मानव बेचबिखन रोक्न अन्तरदेशीय संयन्त्र निर्माणमा जोड

0
97

नेपालगञ्ज, 

नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुले मानव बेचबिखन रोकथामका लागि अन्तरदेशीय संयन्त्र निर्माणमा जोड दिएका छन् ।

माइती नेपालले यहाँ आयोजना गरेको मानव बेचबिखनविरुद्धको कार्यशालामा दुवै देशका सुरक्षा अधिकारीले मानव बेचबिखनविरुद्धको लडाइँका लागि अन्तरदेशीय संयन्त्र निर्माण अहिलेको आवश्यकता भएको बताउनुभयो ।

उहाँहरुले मानव बेचबिखन दुवै देशको साझा समस्या भएकाले त्यसको रोकथामका लागि स्थानीयस्तरदेखि नै दुवै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । दुवै देशका सुरक्षा अधिकारी, स्थानीय सरकार, गैरसरकारी सङ्घसंस्थाबीचमा मानवबेचबिखनविरुद्धको कामका लागि प्रभावकारी संयन्त्र आवश्यक हुने र सो संयन्त्रले दुई देशबीच सही सूचना आदानप्रदान हुनाका साथै पीडितको उद्धार तथा बेचबिखन हुनबाट रोकथाम गर्न सकिने सरोकारवालाले बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले खुल्ला नाकाका कारण मानव बेचबिखन रोकथाम चुनौतीपूर्ण रहेकाले दुवै देशका सुरक्षा अधिकारी, स्थानीय सरकार र सङ्घसंस्था मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

बाँकेका प्रजिअ सूर्यबहादुर खत्रीले मानव बेचबिखनको मुद्धा दुई देशको अन्तरदेशीय सुरक्षा अधिकारीको बैठकमा प्रमुख रुपमा उठ्ने गरेको जानकारी दिँदै यो समस्या दुवै देशको साझा भएकाले चनाखो हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मानव बेचबिखन भारतमा मात्रै नभएर भारत हुँदै तेस्रो मुलुकमा समेत भइरहेकाले भारतले यस विषयमा सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

भारतको एसएसबी ४२ नं बटालियनका कमान्डेड तपनकुमार दासले मानव बेचबिखन रोकथामका लागि ह्वाट्सअप समूह बनाएर प्रभावकारी रुपमा काम गर्न सकिने बताउनुभयो । उहाँले यो विषय विद्यालयस्तरमा मानवबेचबिखनविरुद्ध अध्यापन गराउनुपर्नेमा जोड दिनुभयो । माइती नेपालका प्रमुख केशव कोइरालाले मानव बेचबिखनको काम कसरी भइरहेको छ भन्ने विषयमा जानकारी दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here