शनिश्चरे–अर्जुनधारा खानेपानीको २९औं सभा सम्पन्न

0
8

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २९औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

समितिको कार्यालय प्राङ्गणमा समितिका अध्यक्ष किरण शिवाकोटीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य एवम् पूर्व मन्त्री केशवकुमार बुढाथोकीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा समितिका अध्यक्ष शिवाकोटीले संस्थाको गत आर्थिक वर्ष ०७९÷०८०को प्रगति प्रतिवेदन र सदस्य राजेन्द्र काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा समितिले अर्जुनधारा–५, ६, ७, ८, ९ नं. वडाका विभिन्न स्थानमा पाइपलाइन तथा मिटर पाइप विस्तार, कार्यालय परिसरमा सीसी क्यामेरा जडान तथा पेभर्स विच्छ्याउने, कर्मचारीहरुको लागि विद्युतीय हाजिरी मेसिन जडानलगायतका कार्यहरु गरेको उल्लेख गरिएको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा एक करोड १७ लाख २३ हजार नौ सय २१ रुपैयाँ ३९ पैसा आम्दानी गरेको संस्थाले चालु आर्थिक वर्ष ०८०÷०८१मा अनुमानित एक करोड ४४ लाख १० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । त्यस्तै गत आर्थिक वर्षमा ९५ लाख ७० हजार तीन सय ४९ रुपैयाँ ९० पैसा खर्च गरेको संस्थाले चालु आर्थिक वर्षमा अनुमानित एक करोड २२ लाख ४२ हजार तीन सय २३ रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ ।

यता संस्थाको चालु आर्थिक वर्ष मंसीर मसान्त सम्मको जम्मा आम्दानी ३३ लाख ९९ हजार सात सय १९ रुपैयाँ तीन पैसा र जम्मा खर्च २६ लाख २३ हजार चार सय १७ रुपैयाँ नौ पैसा उल्लेख गरिएको छ । कार्यक्रममा अर्जुनधारा–९का वडाध्यक्ष भीष्म मिश्र, समितिका निवर्तमान अध्यक्ष शंकर सुवेदी, सल्लाहकार सदस्य प्रेमसागर सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिका उपाध्यक्ष किरण वनले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य काफ्लेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here