देवहूति महाकाव्य संक्षिप्त चर्चा

0
260

१. थालनी

कवि मित्रप्रसाद दाहालद्वारा लिखित ‘देवहूति’ महाकाव्य मिति २०८०/०३/२५ गते कन्काई प्रतिभा प्रतिष्ठान, सुरुङ्गा झापाको ब्यानरमा सार्वजनिक भयो । नेपाली साहित्य परम्परामा ‘चन्द्रहंश’ आदि चारवटा महाकाव्य, खण्डकाव्य, शोककाव्य, कविता सङ्ग्रह र कथा सङ्ग्रहको लेखन प्रकाशन गरिसकेका दाहालले आफू चौरासी वर्ष लागेपछि ‘देवहूति’ महाकाव्यको रचना प्रारम्भ गरी पचासी वर्ष लाग्दा लाग्दै यसको विमोचन गर्न सफल बने । श्रीमद्भागवत महापुराणको तृतीय स्कन्धको कर्दम, देवहूति र कपिलको कथा संवादबाट विषयवस्तु चयन गरी प्रस्तुत महाकाव्यको रचना भएको छ । त्यसैले यो महाकाव्य पौराणिक स्रोतमा आधारित महाकाव्य बनेको छ । काव्य पौराणिक भए पनि कविले यसमा मौलिकताका प्रशस्त छनक अभिव्यक्त गरेका छन् । यहाँ यसै काव्यमाथि परिचयात्मक टिप्पणी प्रस्तुत गरिएको छ ।
२. देवहूति : संरचनात्मक चिनारी

प्रस्तुत महाकाव्य लघुआयामिक संरचनाको रहेको छ । यसमा यथोचित रूपमा भूमिका लेखन, प्रकाशकीय लेखन र लेखकीय मन्तव्य तथा समर्पण पृष्ठ समेत रहेका छन् । पछिल्ला केही पृष्ठमा भागवत प्रसिद्धि, गायत्री मन्त्रचर्चा, लेखक परिचय र लेखकका बारेमा भएका शोधकार्यको सूचना प्रदान गरिएको छ ।

२.१ बाह्य संरचना

मूलतः महाकाव्यको सर्गविभाजनको प्रारम्भबाट यसको बाह्य संरचना मानेर यहाँ त्यसका बारेमा थप स्पष्ट पारिन्छ । यसरी हेर्दा यो महाकाव्य १२३ पृष्ठका अठार सर्गमा संरचित छ । वार्णिक छन्दमा आधारित ८८४ वटा श्लोक रहेको यस महाकाव्यमा १५ वटा छन्दको प्रयोग भएको देखिन्छ । तिनमा मत्ता, इन्दिरा र इन्द्रवज्रा १÷१ वटा, शालिनी र स्वागता २÷२ वटा, चित्रलेखा ३, पञ्चचामर ५, द्रुतविलम्बित ६, भुजङ्गप्रयात र शिखरिणी ७÷७, स्रग्धरा १८, वसन्ततिलका ४९, शार्दूलविक्रीडित १६१ र अनुष्टुप्का ६०७ श्लोक गरी जम्मा यहाँ ८८४ वटा श्लोक रहेका छन् ।
२.२ आन्तरिक संरचना

‘दवहूति’ महाकाव्यमा प्रयुक्त कथावस्तु झिनो छ । यसको सर्गगत कथ्य सन्दर्भलाई यहाँ सङ्क्षेपमा व्यक्त गरिन्छ । सर्ग एकमा नमस्कारात्मक, आशीर्वादात्मक र वस्तुनिर्देशनात्मक तीनै प्रकारका मङ्गलाचरणका साथ भागवत कथाको भावानुवाद गर्न लागेको प्रसङ्ग उल्लेख छ । सर्ग दुईमा नारायणको महिमा, कर्दमले पत्नीप्राप्तिका लागि तपस्या गरेको र पुत्रप्राप्ति हुने सङ्केतलाई देखाइएको छ । सर्ग तीनमा सरस्वती किनारको कर्दम निवासमा स्वायम्भूव मनुले छोरी देवहूति दिने वाचा गरेको कुरा आएको छ भने चौथो सर्गमा कर्दमदेवहूति विवाह र मानवसृष्टिको वर्णन गरिएको छ । पाँचौँमा प्रेमप्रणय र निष्काम सेवाको चर्चा गर्दै छैटौँ सर्गमा कर्दमदेवहूतिको गार्हस्थ्यको वर्णन, यान भ्रमण र गहना प्राप्तिको प्रसङ्ग उल्लेख छ । सातौँ सर्गमा देवहूतिको कामेच्छा, प्रणयसौख्य, ९ वटी पुत्री प्रप्ति र कपिलको जन्म भएको कथा उल्लेख छ भने आठौँ सर्गमा प्रजापतिमा पुत्री अर्पण, विष्णु स्तुति, कर्दमले छोरो कपिलसँग सन्यासका निम्ति अनुमति मागेको र कर्दम वन प्रस्थान गरेको घटना अभिव्यक्त गरिएको छ । नवौँ सर्गमा देवहूतिले विष्णु अवतारका रूपमा आएका पुत्र कपिलको स्तुति गरेको र कपिलले अध्यात्म योगको व्याख्या गरेको प्रसङ्ग उल्लेख छ ।

दशौं सर्गमा प्रेममय भक्ति चिन्तन, मोक्षचित्रण, अष्टसिद्धि र २४ गुणको सङ्केत गरिएको छ । एघारौँ सर्गमा साङ्ख्य दर्शन सम्बन्धी २४ गुण, महत् तत्व, अहङ्कार, पञ्चमहाभूत, पञ्चज्ञानेन्द्रिय, कर्मेन्द्रिय, मन, बुद्धि आदिको व्याख्य गर्दै बाह्रौँ सर्गमा प्रकृति (जड) तत्व र पुरुष (चेतन) तत्वका बारेमा प्रकाश पारिएको छ । यसै सर्गमा भ्रमसत्य, अहङ्कारको आक्रमण र चित्तमा बुद्धिले भ्रमात्मक रूपमा पु¥याएको बाधालाई उल्लेख गरिएको छ । तेह्रौँ सर्गमा योग विमर्श, एकाग्र चित्तको महत्व, ईश्वरको साकार रूपको उपादेयता र समसामयिक नीतिशिक्षाका बारेमा जानकारी गराइएको छ । चौधौँ सर्गमा भौतिक वस्तुप्रतिको बेवास्ता, जीवनमोक्ष, सदेहमुक्ति र भक्तिमहिमाका बारेमा प्रस्ट पार्दै पन्ध्रौँ सर्गमा जीवको अज्ञानताको वर्णन, प्राणीहिंसा विरोध, अहङ्कारको चित्रण, भक्तियोग जस्ता पक्षमा केन्द्रित रहेर विचार व्यक्त गरिएको छ ।

सोह्रौँ सर्गमा जन्मप्रक्रिया, पुण्य र मानवजीवनको सम्बन्ध, जीवनबन्धन, प्रेमान्धको जालो र स्थूल शरीरबारे स्पष्ट पारिएको छ । सत्रौँ सर्गमा सकाम भक्ति निर्गुण÷निराकार ब्रह्म चिन्तन, त्रिगुण व्याख्या, अविद्या नष्ट र मोक्षप्राप्ति, पितृलोक एवम् देवलोकका बारेमा जानकारी गराइएको छ । अठारौँ सर्गमा कपिलबाट प्राप्त शिक्षा÷ज्ञानका प्रभावले देवहूतिको मोहजाल हटेको, उनले आफूभित्रै सुख र ज्ञानको स्रोत अनुभव गरेको, विष्णुको स्तुति गरेको, कपिलले वनप्रस्थानका निम्ति आमासँग अनुमति माग्दै वनगमन गरेको, देवहूति निर्विकार, शान्त र सन्तुष्ट बन्दै तपस्याका निम्ति प्रस्थान गरेको घटना चित्रण गरिएको छ । यसरी महाकाव्यको सर्गगत कथ्य सन्दर्भ परिपूर्ण बनेको छ ।

प्रस्तुत महाकाव्यको कथावस्तु एक प्रकारले वंशपरम्परा जस्तो बनेर सातौँ सर्गसम्म गएको छ । यहाँसम्म पुग्दा महाकाव्यले कर्दम र देवहूतिको वंशको चित्रण गर्ने लक्ष्य राखे झैँ लाग्दछ । तर, आठौँ सर्गबाट पाठकको यो भ्रम सामाप्त हुन्छ । कपिलको जन्म र कर्दमको सन्यास ग्रहणपछि सिलसिलाबद्ध कथ्य विन्यासमा एक प्रकारले रोकावट आउँछ । यसपछिको महाकाव्यिक आख्यान विविधतामा दार्शनिक चिन्तन र त्यसको व्याख्याले रोकावट ल्याउँछ र देवहूति र कपिल (आमाछोरा)मा मात्र अबको सन्दर्भ केन्द्रित हुन्छ । यथार्थतः साङ्ख्य दर्शनको मूल औचित्य सिद्धि गर्ने लेखकीय ध्येय रहेकाले सोही पक्षमा महाकाव्यको आगामी यात्रा तय हुन्छ र देवहूति तथा कपिलाचार्यबीचका पारस्परिक संवादबाट वस्तुतथ्यको प्रकटीकरण गरिन्छ । तसर्थ, आंशिकरूपमा योग र ध्यानको चर्चा भए पनि र भक्तियोगको चित्रण गरिए पनि साङ्ख्य विचारबारे मूलभूत रूपमा यहाँ परिचर्चा गरिएको छ । विशेषतः कपिलाचार्य स्वयम् साङ्ख्य दर्शनका प्रणेता भएकाले पनि कविलाई यसो गर्न सहज बनेको देखिन्छ ।

३. मोक्ष चिन्तन

महाकाव्यले उठाएको मूल विषय भनेको मोक्ष चिन्तन हो । जीव जन्मिएपछि जन्मको सारबारे बुझ्नु जरुरी रहेको कुरा उल्लेख गर्दै जन्ममृत्युको चक्रबाट मानवले विशेषतः मुक्ति खोज्नुपर्ने ठहर यहाँ गरिएको छ । मोक्षका निम्ति प्रथमतः अविद्याको जालो हट्नु आवश्क छ । प्रकृति र पुरुषबारेका यथार्थ ज्ञानले मात्र जीवमा भ्रमज्ञान समाप्त हुन्छ भन्ने साङ्ख्य दर्शनकेन्द्री तथ्य यस महाकाव्यमा व्यक्त गरिएको छ । प्रकृति जड पदार्थ हो र पुरुष चेतन तत्व हो । जीवमा आविर्भाव भएको बुद्धिले अविद्याका कारण संसारका भौतिक वस्तुलाई सत्य ठान्न पुग्छ र जीव सदैव यथार्थ ज्ञानबाट विमुख रहन्छ । यसका लागि भक्तियोग, ध्यान, मोहभङ्ग, मोक्षचिन्तन, महत् आदि गरिएका २४ तत्वको यथार्थ ज्ञान जस्ता कुराको सूक्ष्म विवेचन आवश्यक रहेको कुरा यस महाकाव्यको दार्शनिक सौन्दर्य हो । सकाम भक्ति र निष्काम भक्तिका बारेमा पनि यहाँ प्रस्ट पारिएको छ ।

त्यसैगरी सदेह मुक्ति र विदेह मुक्तिका बारेमा विशद चर्चा गर्दै सदेह मुक्तिका सन्दर्भमा पृथ्वीलाई नै स्वर्गका रूपमा चित्रण गर्न खोजिएको पनि पाइन्छ । महाकाव्यको वैचारिकता अनुसार हरेक मानिसको मूल लक्ष्य भनेको विदेह मुक्ति हुनुपर्छ । तसर्थ मृत्युपछि पुनः जन्मचक्रको बन्धनमा नपर्ने गरी मानिसले सायुज्य मोक्षका निम्ति एकाग्रचित्त भई प्रकृति र पुरुषका बारेमा तत्वबोध गर्नु नितान्त आवश्यक रहेको कुरा यस महाकाव्यको उद्देश्य हो । व्यावहारिक जीवनमा देखा पर्ने मोहले मानिसलाई कहिल्यै परमार्थ चिन्तनमा लग्न नदिने भएकाले देवहूतिले जस्तै भवबन्धनको कर्तव्य समाप्तिपछि मोक्ष साधनामा लाग्नुपर्ने कुरा महाकाव्यको सार पक्ष हो । सांसारिक चक्रको आवागमनबाट पूर्ण मुक्ति नै मानव जीवनको कर्तव्य हो भन्ने यस महाकाव्यको विचारलाई महाकवि दाहालले सरलतम रूपमा चर्चा गरेका छन् । भौतिक शरीरको मोहमा फँसेर आत्मिक पक्षको बेवास्ता गर्नु भनेको पुनः सांसारिक भवचक्रका कीटपतङ्गका रूपमा परिणत हुनु हो भन्ने दार्शनिक पक्ष यस महाकाव्यको दर्शनशास्त्रीय चिन्तनको मर्म हो ।

४. निष्कर्षः

प्रस्तुत महाकाव्य पौराणिक विषयवस्तुमा आधारित छ । सामान्य वंशपरम्पराको प्रस्तुति रहे पनि महाकाव्यका अधिकांश सर्गहरू साङ्ख्य दर्शनको सौन्दर्यात्मक चिन्तनमा केन्द्रित छन् । कपिलाचार्यले साङ्ख्य दर्शनको विशद व्याख्या गरे पनि त्यसप्रतिको लगाव र समर्पण माता देवहूतिको रहेको छ । अन्ततः देवहूतिले पुत्र कपिलाचार्यका माध्यमबाट मोक्षबारे यथोचित ज्ञानार्जन गरेको र भूमिकाका सन्दर्भमा पनि धेरै सर्गमा देवहूतिकै कार्यव्यापार रहेकाले यो महाकाव्य नायिकाप्रधान बनेको छ । स्वयम् महाकाव्यका रचनाकार दाहालले पनि देवहूतिलाई नै केन्द्रमा राखेर दार्शनिक सौन्दर्यको चर्चालाई अगाडि बढाएका छन् । यसर्थ यो कृति नारी पात्रप्रधान बनेको छ । यसमा वार्णिक छन्दको प्रयोग पाइन्छ । छन्द प्रयोगका सामान्य त्रुटि बाहेक यसमा सीमाभन्दा शक्ति पक्ष नै बढी रहेको निष्कर्ष निकाल्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here