पार्थ मण्डल,
भद्रपुर।

विश्व स्वास्थ्य संगठनले हात्तीपाइले रोगबिरुद्धको औषधि सेवन नेपाली जनताको शरीरमा परीक्षणका लागि ल्याएको जनमासमा भ्रम पैदा गरिएकोले यो अभियान सफल हुन नसकेको बताइएको छ ।
सरकारले सन् २०२० भित्र हात्तीपाइले रोगबिरुद्धको अभियान सफल गर्ने लक्ष्य राखेकोमा प्रदेश १ का झापा र मोरङसहित १५ जिल्लामा अझै पनि यो अभियान सफल हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृत विश्वनाथ श्रेष्ठले जानकारी दिए ।
झापा र मोरङ शिक्षित जिल्ला हो । तर, शिक्षित जिल्लाकै हालत यस्तो रहेको बताउँदै अधिकृत श्रेष्ठले भने– ‘हात्तीपाइले क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीवीबाट सर्ने रोग हो, यो रोग लाग्नुभन्दा अगाडि औषधि सेवाबाटै उपचार सम्भव छ, लागि सकेपछि यसको कुनै पनि उपचार छैन ।’ सरकारले यो कार्यक्रम सफल बनाउन बर्षेनि ठूलो बजेट खर्चिएर घरदैलो मार्फत आमजनतालाई औषधि सेवन गराउँदै आइरहेको छ । औषधि सेवनको प्रतिफल नआउँदा सरकारको बजेट खेर गइरहेको उनको भनाइ छ ।
‘जनमासमा औषधि सेवन असरको डर र भ्रमका कारणले घरदैलोमा पुगेका स्वास्थ्य स्वयम्सेविकाबाट औषधि कागजको पोकामा लिने, तर सेवन नगर्दा अभियान सफल हुन सकेन’ –उनले भने । यो औषधि परीक्षणको लागि नआएको र हालसम्म कसैको मृत्यु नभएकोले ढुक्क भएर औषधि सेवन गर्न उनले आग्रह गरेका छन् । ‘परिवारका एक÷दुई जनाले मात्र सेवन गर्ने, छरछिमेक र घरका अन्य सदस्यले सेवन नगर्दा सेवन गर्ने व्यक्ति पनि जोखिममा रहिरहन्छन्, त्यसैले सबैले यो औषधि सेवन गर्नुपर्ने हुन्छन्’ –उनले भने ।
यही फागुन ११ गतेदेखि झापाभरि १२औं पटक राष्ट्रिय हात्तीपाइले रोगबिरुद्धको तीन प्रकारको औषधि सेवन कार्यक्रम सञ्चालन हुन लागेको छ । विगतका वर्षहरूको तुलनामा यस वर्ष यो अभियानलाई कसरी सफल बनाउने भन्ने उद्देश्यका साथ भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले पालिकास्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी आयोजना गरेको थियो ।
सोही गोष्ठीमा हात्तीपाइले रोगको बारेमा जानकारी गराउँदै अधिकृत श्रेष्ठले भने– ‘झापामा सन् २०१२ मा २४ प्रतिशत हात्तीपाइले रोगको जीवाणु देखा परेको थियो ।’
औषधि सेवनका कारण यो प्रतिशत घट्ने क्रममा रहेको बताउँदै जोखिम क्षेत्रको पहिचान गर्दै सन् २०२२ मा कचनकबलको लोदाबारीमा एक सय जनाको स्वास्थ्य परीक्षण गर्दा सात प्रतिशतमा हात्तीपाइले रोगको जीवाणु भेटिएको थियो । ‘परीक्षण गर्दा दुई प्रतिशतभन्दा कम आउनुपर्ने हुन्छ, तर त्यो नभेटिएकोले जिल्लामा औषधि सेवन अभियानलाई निरन्तरता दिनुप¥यो’ –उनले भने ।
सन् २०२१ मा झापाको कुमरखोदमा एक सय जनाको परीक्षण गर्दा १३ प्रतिशतमा यो रोग देखा परेको थियो । भारतको विहार र उत्तर प्रदेशसहित छ जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा पर्छ । विहार र उत्तर प्रदेश देशको सीमा नाकासँग जोडिएकोले तराईका जिल्लाहरू अहिले पनि जोखिममा रहेको छ । ‘त्यसैले यो रोगबाट बच्न र जोगिन औषधि सेवन गर्नुपर्ने हुन्छ’ –उनले भने ।
डब्लुएचओले पुनः सन् २०३० सम्म लक्ष्य दिए पनि सन् २०२६ भित्र देशभर अभियान सफल बनाइसक्नुपर्ने उनको भनाइ छ । झापाका नौ लाख जनतालाई एकै पटक औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यता भद्रपुर नगर प्रमुख गणेश पोखरेलले छैटौं पटकमा सक्नुपर्ने यो अभियान हाम्रै कारणले १२औं पटकसम्म पुगेको बताए । यस पटक यो अभियानलाई सफल बनाउन सबै जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, स्वयम्सेविका, टोल विकास संस्थाहरू लाग्नु पर्ने उनको भनाइ छ ।
‘हात्तीपाइले रोगको औषधि सेवन नगर्नु भनेर जुन प्रकारको भय, त्रास र भ्रम फैलाइएको छ, नगरबासीको मनबाट ती कुरालाई हटाउनुपर्ने हुन्छ’ –उनले भने । त्यसका लागि विद्यालयसहित टोल–टोलमा गएर नगरबासीलाई बुझाएर र सम्झाएर औषधि सेवन गर्न लगाउनुपर्ने उनको भनाइ छ । नगर स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन फोकल पर्सन मनोज भट्टराईले गरेका थिए ।































