हात्तीका कारण जलथल जंगल आसपासका बासिन्दालाई त्रास, मन्त्रीलाई ज्ञापनपत्र

0
5

झापा ।

चारकोशे जलथल जंगलमा रहेका रैथाने जंगली हात्तीले मानवीय तथा भौतिक क्षति पुर्‍याइरहेको भन्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईको ध्यानाकर्षण गराएका छन्।

झापाको दक्षिणी पालिकाहरूको अवलोकन भ्रमण गर्ने क्रममा शनिबार हल्दिबारी पुगेका मन्त्री राईलाई पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरूले जंगली हात्तीले पुर्‍याउँदै आएको मानवीय तथा भौतिक क्षतिका बारेमा जानकारी गराउँदै ज्ञापनपत्र बुझाएको छ।

जलथल जंगल आसपास बस्तीका बासिन्दा हात्तीको डर र त्रासले बाचिरहेका बारेमा मन्त्री राईलाई भेटेरै अवगत गराउनुका साथै लिखित रूपमै ज्ञापनपत्र बुझाएको पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सागर पोर्तेलले जानकारी दिए।

हात्ती आतंक रोकथाम तथा न्यूनीकरणका लागि दिगो व्यवस्थापनको प्रबन्ध र जंगल वरिपरि जडित विद्युतीय तारवार तत्काल मर्मत सम्भारको व्यवस्था मिलाई दिन मन्त्रीलाई आग्रह गरिएको उनले बताए। हात्ती आतंकको बारेमा प्रदेश सरकारको ध्यानाकर्षण भएको र यसको दिगो व्यवस्थापनको लागि तुरुन्त पहल गर्ने मन्त्री राईले आश्वासन दिएको उनको भनाइ छ।

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मी मैनाली, ४ नम्बर वडाध्यक्ष सन्तकुमार थापा, १ नम्बर वडाध्यक्ष देवी थापा लगायतको उपस्थिति रहेको थियो। गत मङ्सिर १५ गते हात्तीले वनपालेको ज्यान लिएको थियो। रणकाली सामुदायिक वन जलथलका चौकीदार हल्दीबारी–३ निवासी ४० वर्षीय धनबहादुर बनको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।

हात्तीले उनलाई लछारपछार गर्दै जंगलभित्रै कुल्चिएर मारेका थिए। त्यस्तै जलथल जंगलबाट निस्किएको हात्तीले पुस ४ गते हल्दीबारी गाउँपालिका–२ निवासी अन्दाजी ५५ वर्षीय पाथल राजवंशीको ज्यान लियो। राजवंशी हल्दिबारी २ नम्बर वडा कार्यालयमा कार्यालय सहयोगीमा रुपमा कार्यरत थिए। बिहान ४ बजे मर्निङ वाक गर्न घरबाट निस्किएका उनलाई हात्तीले आक्रमण गरी मारेका थिए। जिल्ला चालु आर्थिक वर्षमा हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here