माई, इलाम
इलामको माई नगरपालिका क्षेत्र भित्र रहेका सहकारी संस्थाहरुको प्रर्वद्धनका लागि सञ्चालित कोपोमिस सम्बन्धी ४ दिने तालिम आईतबार सम्पन्न भएको छ ।
माई नगरपालिकाको आयोजना र नेपाल सरकार भुमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्रालय सहकारी विभागको सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको सहजीकरणमा तालिम सम्पन्न भएको हो। समापन कार्यक्रममा माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बुले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहकारीका प्रतिनिधिलाई आग्रह गर्नुभयो। वहाँले नगरले सहभागिता गराउन पत्राचार गर्दा पनि सहभागी नहुने सहकारीलाई स्पष्टीकरण सोधिने भन्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशिका बमोजिम सहकारी कार्यन्वयन गर्ने अधिकार तोकी नगरपालिकामा जानकारी पठाउने, आन्तरिक कार्यविधि बनाउने, स्टीआर, टिटिआर रिपोर्ट पठाउन निर्देशन दिनुभएको छ। त्यस्तै प्रमुख लिम्बुले सहकारीको मासिक प्रतिवेदन पठाउने र कोपोमिस नियमित सन्चालन गर्ने लगायतका निर्देशन दिनुभएको थियो।
बिशेष अतिथि उपमेयर हिमा भण्डारीले सहकारी संस्थाले आधुनिक प्रविधि मैत्री भई सुशासन कायम गर्नु पर्ने जानकारी दिनुभयो। कार्यक्रममा अध्यक्षता गर्दै आर्थिक विकास समिति सदस्य एवम माई-९ का वडाध्यक्ष लिला कुमार राईले कोपोमिसमा समष्टिगत विवरण नभरेमा कर चुक्ता नहुने सहकारी विभागले जानकारी गराईसकेकाले सहकारीहरुलाई समयमै विवरण भर्न सूचित गर्नुभएको थियो।
माई नगरपालिका भित्रका १५ सहकारी संस्थाका ३० जना सहभागी रहेको तालिम समापन कार्यक्रममा सहभागीका तर्फबाट सिर्जना खवास र ठाकुर प्रसाद खातिले तालिममा सिकेका कुरा सहकारी संस्थाहरुले कार्यान्वयन ल्याउने प्रतिबद्धता गर्नुभएको थियो।
माई नगरपालिका प्रशासन शाखाका प्रमुख लक्ष्मण भुर्तेलको सन्चालन र माई नगरपालिका आर्थिक विकास समिति संयोजक तथा वडाध्यक्ष लिलाकुमार राईको अध्यक्षतामा सम्पन्न तालिमलाई सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका नविन मैनालीले सहजीकरण गर्नु भएको थियो।






























