पर्सामा संयुक्त उद्धार अभ्यास

0
3

वीरगञ्ज (पर्सा),

जिल्लामा बाढी र मनसुनजन्य वर्षात्को कारणले हुनसक्ने डुबानबाट मानवीय क्षतिलाई न्यूनीकरण गर्ने हेतुले आज वीरगञ्जमा जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटर पर्साको संयोजकत्वमा नेपाल प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटीलगायत निकायको समन्वयमा वीरगञ्ज महानगरपालिका–१० मा रहेको घडीअर्वा पोखरीमा संयुक्त उद्धार अभ्यास गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पर्सा जिल्ला जलउत्पन्न विपद्को जोखिममा पर्ने भएकाले पनि विपद्को समयमा प्रभावकारी ढङ्गले उद्धारकार्य गर्न पूर्वअभ्यास गरिएको बताउनुभयो । “पर्सा विशेषगरी बाढी, डुबान, नदीकटान र आगलागीको उच्च जोखिममा रहेको छ”, उहाँले भन्नुभयो, “जलउत्पन्न प्रकोपको सम्बन्धमा आज हामीले पूर्वतयारीको अभ्यास गर्यौँ । आगामी दिनमा नेपाली सेनाको संयोजनकमा आगलागी सम्बन्धित पूर्वअभ्यास गर्नेछौँ ।”

प्रमुख जिल्ला अधिकारी भुसालले विपद्जन्य कार्यमा उद्धारलाई प्रभावकारी बनाउन पूर्वतयारी र अभ्यास गर्न जरुरी रहेको बताउनुभयो । सशस्त्र प्रहरी बल नेपालको अगुवाइमा भएको संयुक्त उद्धार अभ्यासमा नदीमा फसिरहेका सर्वसाधारणलाई उद्धार कसरी गर्ने विषयमा अभ्यास गरिएको थियो ।

सो अभ्यासका क्रममा नदीमा बीच भागमा रहेका पीडितलाई सुरक्षित स्थानतर्फ लैजान सुरक्षा फौजले ‘अन्डरवाटर रिभर क्रसिङ’ विधिबाट पार गराइएको थियो । पानीको बहाव धेरै भएको खण्डमा भने अग्लो स्थानमा वारि–पारि डोरी टाँगेर हार्नेस, चेस्ट हार्नेस, क्याराबिनाका सहायतामा पीडितलाई सुरक्षित स्थानतर्फ लैजाने अभ्यास गरिएको थियो ।

यसैगरी, अन्डरवाटर र अप्परवाटर दुवै विधिबाट क्रस गराउन नसकिने बालक तथा वृद्धवृद्धालाई रबर बोटको सहायताले उद्धार गरिएको थियो । सो अभ्यासका क्रममा बोट ड्रिल प्रदर्शनी पनि गरिएको थियो ।

पर्सा समुद्री सतहबाट पाँच सय २३ मिटरको औसत उचाइमा रहेको छ । हरेक वर्ष वर्षात्को समयमा जिल्लाको पश्चिम क्षेत्र डुबान, बाढी तथा कटानबाट धनजनको क्षति पुुर्याउने गर्छ । पर्सामा चुरे क्षेत्र हुँदै बग्ने ओरिया, सिर्सिया, गङ्गोल, नौरङ्गिया, तिलावे, सिक्टा नदीका साथै ठुटेखोला, ओडारखोला सिकारीबास खोला रहेका छन् । मौसमजन्य विपद्अन्तर्गत नेपाल विश्वमा ११औँ स्थानमा पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here