बालबालिकामा हात्तीपाइले रोगको ‘ट्रान्समिशन’ परीक्षण सुरु

0
2
गुलरिया ।  बर्दियाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ र २ मा अध्ययनरत बालबालिकामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत ‘ट्रान्समिशन एसिसमेन्ट सर्भे’ (टास) सुरु गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेका विद्यालयमा हात्तीपाइले रोगको दोस्रो चरणको ट्रान्समिशन सर्भे सुरु गरिएको हो । कक्षा १ र २ मा अध्ययनरत ६ देखि ७ वर्षका बालबालिकामा हात्तीपाइले रोगको ट्रान्समिशन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरका ल्याब निरीक्षक राजकुमार इटनीले बताउनुभयो । नयाँ सङ्क्रमण जाच्न बालबालिकाको सो उमेर समूह उपयुक्त मानिएको छ । बर्दियामा तीन सय ७३ विद्यालयका १८ हजार नौ सय ५० विद्यार्थीमध्ये ३७ विद्यालयका एक हजार पाँच सय ५२ विद्यार्थीहरुको नमूना परीक्षण गरिनेछ ।
उहाँका अनुसार रक्त नमूना जाँचका क्रममा पोजिटिभ देखिएका विद्यार्थीहरुको सङ्ख्या ‘एसएसबी’ ले दिएको ‘स्टाब्लिज्ड क्रिटिकल कट अफ’ १८ भन्दा कम भएमा टास सर्भे सफल भएको मानिन्छ । यदी १८ भन्दा बढी भएमा असफल मानिन्छ । असफल भएमा के गर्ने भन्ने विषयमा विज्ञहरुको सुझाव लिइन्छ । सर्भे फिल्डमा एक जनाले विद्यार्थीहरुको लाइनअनुसार नाम दर्ता र परामर्श दिने, एक जनाले नमूना सङ्कलन गर्ने र एक जनाले प्राप्त नमूनाको अभिलेख अद्यावधिक गर्ने गरी तीन जना खटिएका छन् ।
सन् २०२२ को तथ्याङ्कअनुसार दक्षिण पूर्वी एशियामा ५४ प्रतिशत हात्तीपाइले रोगको भार रहेको छ । जसमध्ये ४० प्रतिशत भारतमा छ । नेपालमा हात्तीपाइलेको जोखिममा ६४ जिल्ला छन् । क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले मानिसलाई टोकेर ‘वुचेरिया ब्रानक्रोफ्टी’ नामक परिजीवी शरीरमा प्रवेश गरेपछि हात्तीपाइले रोग लाग्ने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार बर्दियामा हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत १० वर्ष औषधि खुवाइएको छ । सन् २०१२ देखि ३९ दशमलव आठ प्रतिशत बेसलाइनबाट सुरु गरिएको आम औषधि सेवन सन् २०१३ मा ६९ दशमलव एक प्रतिशत, २०१४ मा ७६ दमशलव दुई, २०१५ मा ७९ दशमलव एक, २०१६ मा ७६ प्रतिशत, २०१७ मा ७६ दशमलव छ, २०१८ मा ७३ दशमलव चार, २०१९ मा ७३ दशमलव आठ, २०२० मा ७८ दशमलव पाँच र सन् २०२१ मा ७९ दशमलव एक प्रतिशतले गरेका छन् । बर्दियामा जिल्ला स्तरीय अभिमुखीकरण गरी सर्भे सुरु गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here