सुरक्षा ब्रिफिङमा नयाँ राष्ट्रपतिको चर्चा

0
238

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमा नयाँ राष्ट्रपति चयन हुनुपर्ने बताउँदै आएका छन्। उनले सोमबार दुई ठूला दल नेपाली कांग्रेस र एमालेका शीर्ष नेतालाई एकै ठाउँमा राखेर यस विषयमा छलफल गरे। राष्ट्रिय सुरक्षा विषयमा नेपाली सेनाले ब्रिफिङ गर्ने बैठकमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि सहभागी गराएर नयाँ राष्ट्रपति चयनका विषयमा छलफल गरेका हुन्।

प्रधानसेनापति प्रभुराम शर्माले प्रधानमन्त्री दाहाललाई राष्ट्रिय सुरक्षा विषयमा ब्रिफिङ गर्न सुरक्षा परिषद् बैठक बोलाएका थिए। सोही बैठकमा प्रधानमन्त्री दाहालले ओली र देउवालाई पनि सँगै राखेर राष्ट्रिय सहमतिकै आधारमा नयाँ राष्ट्रपतिको निर्वाचन गर्नुपर्नेमा जोड दिएका थिए। सामान्यतया प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा विषयमा ब्रिफिङ लिने बैठकमा विपक्षी र अन्य दलका नेतालाई सहभागी गराइँदैन। तर प्रधानमन्त्री दाहालले देउवा र ओलीलाई सँगै राखेर सुरक्षा मामिलामा प्रधानसेनापतिको ब्रिफिङ सुनेका थिए।

‘सामान्यतया प्रधानमन्त्रीले मात्रै लिने ब्रिफिङमा अन्य दलका नेतालाई राख्ने चलन हुँदैन तर उहाँले राष्ट्रिय सहमति खोज्ने नाममा यस्तो गर्नुभयो, यो अलि गलत भयो’, नेपाली सेनाका एक उच्च अधिकारीले भने। राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष हुन्छन्। परिषद्को सदस्य रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र सदस्य–सचिव रक्षा मन्त्रालयका सचिव हुने व्यवस्था छ। राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने र राष्ट्रपतिले त्यो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसद्समक्ष पेस गर्न लगाउने व्यवस्था छ।

फागुन २५ गते हुने नयाँ राष्ट्रपतिको निर्वाचनका लागि राजनीतिक र गैरराजनीतिक व्यक्तिहरूको चर्चापरिचर्चा चलिरहेका बेला प्रधानमन्त्रीसहित तीन नेताले यसमा छलफल गरेका हुन्। माओवादी स्थायी समितिको बैठकले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति खोज्ने, नभए विचार मिल्ने समूहसँग जोडिने भन्ने निर्णय गरेको छ। त्यहीअनुरूप सोमबार तीन नेताहरूबीच छलफल भएको बताइएको छ। प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच मंगलबार बिहान बालुवाटारमा भेट हुँदा पनि सोही विषयमा छलफल भयो। दाहाल प्रधानमन्त्री नियुक्त हुनुभन्दाअघि भएको समझदारी अनुसार आफ्नो भागमा परेको राष्ट्रपति पदमा एमालेले उम्मेदवारी दिने तयारी गरेको छ। एमाले अध्यक्ष ओलीले पनि राष्ट्रपतिमा एमालेले चाहेका व्यक्तिकै नाममा सहमति हुने सार्वजनिक रूपमा बताइसकेका छन्। वर्तमान सत्ता गठबन्धन बन्दा राष्ट्रपति पद एमालेको भागमा परेकाले त्यसमा आफ्ना दाबी रहने नेताहरूले बताउँदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here