पाँच दिने विपद् अभ्यास हातेमालो कार्यक्रम

0
55
मोरङ,
नेपाली सेनाको मोरङ थलाहस्थित भैरव गणले आयोजना गरेको विपद् व्यवस्थापनसम्बन्धी पाँचदिने ‘अभ्यास हातेमालो–५’ आज सम्पन्न भएको छ ।
विपद् व्यवस्थापनसँग सम्बन्धित निकायको काम, कर्तव्य, जिम्मेवारी, क्षमता र तयारीका बारेमा एकआपसमा जानकारी आदान गर्ने उद्देश्यले हातेमालो कार्यक्रम सञ्चालन गरिएको हो ।
जिल्लामा हुने बाढी, पहिरो, डुबान, आगलागी तथा भूकम्पका समयमा जनधनको क्षतिको न्यूनीकरण एवं राहत र उद्धारका कार्यमा विपद् व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण निकायलाई समन्वयात्मक ढङ्गबाट परिचालन लागि अभ्यास कार्यक्रमको आयोजना गरिएको गणका गणपति प्रमुख सेनानी अमृत थापा मगरले जानकारी दिनुभयो ।
पाँचदिने अभ्यासका क्रममा सरोकारवाला निकायलाई अभ्याससम्बन्धी जानकारी दिनुका साथै सरोकारवाला निकायका काम कर्तव्य, जिम्मेवारी, क्षमता र तयारीका बारेमा प्रस्तुतीकरण गरिएको थियो ।
विपद्को काल्पनिक परिस्थितिको परिकल्पनाका आधारमा सहभागीहरुबीच समूहगत विभाजन गरी उक्त परिस्थितिमा के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरिएको सेनानी थापा मगरले बताउनुभयो ।
अभ्यासमा जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय मोरङ, नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, विराटनर महानगरपालिका, कटहरी र धनपालथान गाउँपालिकाले विपद् एवं राहत तथा उद्धार सम्बन्धी प्रदर्शन गरेका थिए ।
समापन समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले यस प्रकारको कार्यक्रमले क्षमता विकास भई विपद्को समयमा उद्धारमा सहयोग पुग्ने बताउनुभयो ।
सेनाका थलहाका गणपति प्रमुख सेनानी थापा मगरले विपद्को समयमा छिटोछरितो किसिमले उद्धार गरी जनधनको क्षति न्यूनीकरण अभ्यासले सहयोग पुग्ने विचार राख्नुभयो ।
कार्यक्रममा बाढीपहिरा आएको अवस्थामा गरिने उद्धारको पूर्व अभ्यास तथा उद्धारका लागि प्रयोग गरिने सामग्रीको प्रदर्शन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here