दलालहरुको कारण बैदेशिक रोजगारीको नाममा ठगी धन्दा मौलायो

0
125

झापा ।

बैदेशिक रोजगारीमा पठाउने गाउँघरका एजेन्ट भनाउँदा दलालहरुको कारण प्रहरी, प्रशासनमा उजुरी पर्ने क्रम बढेर गएको जनाइएको छ ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले मंगलबार जिल्ला प्रशासन कार्यालय झापामा आयोजना गरेको वैदेशिक रोजगारीका लागि प्रहरीहरूसँग अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।

जिल्लामा ७५ प्रतिशत वैदेशिक रोजगारी सम्बन्धी उजुरी एजेन्ट भनाउँदा दलालहरुकै नाममा पर्दो रहेछ । म्यानपावरहरुले एजेन्ट राख्नै पाइँदैन । कमिशनको लोभमा उनीहरुकै कारण बैदेशिक रोजगारीमा जाने नेपाली युवायुवतीहरु अनेकौं समस्या झेलेर फर्किनु परेको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाईले बताए । यी समस्या हुन नदिन प्रहरीले जनचेतना मुलक अभियान थाल्नु पर्ने उनको धारणा छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले प्रहरी, प्रशासनमा उजुरी आउने क्रम अझै रोकिएको छैन । थाहा हुनेले यहाँ आएर उजुरी दिन्छन्, थाहा नहुनेले बाहिरै बाहिर घटना मिलाएर जान्छन्, प्रजिअ बास्तोलाले भने, ‘प्रशासनमा उजुरी दिने कानुनी व्यवस्था छ, त्यस्तो वातावरण प्रहरीले बनाइदिए यस्ता घटनामा कमी आउने थियो ।’

अबदेखि जिल्लामा रहेका प्रहरी कार्यालयका इञ्चार्जहरुले पनि बैदेशिक रोजगारीको समस्या लिएर आएको व्यक्तिको विवरण संकलन गरी राख्नुपर्ने र तुरुन्त सामीलाई जानकारी गराउन उनले आग्रह गरे ।

भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सामी÷हेल्भेटासका कार्यक्रम अधिकृत रोहित विश्वकर्माले बैदेशिक रोजगारको अवस्था, ऐन, नीति तथा बैदेशिक रोजगारीको उजुरी, समस्या समाधानमा प्रहरी र सामीको भूमिका बारेमा जानकारी गराएका थिए ।

आप्रवासी स्रोत केन्द्र झापामा वैदेशिक रोजगारी समस्याबाट पीडित भएका ११८ जनाले उजुरी दिएका छन् । चालु आर्थिक वर्षको हालसम्म परेको उजुरीमध्ये ९५ वटा मुद्दा अझै प्रक्रियामा रहेको छ ।

२३ वटा मुद्दा समाधान गरी ४७ लाख ९० हजार रकम असुलउपर गर्न सफल भएको सामीका सामाजिक परिचालन अधिकृत शेखर बुढाथोकीले बताए । उनका अनुसार म्यानपावरबाट ठगिएका, पासपोर्ट खोसिएका, विदेशमा पुगेर मेडिकल फेल भएका, फरक कामको प्रकृतिका काम लगाइएका व्यक्तिहरूले आप्रवासी स्रोत केन्द्रमा उजुरी दिएको उनले बताए ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८०मा १३० मुद्दा दर्ता भई ४० वटा मुद्दा फर्छ्यौट भएको र त्यसवापत ३८ लाख ४५ लाख रुपैयाँ असुलउपर गर्न सफल भएको उनले बताए । कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, प्रहरी कार्यालय झापाका एसपी मिलन केसी, भद्रपुरका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here