कनकाईमा ६० कीमी सडक कालोपत्रे

0
53

उमानाथ भण्डारी,
कनकाई ।

झापाको कनकाई नगरपालिकामा ६० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको छ ।

राज्य पुनः संरचनापछि पहिलोपटक निर्वाचित जनप्रतिनिधि आउँदा नगरपालिकामा जम्मा १५ किलोमिटर मात्र सडक कालोपत्रे थियो । निर्वाचित जनप्रतिनिधिको दोश्रो कार्यकालको चालूआर्थिक वर्ष सम्ममा नगरपालिकामा ६० किलो मिटरभन्दा बढी सडक कालोपत्रे भएको छ ।

नगरपालिकाले चालू आर्थिक वर्षमा मात्र ४ हजार ३ सय ८७ मिटरभन्दा बढी सडक कालोपत्रे गरेको छ । जसअन्तर्गत वडा नम्वर १, २, ३ र ४लाई जोड्ने ३ सय ११ मिटर लम्वाइ रहेको पञ्चायत मार्ग, वडा नम्वर ३मा पर्ने ४ सय ८० मिटर लम्वाइको रिङ्गरोड, वडा नम्वर ५मा १ हजार २१ मिटर लम्वाइ रहेको फेचाहोली लगायत एक दर्जन सडकमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।

९ किलोमिटरभन्दा बढी सडकमा पेवर्स लगाउने काम सम्पन्न भएको छ भने सडक निर्माणका साथै अन्यक्षेत्रलाई समेत उत्तिकै ध्यानमा राखेर काम गरिरहेको बताइएको छ । जसअन्तर्गत नगरबाट निस्किएको फोहोरलाई मोहर बनाउनका लागि कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जाको काम अन्तिम चरणमा पुगेको र यसै आर्थिक वर्षभित्र ग्यास उत्पादन भई विक्री–वितरण गरिने नगरपालिकाले जनाएको छ ।

त्यस्तै बर्खाको समयमा बाढीबाट हुने क्षति न्यूनीकरणका लागि वडा नम्वर २स्थित कनकाई नदीमा तटबन्धको काम भइरहेको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले बताए । जनतालाई सेवासुविधा उपलब्ध गराउन र आर्थिक तथा सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्न आवश्यक भौतिक, मानवीय, प्राकृतिक, आर्थिक तत्वलाई ध्यानमा राखेर नगरपालिकाले पूर्वाधारका क्षेत्रमा काम गरिरहेको उनले बताए ।

नगरवासी आम जनताको भावना अनुसार काम गर्दैछौं, अधिकांश जनताको माग भनेकै सडक विस्तार रहेको छ । त्यसलाई प्राथमिकतामा राखेर काम गर्दैछौं । त्यस्तै स्वास्थ्य र शिक्षा, ज्येष्ठ नागरिक भवनलाई समेत प्राथमिकतामा राखेर काम भइरहेको छ भने जनताका हरेक आवश्यकतालाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधारका क्षेत्र काम गरिरहेको उपमेयर आशा शिवाकोटीले बताइन् ।

कनकाई नगरपालिकाले चालूआर्थिक वर्षमा बजेट, नीति तथा कार्यक्रममा समेटेका योजनाहरुमध्ये ९५ प्रतिशत योजना सम्पन्न भएका छन् । नगरको विकासमा प्रत्यक्ष सरोकार राख्ने पूर्वाधार क्षेत्र भएकोले यसलाई प्राथमिकतामा राखेकाछौं । सडक, कल्भर्टका साथै शैक्षिक क्षेत्रमा समेत उल्लेखनीय काम गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने बताउँछन् ।

शिक्षातर्फ : कनकाई नगरपालिकालाई शैक्षिक गन्तव्य बनाउन नगरपालिकाले काम गरिरहेको छ । नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधारतर्फ धेरै काम गरेको बताइन्छ । केन्द्र, प्रदेश र पालिकाबाट प्राप्त बजेटले विद्यालयमा पक्की भवन निर्माणको काम भइरहेको छ । जसअन्तर्गत वडा नम्वर ७ मा रहेको भृकुटी माध्यमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४५ लाख रुपैयाँको लागतमा ४ कोठे पक्की भवन निर्माणको काम भइरहेको छ । त्यस्तै वडा नम्वर २स्थित जानकी आधारभूत विद्यालयको ४ कोठे पक्की भवन निर्माणको काम हुँदै छ ।

वडा नम्वर ३ स्थित कनकाई बहुमुखी क्याम्पसमा पुस्तकालय स्थापना र स्मार्ट वोर्ड जडान गर्ने काम सम्पन्न भएको छ भने वाड नम्वर ३ स्थित जनचेतना आधारभूत विद्यालयमा समेत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट २ कोठे पक्की भवन निर्माणको काम भइरहेको छ । यसका साथै आसीटी ल्याव, पुस्तकालय लगायतका शैक्षिक सुधारका काम समेत भइरहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्वर गौतमले जानकारी दिए ।

नगरभित्र बसोवास गर्ने विभिन्न जातजातिको संरक्षणमा समेत नगरपालिका लागीपरेको छ । यसका लागि वडा नम्वर ९मा तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत कोच राजवंशी संग्रहालयको भवन निर्माणको काम हुँदैछ भने मुख्य सडकबाट त्यहाँसम्म

जाने सडकमा पेवर्स लगाउने काम सम्पन्न भएको छ । त्यस्तै कृषकले उत्पादन गरेको कृषि उपजलाई व्यवस्थित गरी विक्री–वितरण गर्ने उद्देश्यले वडा नम्वर ३ मा कृषि टहरा निर्माणको काम अन्तिम चरणमा पुगेको नगरपालिकाकी प्रशासकीय अधिकृत जमुना कटुवालले जानकारी दिइन् ।

स्वास्थ्यतर्फ : कनकाई नगरपालिकाले हरेक नगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा पुर्याउनका लागि वडा नम्वर ३ मा कनकाई नगर अस्पताल सञ्चालनमा ल्याएको छ । सामान्य बिरामीको मात्र उपचार हुने यस अस्पतालमा बिरामीको सम्पूर्ण परीक्षणसहित उपचार हुन थालेको छ ।

अस्पताललाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउनका लागि लिफ्टसहितको नयाँ भवन निर्माणको काम धमाधम भइरहेको नगरपालिकाले जनाएको छ । अस्पतालको सेवा सहज र सरल भएपछि अस्पतालमा सेवाग्राहीको संख्या दिनप्रतिदिन बढी रहेको अस्पताल प्रशासनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here