पुल नबनेपछि रानीघाटमा ‘फेरी’ जडान सुरु

0
308

कर्णाली, 

निर्माण व्यवसायीले खरिद सम्झौता भएको १० वर्षसम्म पक्की पुल नबनाएपछि सडक डिभिजन सुर्खेतले रानीघाटस्थित भेरी नदीमा ‘फेरी’ जडानको काम सुरु गरेको छ । नयाँ ठेक्का प्रक्रियाबाट पुल निर्माण हुन कम्तीमा तीन वर्ष लाग्ने हुँदा सडक डिभिजनले सल्लीबजारमा यसअघि प्रयोगमा ल्याइएको ‘फेरी’लाई रानीघाट पु¥याएको हो ।

सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन सुर्खेतले रु ६० लाखमा ‘फेरी’का जडान कार्यका लागि बराह निर्माण सेवालाई जिम्मा दिएको छ । सडक डिभिजनका सूचना अधिकारी इञ्जीनियर तुलाराम शर्माले छिञ्चु–जाजरकोट खण्डमा पर्ने सल्लीबजारस्थित भेरी नदीमा जडान गरिएको ‘फेरी’लाई रानीघाट ल्याइएको बताउनुभयो ।

“फेरी जडानको काम सुरु भइसकेको छ, आगामी माघसम्म जडान गरिसक्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “पुल निर्माणमा समय लाग्ने हुँदा नागरिकलाई सहज यातायात सेवा प्रदान गर्न फेरी जडानको कामलाई तीव्रता दिइएको हो ।” फेरीको टावर राख्ने जगको काम सम्पन्न भई टावर निर्माणको काम सुरु गर्न लागिएको छ ।

सडक डिभिजनले सम्झौताअनुसार म्याद थप भइसक्दासमेत निर्माण कार्यसम्पन्न गर्नतर्फ चासो नदिने, पटक–पटक ताकेता गर्दा अटेरी गरी निर्माणकार्यलाई अलपत्र पारेपछि रानीघाट पक्की पुलको ठेक्का तोडेको थियो । त्यहाँ पुल निर्माण गर्न सडक डिभिजन र पप्पु÷मल्ल जेभीबीच विसं २०६९ असार २९ गते सम्झौता भएको थियो । इञ्जीनियर शर्माले १० वर्ष बित्दासमेत पुल नबनाएपछि ठेक्का सम्झौता अन्त्य गर्दै सडक डिभिजनले कालोसूचीमा राख्न सडक विभागसमक्ष सिफारिस गरिएको जानकारी दिनुभयो ।

वीरेन्द्रनगरदेखि करिब पाँच किमी दूरीमा रहेको रानीघाट पर्यटकीय क्षेत्र हो । रानीघाट हुँदै बर्दिया–सुर्खेत आउजाउ गर्न यो छोटो दूरी हो । रानीघाट–तेलपानी (बर्दिया) सडकको ट्रयाक खुलिसकेको छ । पुल नहुँदा सुर्खेतकै बराहताल गाउँपालिकाका चार वडाका बासिन्दा यातायात सेवाबाट बञ्चित भएका छन् ।

गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले ‘फेरी’ सञ्चालनमा आएपछि रानीघाट, तेलपानी, श्रीचौर, बरपानी गाउँका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । उहाँका अनुसार वडा नं ३ को कार्यालय रहेको सुकुरमालाबाहेक अन्य दुई वडामा सडक पुगिसकेको छ । तर भेरी नदीमा पुल नहुँदा ती सडकमा यातायातका साधन सञ्चालनमा आउन सकेका छ्रैनन् ।

गाउँपालिका अध्यक्ष भण्डारीले ‘फेरी’ जडानसँगै पक्की पुलका लागि ठेक्का प्रक्रिया सुरु गर्न सडक विभागलाई अनुरोध गरिएको बताउनुभयो । “वर्षौँदेखि नदीका कारण भेरीपारिका नागरिक यातायात सेवाबाट बञ्चित हुनुपरेको छ, तत्कालका लागि फेरी सञ्चालनमा आए केही सहज हुनेछ”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले के–कति कारणले काम गर्न नसकेको हो, त्यसको अध्ययनका आधारमा डिजाइन परिवर्तन गरेर पुल निर्माणको प्रक्रिया सुरु गर्नुपर्छ ।” ‘फेरी’ जडान भएपछि सडक स्तरोन्नति गर्ने र बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न पालिका तयार रहेको उहाँको भनाइ छ ।

सुर्खेत रानीघाट–तेलपानी बर्दिया सडकलाई सुर्खेत, बर्दिया र कैलाली जिल्ला जोड्ने दु्रतमार्गका रूपमा लिइन्छ । बर्दिया–सुर्खेत जोड्ने यो छोटो दूरी हो । रानीघाटमा पुल नहुँदा बर्दियाबाट कोहलपुर–बबई–छिञ्चु हुँदै लामो दूरी पार गरी सुर्खेत आउनुपर्ने बाध्यता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here