दुर्घटना न्यूनीकरण गर्न ‘ट्राफिक प्रहरीको पाँच मिनट’ अभियान

0
5
झापा  ।  सवारी दुर्घटना न्यूनीकरणका लागि झापामा प्रहरीले ‘दुईपाङ्ग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनट’ अभियान सञ्चालन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज न्यौपानेले दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा बढी मोटरसाइकलका यात्रु हुने गरेकाले दुईपाङ्ग्रेका चालकलाई लक्षित गरी अभियान सुरु गरिएको बताउनुभयो । यही वैशाख १२ गते शिवसताक्षीको झिलझिलेबाट कनकाई नदीमा नुहाउन एकाबिहानै गएका तीन युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । युवाहरु सवार मोटरसाइकल विपरीत दिशाबाट आइरहेको बोलेरो जिपसँग ठोक्किएको थियो ।
उक्त दुर्घटनामा परी कमल–४ का २५ वर्षीय मौसम राई, २० वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मीको मृत्यु भएको थियो । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा झापामा सवारी दुर्घटनामा ५३ जनाको मृत्यु भएको थियो । त्यसमध्ये मोटरसाइकल दुर्घटना भएका कारण मृत्यु हुने ३९ जना रहेको न्यौपानेले जानकारी दिनुभयो । उक्त अवधिमा चार सय ६३ सवारी दुर्घटना भएकामा मोटरसाइकलको सङ्ख्या दुई सय ८८ रहेको थियो ।
“मोटरसाइकल दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ”, उहाँले भन्नुभयो, “सवारी चालकलाई सजग गराउँदा दुर्घटना न्यूनीकरण हुन्छ भन्ने सोचेर ट्राफिक प्रहरीसँग पाँच मिनट अभियान चलाएका हौँ ।” अभियानलाई पूर्वपश्चिम राजमार्गमा केन्द्रित गरिएको छ । अभियानअन्तर्गत ट्राफिक प्रहरीको टोलीले गुडिरहेका मोटरसाइकललाई किनारामा रोकेर चालकलाई पाँच मिनेट सवारी नियम र सुरक्षासम्बन्धी प्रशिक्षण दिने गरेको छ ।
साँघुरो सडक, अत्यधिक सवारी चाप र तीव्र गति नै मोटरसाइकल दुर्घटनाको मुख्य कारण देखिएको छ । कान छोपिने हेल्मेट लगाउन, मदिरा सेवन गरेर सवारी नचलाउन र तीव्र रफ््तारमा नकुदाउन जिल्लाका ट्राफिक प्रहरी प्रमुख न्यौपानेले आग्रह गर्नुभएको छ ।
अभियानमा खटिएका प्रहरीले मोटरसाइकलका चालकलाई दुर्घटना हुनै नदिने उपायका लागि आवश्यक सतर्कताका बारेमा सङ्क्षिप्त प्रशिक्षण दिने गरेका छन् । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेमा २५ वर्षमुनिका युवाको सङ्ख्या उल्लेख्य रहेको प्रहरीको भनाइ छ । लागू पदार्थ र मदिरा सेवन गरेर मोटरसाइकल हाँक्ने व्यक्ति दुर्घटनाको उच्च जोखिममा पर्छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here