बहुमत नपुगेपछि भद्रपुर नगर सभाको १२ औं अधिवेशन स्थगित

0
50

पार्थ मण्डल 

झापा , भद्रपुर नगर सभाको १२ औं अधिवेशन शुक्रबार स्थगित भएको छ ।

नेकपा (एमाले) र राप्रपाका बहुमत जनप्रतिनिधिहरूले नगरपालिकाको निर्णयप्रति असन्तुष्ट जनाउँदै नगर सभा बहिष्कार गरेसँगै १२ औं अधिवेशन स्थगित भएको हो । नगर कार्यपालिकाको निर्णय बमोजिम शुक्रबार नगर सभा डाँकिएको थियो ।

कार्यपालिका बैठकमा निर्णय भए बमोजिम नगर सभाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै नगरपालिकाले शुक्रबार अतिआवश्यक बाहेक सम्पूर्ण सेवाहरू बन्द गरेका थिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले बिहान ११ ः १५ बजे सभा सुचारु गर्दै सभा हलमा पालना गर्ने नीति नियमको बारेमा जारी गराएका थिए । नगर प्रमुख गणेश पोखरेल साढे ११ बजे नगर सभा सुचारु गर्न हलभित्र प्रवेश गरेका थिए ।

नगर प्रमुख पोखरेल हलभित्र प्रवेश गर्दा नेकपा (एमाले) र राप्रपाका बहुमत जनप्रतिनिधिबाहेक २१ जना मात्र उपस्थिति थिए ।

त्यसपछि नगर प्रमुख पोखरेल सभा हलमा १५ मिनेटसम्म उहाँहरुलाई कुर्दै बसेका थिए । उहाँहरु सभामा उपस्थिती नभएपछि नगर प्रमुख पोखरेलले हलभित्र २१ जना जनप्रतिनिधि मात्र उपस्थिति भएकोले बहुमत सङ्ख्या नपुगेकोले भोलि शनिवार बिहान ११ बजेका लागि नगर सभा स्थगन भएको घोषणा गरेका थिए ।

राप्रपाबाट निर्वाचित उपप्रमुख राधा कार्की र ५ नम्बर वडा सदस्य जेष्ठमल ठाकुरसहित काँग्रेसका जनप्रतिनिधि मात्र सभामा सहभागी भएका थिए ।

राप्रपाका दुई वडा अध्यक्षहरू हेमबहादुर कार्की, अभिषेक ढुङ्गानासहित एमालेका जनप्रतिनिधिहरू अनुपस्थिति थिए । एमालेका कार्यपालिका सदस्य विवेक राजवंशीका अनुसार नगरको कार्यपालिका बैठकमा हाम्रो बहुमत हुँदाहुँदै विपक्षी दलका जनप्रतिनिधिहरूले हाम्रो माग सुनवाइ नगर्दा पार्टीको निर्देशन बमोजिम नगर सभा बहिष्कार गरेको बताए ।

कार्यपालिका बैठकमा नगर शिक्षा समिति ऐन संशोधन गरी कार्यपालिका बैठकले तोके बमोजिम शिक्षा समिति संयोजक तोक्नुपर्ने, प्रधानमन्त्री स्वरोजगारमा कार्यक्रममा सहभागीहरूलाई बैंकिङ्ग प्रणालीमार्फत भुक्तानी दिनुपर्ने माग राखेको बताउँदै कार्यपालिका सदस्य राजवंशीले भने, ‘ती मागहरू नगर प्रमुखसहित विपक्षी दलका जनप्रतिनिधिहरूले मानेनन्, त्यही भएर हामीले नगर सभा बहिष्कार गरेका हौँ ।’ माग सम्बोधन नभएसम्म नगर सभामा भाग नलिने उनको भनाई छ ।

नगर शिक्षा समितिको ऐनमा उल्लेख भए बमोजिम शिक्षा समितिको संयोजक नगर प्रमुख हुने कानुनी प्रावधान रहेको छ । अघिल्लो कार्यकालमा एमालेबाट निर्वाचित निवर्तमान नगर प्रमुख जीवनकुमार श्रेष्ठ शिक्षा समितिका संयोजक थिए ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीका अनुसार नगर शिक्षा ऐन संशोधन गर्नुपर्ने उहाँहरूको माग रहेको बताए । त्यस बारेमा उहाँहरूसँग छलफल भइरहेको उनको भनाई छ ।

नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै नगर सभाको १२ औ अधिवेशनमा सहभागी हुन सम्पूर्ण कार्यपालिका, वडा अध्यक्ष, वडा सदस्यहरूलाई जानकारी गराइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here