इमान्दार ऋणी

0
297

भनुम कि न भनुम हुँदै उसले सुमनलाई एकदिन मुख खोलेर भन्यो ‘ओई सुमन एउटा कुरा भन्नु छ ।’
‘के कुरा निलम ?’ सुमन प्रश्न सोध्छ ।

‘मलाई केही दिनलाई एक हजार देऊ न ।’ –निलम भन्छ ।

‘ए भई हाल्छ नि । लाउ लग ।’ सुमन आफ्नो अफिसको गल्लाबाट पैसा निकाल्दै हातमा राखिदिन्छ ।
‘धन्यवाद यार !, म केही दिनमा फर्काउँछु है ।’

उसले यति भन्न नपाउँदै सुमन भन्छ– ‘ह्या हुन्छ नि एक हजार न हो । धेरै भए पो नाई भन्थे होला म ।’ दुबै एकछिन् हाँस्छन् ।

सुमनले पैसा बुझाउँदै गर्दा उसले आफ्नो लाल खाता निकाल्छ अनि त्यसमा निलमको नाम चडाउँदै एउटा लेजर खोल्छ । ऊ लेख्दै गर्दा उसको लाल खाताको पहिलो पाना हेर्छ अनि त्यसमा केही लेखिएको लिस्ट हुन्छ माथिबाट र त्यही लिस्टको पुछारमा निलमको नाम लेख्दै अन्त्यमा पेज नम्बर ४५ लेख्छ ।
‘के हो यो सुमन ?’ –निलम सोध्छ ।

‘लाल खाता मित्र ।’
‘यति छिट्टै चढायौ त मेरो नाम ?’

‘होइन यार ! हिसाब चुस्तदुरुस्त राख्नु पर्छ । व्यवसाय आफ्नो स्थानमा अनि मित्रता आफ्नो स्थानमा ।’ सुमन फिस्स हाँस्दै निलमलाई सम्झाउँछ ।
‘अनि सुमन यस खातामा त तिम्रो धेरैको नाम रहेछ त ?’ निलम खाताको पहिलो पाना नियाल्दै सुमनतर्फ कौतुहल हुँदै प्रश्न तेस्र्याउँछ ।

‘हो नि यार । धेरै छन् यहाँ मेरो बाँकी उठाउनुपर्ने । तर, खै पैसा लगेपछि पैसा तिर्दैनन् नै अनि सबै सम्बन्ध पनि सिध्याउँछन् ।’ सुमन लामो श्वास फेर्दै कुरा बिस्तार गर्छ ।

ऊ थप भन्छ– ‘अबर प¥यो भनेर चिनजानका आफन्त अनि साथीहरु माग्न आउँछन् । अहिले पैसा छैन मेरो आफ्नै आवश्यकता छ भन्दा पनि आफू कारुणिक प्रस्तुती दिएर मन पगाल्छन् अनि पैसा लिएर जान्छन् । चाडै फर्काउने भनी उनीहरु बाचा गर्छन् । तर, पैसा लगेपछि महिना दुई महिनासम्म आफ्नो अनुहार देखाउँदैनन् । यो लाल खाता उनीहरुकै नाममा राखिएको हो । अहिले त अधिकांश खराब ऋणि बनेर बसेका छन् ।’

‘त्यस्तै हो सुमन । सधैँ सबै एक धारमा बग्छन् भन्ने छैन नि । पैसाको मुख कालो हुन्छ, सम्बन्ध बिगार्छ पैसाले भन्ने कुरा हेक्का राख्नुपर्छ ।’ –निलम सम्झाउँछ ।

‘ल अहिले म निस्किन्छु है सुमन । फेरि भेटौला ।’ –निलम बसेको स्थानबाट जुरुक्क उठ्दै ब्याग बोक्छ अनि आफू जान लागेको संकेत दिन्छ । हुन्छ आउँदै गर न । साँची तिम्रो नयाँ जागिरको कुर के भइरहेको छ ?

ब्याग निकालेर आफ्नो काखमा राख्दै थचक्क कुर्सीमा बस्दै निलम भन्छ– ‘खै यार बोलाउँछु अन्तिम फोन गर्छु भनेको छ । तर, अहिलेसम्म गरेको छैन । फोन आउनुपर्ने हो । लगभग कन्फर्म नै छ भनेको छ । मात्र कहिलेबाट काम गर्ने भनेर पर्खेको छु म ।

निलमले पुरानो जागिर छाडेको पनि करिब पाँच महिना भएको छ । ऊ नयाँको खोजीमा छ । तर, उसलाई जागिर पाउने आशा बल्ल पलाएको छ । उसको मनोवैज्ञानिक भाव हेर्दा लाग्छ उसमा धेरै आशा छ, आवश्यकता छ र आफ्ना आधार पूरा गर्ने चाहना छ । तर, यी सबैका बाबजुत उसको आफ्नो अहिलेको वेरोजगारिताको बाध्यता छ । ऊ नभए त्यति गाह्रो मानेर सुमनसँग पैसा माग्दैन थियो होला ।

‘हुन्छ सुमन म अहिले निस्किन्छु है । फेरि भेटौला ।’ निलम जुरुक्क उठ्दै ब्याग पुनः आफ्नो ढाडमा झुण्ड्याउँछ । अनि सुमनको अफिसबाट बाहिर निस्कन्छ । सुमन उसलाई बिदा दिँदै आफ्नो खाता हरहिसाब मिलाउन ध्यान दिन्छ ।

दिन बित्दै जान्छ निलम क्रमैसँग आफ्नो दैनिकी सुमनको अफिसमा हरेक दिन हाजिर हुँदै गफ गर्दै बिताउँछ । सुमन र निलम बच्चादेखिका साथी हुन् । उनीहरु बीच अनेकौं बिषय र वर्तमान परिस्थितिका बारेमा गफगाफ हुन्छ । सुमन र निलम एकआपसमा भेट्दा आनन्द मानेर समय कटेको पत्तो पाउँदैन । धेरै समय बितिसक्दा न सुमनले त्यो एक हजार सम्झिन्छ न निलमले त्यो एक हजार दिन सम्झ्न्छ । ओझेलमा पर्छ सुमनको एउटा हात्ती ।

विभिन्न कारणबस निलम बाध्य भएर विदेश जान्छ । नेपालमा केही गर्न सकिएन भनेर ऊ खिन्न मन बनाउँदै आफ्नो भिसा लागेको पासपोर्टमा दैनिक नियाल्छ । उसको विदेश बसाई पनि कम्ती कष्टकर रहँदैन । सुमन भने आफ्नो व्यवसायमा निरन्तर लागिरहन्छ । उनीहरु बीच सामाजिक सञ्जालमा आंशिक रुपमा गफगाफ भइरहन्छ । निलम केही बर्षपछि स्वदेश फर्कन्छ ।

उता सुमन भने आफ्नो व्यापारमा नाफा–नोक्सानको हिसाब गर्नुभन्दा पनि खराब लगानी एवम् ऋण उठाउन दिनरात मेहनत गर्छ । उसको बजारमा २०–२५ लाख बराबर डुबेको हुन्छ । सुमनको लालखातामा रातो घेरामा खराब ऋणि भनेर धेरैको नाम दर्ता भएको हुन्छ । निलम घर फर्केर एक दिन सुमनको अफिसमा भेट्न पुग्छ ।

लामो समयको गफगाफ अनि बाल्यकालका क्षण सम्झिँदै दुबै एकछिन मिठो सम्झनामा डुब्न पुग्छन् । अन्य स्थान अनि आफन्तसँग भेटन जान छ भन्दै निलम सुमनसँग बिदा माग्छ । झट्ट केही सम्झे जस्तै गर्दै निलम आफ्नो पेन्टको पछाडि हात पु¥याउँछ ।

पछाडिको खल्तीबाट पर्स निकाल्दै ऊ सुमन तर्फ हेर्छ अनि भन्छ– सुमन तिमी म सँग रिसायौ होला है ? सरी यार मैले तिमीसँग लगेको पैसा पनि तिर्न सकिनँ समयमा । (पर्सबाट एक हजारको नोट निकाल्दै) लाउ यो राख न अनि धन्यवाद तिमीलाई मलाई आवश्यकता पर्दा दिएकोमा ।

एकछिन अगाडि हाँस्दै गरेको सुमन निलमप्रति गहिरो भावमा डुब्दै भन्छ– ‘हैन यार पर्दैन नि यो तिमी नै राख । निलमको हातको पैसा नकार्दै सुमन सानो स्वरमा भन्छ । लाउ न राख मलाई अनि अब तिम्रो लालखाता ाट हटाउँछौ नि ? – निलम जोडले हाँस्छ ।

सुमन निर्लज्ज बन्दै निलमको एक हजार स्वीकार्छ । अनि आफ्नो गल्लामा राख्छ । धन्यवाद निलम तिमीले आज मित्रता झन् प्रगाढ बनायौ भन्ने आभास भयो मलाई । मैले त बिर्सिसकेको थिए । तर, तिमीले आफै सम्झेर मलाई दियौ ।

‘धन्यवाद त म भन्छु यार तिमीलाई । त्यसबेला म सँग पैसा जुटाउन मुस्किल हुन्थ्यो । आफ्नो आवश्यकता पूरा गर्न मैले तिमीलाई माग्दा एक शब्दमा दियौ । नाई भनेको भए सायद मेरो एउटा काम समयमा गर्न सक्दिनँ थिए । त्यसैले तिमीलाई धन्यवाद । अब म जान्छु है । अलिक दिनमा गेट टुगेदर गर्नुपर्छ ।’ हात मिलाउँदै सुमनसँग निलम बिदा माग्छ ।’

सुमन निलमलाई बिदा गर्दै आफ्नो कुर्सीमा बस्छ अनि डेबुक (दिनिकी खाता)मा एक हजार आएको देखाउँदै शिर्षक राख्छ ‘ईमान्दार ऋणि’ ।

हुन पनि वर्तमान समयमा लाखौ पैसा अरु ऋणिले नतिर्दा सुमनले त्यो एक हजारको बेग्लै आनन्द पाएको छ । मित्रतासहित उसले असल ऋणि भेटाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here