तीन लाख ८३ हजार पशु चौपायालाई खोप

0
2

अत्तरिया (कैलाली),

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीले तीन लाख ८३ हजार सात सय पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको छ । विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा जिल्लाका १३ वटै स्थानीय तहका भैँसी, राँगा, गाईगोरु, बाख्रालगायत पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको हो ।

एक लाख ४१ हजार छ सय गाईगोरु र भैँसी र राँगालाई खोरेतविरुद्धको खोप तथा एक लाख ९६ हजार भेडाबाख्रालाई पिपिआर खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा हेमराज अवस्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार २१ हजार एक सय बङ्गुरलाई क्लासिकल स्वाइन फिवर, १० हजार गाईगोरुलाई लम्पीस्किनविरुद्धको खोप र १५ हजार स्थानीय जातका कुखुरालाई रानीखेत खोप लगाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ४१ हजार खोरेतविरुद्धको खोप, एक लाख ७० हजार पिपिआर, २५ हजार क्लासिकल स्वाइन फिवर, २३ हजार लम्पीस्किनविरुद्धको खोप र एक लाख रानीखेत खोप लगाउने लक्ष्य छ ।

“हामीले पाँच लाख ५९ हजार पशुचौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाउने लक्ष्य राखेका थियौँ । तर लक्ष्यमा पुग्न सकिएन्”, उहाँले भन्नुभयो, “खोपका लागि मौसम पनि उपयुक्त चाहिन्छ । किसानको समय पनि मिल्नुपर्छ । यी यावत् कारणले खोप लक्ष्यमा पुग्न नसकेको हो ।”

खोप कार्यक्रम सञ्चालन गर्न जिल्लाभरि ६५ जना पशु प्राविधिक खटिएको प्रमुख डा अवस्थीको भनाइ छ । आव २०७९÷८० मा विज्ञकेन्द्रले जिल्लाका सबै स्थानीय तहका पाँच लाख ५३ हजार तीन सय ९१ पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here