नमोबुद्ध–तेमाल सडक छेउका संरचना भत्काउन छ महिना समय थप

0
6

काभ्रेपलाञ्चोक,

निर्माणाधीन नमोबुद्ध–तेमाल सडकअन्तर्गत तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानमा मापदण्ड विपरीत बनाइएका भौतिक संरचना भत्काउन छ महिनाको समयसीमा थपिएको छ । उक्त क्षेत्रका ५९ घरटहरा तथा अन्य भौतिक संरचना भत्काउन गाउँपालिका र स्थानीय व्यवसायीबीच छ महिना समय थप्ने सहमति भएको हो ।

सडक दायाँबायाँ सार्वजनिकस्थलमा बनाइएका संरचना भत्काएर खाली गरिदिन यसअघि गाउँपालिकाले गत चैतमा ३५, १५ र सातदिने सार्वजनिक सूचना जारी गर्दै आएको थियो ।

स्थानीय व्यवसायीले थप समयसीमाका लागि लिखितरुपमा माग गरेपछि सरोकार भएका व्यक्तिबीचको छलफलपछि समय थप्ने सहमति भएको गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले बताउनुभयो । सडक विस्तारसँगै सुन्दर तेमाल निर्माण गर्न व्यवसायीले देखाउनुभएको चाहनाअनुसार घरधनी आफैँले छ महिनाको समयसीमा माग गरेपछि दिइएको उहाँले बताउनुभयो ।

हाल बिपी राजमार्गअन्तर्गत नमोबुद्धनगरस्थित भकुण्डेचोकबाट नारायणस्थान हुँदै तेमाल गाउँपालिकाको मेच्छेसम्मको दुई खण्ड १३ किलोमिटर स्तरोन्नतिसहित पक्की बनाउने कार्य भइरहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । नारायणस्थानमा सार्वजनिक जग्गा कब्जा गरी पक्की संरचना निर्माण गरिएको थियो । विसं २०५५ मा भकुण्डे–मेच्छे सडक निर्माणका क्रममा स्थानीयले घर बनाउन थालेका उहाँको भनाइ छ ।

नारायणस्थानमा रहेको सार्वजनिक पोखरीमा वरिपरि निर्माण गरिएका पक्की संरचना हटाई पहिलाकै अवस्थामा ल्याउने प्रयास भइरहेको गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाद्वारा जारी सूचनामा थप गरिएको समयसीमाभित्र आफैँले भत्काउन अटेर गरे पालिकाले भत्काउने उल्लेख गरिएको छ ।

स्थानीय तेमाल सिं तामाङलगायत केहीले विसं २०५९ पछि सो क्षेत्रमा पक्की घर निर्माण गर्नुभएको थियो । “पक्की संरचना पहिला नै बनाएका थियौँ । अहिले पालिकाले अतिक्रमित सार्वजनिक फिर्ता लिने पहल थालेको छ”, उहाँले भन्नुभयो, “पालिकाले दिएको समयमा थप छ महिना माग गरेका छौँ । अब जोगाउन सकिने सामग्री जोगाएर घर भत्काउनेछौँ ।”

तामाङले कतिपय स्थानीयको बसोबासको व्यवस्था गर्नुपर्ने भएकाले जनप्रतिनिधिलाई संवेदनशील बन्न आग्रह गरिएको बताउनुभयो । पालिकाले थपेको समयभित्र अवैध संरचना हटाएर सबैले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सडक डिभिजन कार्यालय भक्तपुरले भकुण्डेबाट मेच्छेसम्म दुई खण्डमा १३ किमी सडक कालोपत्र गर्नेगरी विसं २०७९ साउन १६ गते निर्माण कम्पनी केएस देवी रमन÷तेज जेभीलाई रु २० करोड ८९ हजारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार दुई वर्षभित्र सडक छेउमा पर्खाल लगाउने, नाली निर्माण गर्ने, सवबेस (माटो, बालुवा र गिट्टीको मिश्रण), कालोपत्रलगायत काम गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here