आफ्नो उद्देश्यमा अष्ट्रेलिया भ्रमण सफल-अध्यक्ष राजेन्द्र लिङदेन

0
9

सिड्नी ।

नेपाली प्रवासी एकता समाजको निमन्त्रणामा अष्ट्रेलिया भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन अष्ट्रेलियाको भ्रमण सकेर अगस्ट २४ तारिख स्वदेश फर्किएका छन् ।

अष्ट्रेलिया भ्रमणको क्रममा उनले सिड्नी, एडिलेड र मेलबर्नमा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाए । अध्य्यक्ष लिङदेनले अष्ट्रेलिया र अन्य मुलुकको भ्रमणका सिलशिलामा संसारभर छरिएर रहेका नेपालीहरुले नेपालको सम्वृद्धि र सुशासन बारे नै चासो र चिन्ता ब्यक्त गर्ने गरेको आफुले पाएको बताउदै त्यसको लागि मुलुकको राजनीति ठिक ढंगबाट चल्नुपर्ने खाचो औल्याए ।

उनले बिगत साढे तीन दशकदेखि मुलुकको राजनीतिमा हालीमुहाली गर्दै आएका राजनीतिक दलहरुले मुलुकको सम्वृद्धि र बिकासमा उल्लेख्य काम गर्न नसकेको बताउदै अबको दिनमा जनताले उनीहरुको विकल्प खोज्नुपर्ने उल्लेख गरे ।

अष्ट्रेलियाका विभिन्न शहरमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अत्यन्तै भद्र र शालीन रुपले आफ्नो बिचार राखेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गैर आवासिय नेपालीहरुको दोहोरो नागरिकताका समन्धमा आफ्नो पार्टी “एक पटकको नेपाली सधैको नेपाली ” हुनुपर्छ भन्नेमा प्रष्ट रहेको जानकारी गराए । उनले नेपालको समग्र बिकासका लागि भुगोल र भावनाको नेपाललाई जोड्न सक्नुपर्ने र संसारभर छरिएर रहेका नेपालीले आर्जन गरेको सीप ,दक्षता र पुजीलाई मुलुकको सम्बृद्धिमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

संसारभर छरिएर रहेका नेपालीहरुको नेपाल सरकारले अभिभावकत्व लिनसके उनीहरुलाई देश बिकासको अभियानमा संगै लैजान सकिने बिस्वास आफुले लिएको बताउदै उनले प्राकृतिक हिसावले अनन्त सम्भावना बोकेको नेपालको बिकास गर्न राजनीतिक स्थायित्व र ईमान्दारिता प्रमुख खड्किएको बिषय हो – उनले भने ।

अध्यक्ष लिङदेनले बर्तमान राज्य प्रणालीबाट देशले बिकासको बाटोमा लम्कन नसक्ने प्रस्ट भै सकेको छ यो अवस्थामा आफुहरुको प्रदेश संरचना खारेज ,जनप्रतिनिधिहरुको संख्या घटाउनुपर्ने ,प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ,हिन्दु अधिराज्य र राजसस्थाको पुनस्थापना आफ्नो पार्टीको मुख्य एजेन्डा रहेको प्रस्ट पारे ।

सिड्नीको ग्र्यान्भिलामा झापाली समाज अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा नेप्लीज अष्ट्रेलियन युथ एशोसिएसन नयाको साधारणसभा, सिड्नीका संचारकर्मीहरुसँग भेटघाट , गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले संघको कार्यालयमा उनको स्वागत गरिएको थियो ।

राप्रपाको प्रवासी संगठन प्रवासी नेपाली एकता समाज अष्ट्रेलिया स्थापनाको पाँचौं वार्षिकोत्सवको अवसरमा मेलबर्नमा आयोजित कार्यक्रममा उनले आगामी निर्वाचनमा राप्रपाले लिएको हिन्दू राष्ट्र र राजसंस्थासहितको नवीन समझदारीको एजेन्डालाई साथ दिन यहीँबाट पनि पहल गरिदिन सहयोग मागेका थिए ।

कार्यक्रममा एनआरएनका पूर्वअध्यक्ष शेष घलेले नेपालमा उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री भएका बेला आफ्नो अध्यक्ष लिङ्देनसँग भेट भएको स्मरण गर्दै विदेशबाट जाने लगानीकर्ताहरूलाई सहज परिस्थिति नरहेकोले प्रवासमा बस्ने नेपाली र विदेशी लगानीकर्ताहरूका समस्यालाई समाधान गर्न राप्रपाले पहल गर्नुपर्ने बताए ।

सो कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघका ओसीनिया क्षेत्रीय संयोजक दिनेश पोखरेलले लिङ्देनलाई उनको स्वच्छ छविका कारण नेपाली जनताले आगामी दिनमा प्रधानमन्त्रीमा देख्न चाहेको उल्लेख गरे । उक्त अवसरमा बोल्दै प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका संस्थापक अध्यक्ष अजय राजवंशीले ५ वर्षअघि मेलबर्नमा नै स्थापना भएको संस्थालाई यहाँको समुदाय र समाजले देखाएको सद्भावका लागि धन्यवाद दिएका थिए ।

सो अवसरमा भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, गैर आवासीय नेपाली संघ, जनसम्पर्क समिति अष्ट्रेलिया, प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र नेपाली जनप्रगतिशील मञ्चका प्रतिनिधिहरूले अध्यक्ष लिङदेन र उनको टोलीमा सहभागी राप्रपाका नेताहरू भक्ति सिटौला, आनन्द अधिकारी र हिक्मतजंग कार्कीलाई स्वागत गरेका थिए । अध्यक्ष राजेन्द्र लिंगदेनसहितको टोलीले मेलबर्न र सिड्नीमा रहेका नेपाली मन्दिर, बहुसांस्कृतिक केन्द्र, पशुपति मन्दिर पनि भ्रमण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here