प्रेम आफैं हुन्छ

0
414

प्रेम आफै हुन्छ ? प्रेम कहाँ हुन्छ ? के प्रेम बिना जीवन सुन्दर छैन ? प्रेम हुनु आफैमा राम्रो या नराम्रो ? आफैमा प्रश्न गरिरहने म तिमी जीवनमा आएपछि सबै प्रश्नको उत्तर भेटे जस्तै लाग्छ । संसारमा हरेको हरेकसँग प्रेम बसिरहेको हुन्छ । चाँहे व्यक्त होस्, चाँहे नहोस् । मानव जीवनमा प्रेमको महत्व आफ्नै ठाउँमा छ । मानव मात्रै यस्तो प्राणी हो जुन प्रेम बिना बाँच्ने कल्पनासम्म गर्न सक्दैन । हुन त प्रेम अन्य प्राणीमा पनि नहुने भने होइन । तर, मानवीय गुणका कारण सर्वश्रेष्ठ प्राणी मानिस पटक–पटक प्रेम दर्शाइरहन्छ । यो उसको मानवीय गुण पनि हो ।

म सोचिरहन्छु कस्तो अनौठो होला यो मायाप्रेम जसको कारण चिन्दै नचिनेको व्यक्ति, देख्दै–नदेखेको व्यक्ति र कोही आफ्नो हुँदै नभएको व्यक्तिप्रति अनायसै प्रेमको भेल उर्लन थाल्दछ । र, ऊ सबैभन्दा निकट लागीरहन्छ । त्यतिमात्र होइन ऊ सुन्दर पनि लाग्दछ । प्रेममा सुन्दरताले भूमिका गौणमा खेलेको हुन्छ । प्रेम हुनलाई आकर्षित मुहार हुनुपर्छ भन्ने छैन किन थाह छ ? किनकि प्रेम त्यस्तो चिज हो अन्यलाई नराम्रो लागेको व्यक्ति आफूलाई संसारकै राम्रो लाग्दछ । जब कसैसँग प्रेम बस्न थाल्दछ, ऊ बाहेक अर्काे संसार छ भन्ने थाह पाउँदैन । अचम्म लाग्छ सुन्दा जब कोही प्रेममा परेको हुँदैन यस्ता कुरा महशुस गरेको हुँदैन । तर, जब कोही प्रेममा परेको हुन्छ, उसलाई यी कुरा अचम्म होइन सुखद् लागीरहेको हुन्छ । यतिमात्रै होइन प्रेम त यस्तो चिज हो केही पल टाढा हुँदा रोइ दिने सँगै हुँदाको कल्पनामै पनि हाँसी दिने । कस्तो–कस्तो यो माया पनि पागलपनको उपनाम लगाइदिन्छन् साथीभाइ ।

माया गर्न आमाबुवाबाट सिक्दै आएको हुन्छ । त्यसो त प्रेम भन्ने बित्तिकै प्रेमी वा प्रेमीकाबीचको मात्रै सोच्ने हो भने प्रेम आफैंमा संकुचित हुन पुग्दछ । प्रेमको दायरा फराकिलो छ र हुनु पर्दछ । आफन्त–आफन्तबीच प्रेम दर्शाउन सकिन्छ । एउटी नारी त प्रेमकी प्रतिमूर्ति नै हुन् । किनकि उनले हरेक भूमिका निर्वाह गर्छिन् । कसैकी छोरी, श्रीमती, बुहारी, आमा, भाउजु, काकी, माइजु कति हो कति सम्बन्ध अनि कसैकी प्रेमिका पनि । यी सम्बन्धहरु उनले विवेकपूर्ण तरीकाले निभाउन सके उनी सबैभन्दा सफल नारी बन्न सक्छिन् । परिवार अनि समाजका लागि र आफ्नो श्रीमानका लागि एक रथको दुई पाङ्ग्रा नै हुन पुग्छिन् । यसो भनिरहँदा पुरुषको भूमिकालाई पछि पार्न भने खोजेको होइन । महिला र पुरुष प्रेमिल सम्बन्धमा एक सिक्काका दुई पाटा हुन् ।

आज मेरो मनमा यी अनेक कुराले ठाउँ लिनुमा नजिकिँदै गएको प्रेमीहरुको दिवस अर्थात् १४ फेब्रुअरीको प्रभाव जस्तै लाग्दछ । बर्षैपिच्छे फेब्रुअरी महिनाले प्रेमको संगीत बजाउँदै आए जस्तो लाग्छ । यो महिना प्रेममय महिना झैं लाग्छ । कति प्रेमिल मनहरु १४ फेब्रुअरीको प्रतिक्षामा छन् होला । आफू प्रेममा परेको व्यक्तिलाई उपहार स्वरुप गुलाबका फूलहरुको साथमा आफ्नो अन्तरमनमा लुकेका भावना व्यक्त गर्न आँट जुटाउँदै होलान् भने कतिले प्राकृतिक सौन्दर्यतामा हराउँदै आफ्नो प्रेमी–प्रेमीकासँग रमाउने मनसाय बोक्दै होलान् । वास्तवमा प्रेम शब्द नै कति मिठासपूर्ण छ । कल्पनामा रमाउन र सपना सजाउन कसैले रोक्न–छेक्न नै नसक्ने गरी अथाह मायाको संसार आँखाभरी सजाउन सकिने गरी यो प्रेम कस्तो–कस्तो ।

सम्बन्धहरुलाई प्रगाढ बनाउने कसी नै प्रेम जस्तो लाग्दछ मलाई । जहाँ प्रेम छ त्यहाँ विश्वास छ अनि सम्बन्धमा मिठासपन पनि छ । प्रेम बिना त जीवन निरश र उदासिन जस्तै लाग्छ भोगाइमा । यथार्थमा प्रेम त्यो हो जसको साथमा संसार जित्ने आँट गर्न सकिन्छ । म भित्रको तिमी र तिमीभित्रको म अनि हाम्रो विश्वास नै प्रेम हो भन्ने जसलाई लाग्छ ऊ पनि प्रेमिल संसारमा नै हराएको आभाष गर्छ । चाहे जे होस् जीवन जिउने आधार नै प्रेम हो । प्रेमिल मन अनि सम्बन्धमा प्रेम दिवस अर्थात् १४ फेब्रुअरीको हार्दिक शुभकामना । जीवनमा प्रेमले बास गरोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here