोन्मुख वीउ समेत संरक्षण गरेको लिवर्ड परियोजना प्रमुख पिताम्बर श्रेष्ठले जानकारी दिए । जस अन्तरगत यस वर्ष कालो नुनिया, स्वणसव, सर्ना , सञ्जित, सुधारिएको कालो नुनिया धानको १५ टन वीउ उत्पादन गर्ने लक्ष्य लिएको बताइएको छ । हाल लिवर्डले देशका ६ जिल्लामा अभियान सञ्चालन गर्दै आएको परियोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।































