काठमाण्डाै, 
कोशी प्रदेशमा सरकार गठनको अन्तिम संवैधानिक विकल्पमा पनि विवाद हुने सङ्केत देखिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले बहुमत पुर्याउन सक्ने सांसदले भोलि शुक्रवारसम्म मुख्यमन्त्रीमा दाबी गर्न सक्ने गरी समय दिनुभएको छ । तर आज बिहीवारसम्म कुनै पनि सांसदले बहुमत पुर्याउन सकेका छैनन् ।
आज सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का इन्द्र आङ्बोले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले कोशीमा सरकार गठनका लागि अन्तिम विकल्पका रूपमा माओवादीका प्रदेश संसदीय दलका नेतासमेत रहेका आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो । यसअघि कांग्रेसका उद्धव थापा दुई पटकसम्म मुख्यमन्त्री बने पनि विश्वासको मत जुटाउन असफल हुनुभएको थियो ।
आङ्बोले कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गर्नुभएको हाे । तर नेपाली कांग्रेसका सांसद केदार कार्कीले पनि कांग्रेसका आठ जना र एमालेका ४० जना सांसदको हस्ताक्षरसहित दाबी पेस गर्नुभएको छ । कार्कीले एमालेकी उपसभामुखको समेत हस्ताक्षर पेस गरेको भन्दै गठबन्धनले विरोध गरेको छ । एमालेले आफ्नो नेतृत्वमा सरकार गठनको सम्भावना नरहेको अवस्थामा कांग्रेसलाई समर्थन गर्ने बताएको छ । त्यसैले शेखर कोइराला पक्षका केदार कार्कीले दाबी पेस गर्नुभएको हो ।
कोशीमा सरकार गठनका लागि यो नै अन्तिम विकल्प भएकाले दलहरूले आफ्ना सांसदलाई ‘ह्विप’ लगाउन पाउने छैनन् । बहुमत पुर्याउन सक्ने सांसदले सरकार गठन गर्न सक्नेछन् । माओवादीले आफूहरूले बहुमत जुटाउने दाबी गर्दै आएको छ । यसका लागि प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटिसक्नुभएको छ । गठबन्धनलाई सरकार गठनमा सघाएमा कोशी प्रदेशको सभामुख राप्रपालाई दिन पनि दलहरू सहमत भएका छन् । तर राप्रपाले औपचारिक निर्णय गरेको छैन ।
एमालेका तर्फबाट मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले भोलि शुक्रवार साँझसम्म मुख्यमन्त्रीको नाम सिफारिस गर्न समय दिनुभएको छ । यस पटक पनि बहुमत नजुटेमा प्रदेशसभा नै विघटन हुन्छ । बहुमतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । कोशीमा गठबन्धनमा रहेका नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टी (जसपा) का एक जना सांसद छन् । एमालेका ४० जना सांसद छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छ जना सांसद छन् ।- उज्यालो अनलाइनबाट



























