झापा, सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्दै दुई वर्षभित्र १५ शैय्याको अस्पताल बनाउने भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले झापाका १५ वटै स्थानीय तहमा पूर्वाधार निर्माणको काम शुरु ग¥यो ।
तर, दुई वर्ष बित्न लाग्दा समेत झापाका अधिकांश स्थानीय तहले अस्पतालका लागि आवश्यक पर्ने भवनको पहिलो चरणको काम समेत सम्पन्न गर्न सकेका छैनन् ।
बाह्रदशी गाउँपालिका–२स्थित इलाका स्वास्थ्य चौकी राजगढलाई स्तरोन्नति गर्दै १५ शैय्याको अस्पताल बनाउन लागिए पनि हालसम्म पहिलो चरणकै काम सम्पन्न गर्न नसकिएको स्वास्थ्य शाखा प्रमुख रामकुमार साहले बताए । उनले भने – भवन निर्माणका लागि भर्खर ‘बेस’को काम सकिएको छ । भवन सम्पन्न गर्न अझै धेरै समय लाग्छ । करिव ९ करोड रुपैयाँको लागतमा निर्माणाधीन अस्पतालको भवन पूर्ण रुपमा निर्माण सम्पन्न गरी सञ्चालनमा आउन समय लाग्छ ।
त्यसो त बिर्तामोड नगरअस्पतालको समेत भवन निर्माण सम्पन्न भएको छैन । बिर्तामोड नगरपालिका वडा नम्वर ३का वडाध्यक्ष मदन वुढाथोकीका अनुसार अहिले भवन निर्माणको काम धमाधम भइरहेको छ ।
ओली सरकारले दुई वर्षअघि अर्थात् २०७७ साल मंसीर ५ गते तामझामका साथ एकैपटक ३ सय ९६ वटा स्थानीय तहमा अस्पताल शिलान्यास गरेको थियो । सबै स्थानीय तहमा २ वर्षभित्र आधारभूत अस्पताल बनाउने घोषणा गरे पनि शिलान्यास भएको दुई वर्षसम्म कुनै पनि संरचना तयार भएका छैनन् । २ सय ६६ ठाउँमा त काम नै शुरु भएको छैन । ५ देखि १५ शैय्याको अस्पताल बनाउन केन्द्रसँग स्वीकृति लिए पनि २ सय ६६ पालिकाको प्रगति शून्य छ ।
अझ नयाँ प्रतिनिधि चयन भएर आएपछि त पुराना आयोजना अलपत्र जस्तै भएका छन् । सरकारले २ वर्षभित्रै अस्पताल बनाइ सक्ने भनेको थियो । तर, ३ सय ९६ अस्पतालको एकैपटक शिलान्यास भएकोमा ३ सय वटा अस्पताल बनाउन मात्र प्रक्रिया पूरा भएर रकम निकासा भएको छ ।
त्यसै गरी दोस्रो चरणमा २ सय ५९ अस्पताल शिलान्यास गरिएकोमा ८९ अस्पतालका लागि मात्रै बजेट निकासा भएको छ । शिलान्यास गरिएकामध्ये २ सय ६६ अस्पतालको कुनै पनि काम अघि बढेको छैन । संविधानले स्वास्थ्यलाई मौलिक हकको रूपमा राखेर आधारभूत स्वास्थ्यलाई निःशुल्क हुने भनेको छ । तर, आधारभूत सेवा लिनै नागरिकले सास्ती भोग्नुपर्छ । त्यसो त कतिपय स्थानीय तहले स्वास्थ्यका संरचना बनाउन चासो नदिएको पाइन्छ । अझ आवश्यक उपकरण र जनशक्तिको समेत अभाव छ । यस्तो अवस्थामा संघीय सरकारले नै समस्या समाधानको पहल गर्नुपर्ने देखिन्छ ।































