अर्जुनधारा ।

गत आर्थिक वर्ष ०७८/०७९मा झापाको अर्जुनधारा नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुले सम्पादन गरेको कार्यको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।
नगर स्वास्थ्य शाखाको आयोजनामा आइतबार अर्जुनधारा–८ स्थित सामुदायिक भवनको सभाहलमा आयोजित पालिकास्तरिय वार्षिक समिक्षा गोष्ठीमा उक्त प्रगति प्रतिवेदन सार्वजनिक गरिएको हो ।
नगर उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा शनिश्चरे अस्पतालसहित ११ वटा स्वास्थ्य संस्थाका इञ्चार्ज एवम् प्रतिनिधिले उक्त प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवम् नगर बोर्ड सदस्य कौशिलाल परियार “भोला”, आर्थिक समितिकी संयोजक एवम् नगर बोर्ड सदस्य गौरीमाया चिमरीया “अस्मिता”, नगर बोर्ड सदस्य बिमला रोक्का, नगर सभा सदस्य देवकुमार राई, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायतले आफ्नो धारणा राखेका थिए ।
सोही कार्यक्रममा आधारभूत–शहरी–सामुदायिक गरी जम्मा ८ वटा स्वास्थ्य संस्था मध्ये उत्कृष्ट हुने अर्जुनधारा–११स्थित आधारभूत स्वास्थ्य केन्द्र र अस्पताल–स्वास्थ्य चौकी गरी जम्मा ३ वटा मध्ये उत्कृष्ट हुने शनिश्चरे अस्पताललाई प्रमाण पत्र वितरण गरिएको शाखाकी नर्सिङ अधिकृत दुर्गा चापागाईंले जानकारी दिइन् । कार्यक्रमको सञ्चालन शाखा प्रमुख मुकुन्द बस्नेतले गरेका थिए ।

त्यसैगरी स्वास्थ्य शाखाले सोही दिन जनप्रतिनिधि र सरोकारवालाहरुलाई लक्षित गरी डेंगु रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा शाखाका प्रमुख बस्नेत र शनिश्चरे अस्पतालका प्रमुख डाक्टर आशिष पौडेलले डेंगु रोगको प्रकोप, नियन्त्रण र रोकथामका विषयमा सहजिकरण गरेका थिए ।
त्यस्तै शाखाले यहि असोज ५ गतेदेखि सबै वडाको जोखिमपूर्ण क्षेत्रमा डेंगुको लार्भा खोजी गरी नष्ट गर्ने ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गर्ने प्रमुख बस्नेतले जानकारी दिए ।






























