झापामा जङ्गली हात्तीबाट धानबाली जोगाउन ‘मोबाइल फेन्सिङ’

0
9

झापा,

जङ्गली हात्तीबाट धानबाली जोगाउन कोशी प्रदेशमा पहिलोपटक मेचीनगरमा ‘मोबाइल फेन्सिङ’ लगाउन सुरु गरिएको छ ।

मेचीनगर नगरपालिका–१ र ४ को पाँच सय बिघा जमिनमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आर्थिक सहयोग र उज्यालो नेपाल बर्दियाको प्राविधिक सहयोगमा मोबाइल फेन्सिङ (घुम्ती घेराबेरा) सुरु गरिएको वडा नं ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताउनुभयो ।

उहाँले मोबाइल फेन्सिङका कारण तीन सयभन्दा बढी किसानको धानबाली हात्तीबाट जोगाउन सकिने बताउनुभयो । “धान पाक्न सुरु भएपछि भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीबाट जोगाउन मुस्किल छ”, उहाँले भन्नुभयो, “किसानहरूको बाली जोगाउन मोबाइल फेन्सिङ गरेका हौँ । कति सफल हुन्छ हेर्न बाँकी छ ।”

उहाँका अनुसार मेचीनगर नगरपालिका–४ को आलेटुङ्गबाट आमडाँगी बिजुवासम्म मेचीखोलातर्फको धानखेतीमा तीन बिघा तीनतिरबाट फेन्सिङ गरेर घेरिनेछ । बाँकी वडा नं १ मा दुई सय बिघा यसैगरी घेराबेरा गरिने उहाँले बताउनुभयो ।

उहाँले स्थानीय क्षेत्रमा पाइने बाँसको पोल, खानेपानीको पाइप र विद्युत् प्रवाह हुने नाङ्गो तारबाट फेन्सिङको संरचना निर्माण गरिएको जानकारी दिनुभयो । सौर्य ऊर्जामार्फत सञ्चालित यो प्रविधि हात्ती धपाउन यसअघि बर्दिया जिल्लामा मात्र प्रयोग भएको थियो । यसबाट प्रवाह हुने विद्युतीय करेन्टले बाली खान आउने हात्तीलगायत जनावरलाई झट्का दिएर धपाउने उहाँले जानकारी दिनुभयो ।

उज्यालो नेपाल बर्दियाका प्रतिनिधि रमेशकुमार थापाले बर्दियाको मधुवन नगरपालिकामा यो प्रविधिको सफल परीक्षण भइसकेको हुँदा झापामा पनि प्रयोग गरिएको बताउनुभयो । उहाँले इसिमोडको रु १३ लाखको आर्थिक सहयोगमा मोबाइल फेन्सिङ गरिएको बताउनुभयो ।

“हामी बर्दियामा पहिलोपटक गरिएको परीक्षणमा सफल भयौँ, यहाँ दोस्रोपटक परीक्षण गर्दैछौँ, सफल हुनेमा हामी ढुक्क छौँ”, उहाँले भन्नुभयो । धानखेती मात्र नभएर अन्य खेतीमा समेत सो प्रविधिको प्रयोग गर्न मिल्ने हुँदा आवश्यकतानुसार यसलाई ठाउँ सारेर प्रयोग गर्न मिल्ने बताउनुभयो ।

हाल झापाको जङ्गल वरिपरि सयौँ किलोमिटर लामो स्थायी सोलार फेन्सिङ निर्माण भइसकेको छ । भारतबाट हात्तीको हुल प्रवेश गर्न नसकोस् भनेर मेची नदीको किनारस्थित मेचीनगर–१, २, ३ र ४ मा १९ किलोमिटर लामो स्थायी सोलार फेन्सिङ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here