वीपीको समाजवाद र बुद्धिजीवीको भूमिका

0
18

पृष्ठभूमि :

नेपाली कांग्रेस नै एउटा विचार हो भन्ने कुरा हामी ठान्दछौं । तर, वास्तवामा नेपाली कांग्रेस आफैमा बिचार भने होइन । नेपाली कांग्रेसले विचारको प्रतिनिधित्व भने गर्दछ । नेपाली कांग्रेसले प्रतिनिधित्व गरेको विचारभित्र राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, समाजवाद पर्दछ । राजनीतिक विचारका दृष्टिले नेपाली कांग्रेसभित्र चिन्तन गर्ने पहिलो व्यक्ति भने महामानव वीपी कोइराला हुन् । जुन चिन्तन हिजोका दिनमा जति मनन्योग्य र पथप्रदर्शक थिए । आज पनि त्यति नै पथप्रदर्शक छन् । भोली पनि उही रुपमा रहने छन् । यसको ज्वलन्त उदाहरण र पुष्टी भनेको जुनसुकै विचारधाराका राजनीतिककर्मीले पनि वीपीको विचारलाई सम्मान गरेकोबाट स्पष्ट हुन्छ ।

आफ्ना पिता कृष्णप्रसादले गरीब र निमुखा नेपालीहरुको दारुण अवस्थाप्रति संवेदनशील भएर सांकेतिक अभिव्यक्तिका रुपमा तत्कालीन राणा शासकसामु पठाएको एउटा पार्सलका कारणले सम्पूर्ण कोइराला परिवारले भारत निर्वासनको सजाय भोग्नु परेको थियो । त्यही भोगाइकै क्रममा वि.सं.१९७१ भाद्र २४ मा बनारसमा बहुआयमिक व्यक्तित्वका चर्चित वीपीको जन्मभएको थियो । वीपीको विचारमा ‘देश भन्नोस् चाहे राष्ट्र भन्नुहोस्, त्यो भूगोल होइन, त्यो माटो होइन । त्यो यथार्थमा जनता हो । जुन कुराले जनताको हित हुन्छ, त्यही कुरो देशहितको कुरो हो । जनताको अधिकार देशको अधिकार हो । यदि जनताको अधिकार खोसिन्छ भने देशको हित कसरी त्यसले रक्षा ग¥र्यो ?’ यसप्रकारको विचारमा वीपी अडिग रहे । मानिसले उपभोग गर्न पाउनुपर्ने आधारभूत अधिकारलाई वीपीले आप्mनो मुख्य सिद्धान्तको बटम लाइन बनाउँदै जस्तोसुकै कठिन परिस्थितमा कति पनि विचलित नभइकन जीवनभर उनी लडिरहे ।

ऐतिहासिक काल खण्डमा राजा र जनताका बीचमा निरंकुश राणा शासन एउटा अजङ्गको पर्खाल रुपमा रहेको अवस्था थियो । यस अवस्थामा राजाहरुलाई सम्मानित कैदीको जस्तो व्यहार राणाहरुले गरेका थिए । राजाका सम्प्रभूता सम्बन्धी सम्पूर्ण अधिकार राणा प्रधान मन्त्रिले उपभोग गरिरहेका थिए । राणाको एकतन्त्रिय शासन पद्धतिमा राजा नाममात्रका थिए । राजा र जनताप्रतिको उत्तरदायित्व राणाहरुले लिएका थिएनन् । सम्पूर्ण आर्थिक स्रोत लगायत अन्य सम्पदालाई समेत उनीहरुले एकलौटी र पूर्णरुपमा अधिनमा राखेको थिए । यसप्रकारको निरंकुश अवस्थाबाट राजा र जनतालाई मुक्त गराउनका साथै राजा र प्रजाका बीचमा नजिकको सम्बन्ध स्थापना गर्न वीपीले नै क्रान्तिको नेतृत्व लिएका थिए । नेपालका श्री ५ हरु जो राणा परिवारका हातका कठपुतली मात्र थिए । उनै श्री ५ को जसको बैधानिक नेतृत्वका लागि वीपीले आफ्नो जीवन समेत पातमाथि राखेर लडेका थिए । जसको नेतृत्वमा निरंकुश राणाको हातबाट देशलाई मुक्त गराइ श्री ५ लाई वैधानिक नेतृत्वमा रहने गरी राज्यशत्ता सुम्पेका थिए ।

उनै वीपी जो यसपछिका दिनमा प्रजातान्त्रिक अभ्यासका माध्यबाट पहिलो जननिर्वाचित सरकार प्रमुख थिए । यही अवस्थामा संवैधानिक राजतन्त्रको भूमिकामा रहेका शाह वंशीय राजाले २०१७ सालमा वीपीलाई अपदस्त गरी पुनः जेलनेलसहित निर्वासित जीवन बिताउनु बाध्य बनाएका थिए । जननिर्वाचित सरकार प्रमुखबाट अपदस्त भएपछि फेरि पनि वीपीले जनताका आधारभूत अधिकारका लागि लडनुप¥यो । त्यस अवस्थामा फेरि पनि वीपीले उनै राजालाई स्वीकार गरेर दरवार र जनताको बीचमा रहेर काम गर्ने प्रयास गरेको थिए ।

यसै सन्दर्भमा वीपीले भनेका थिए– ‘राष्ट्रिय समस्याहरुका सम्बन्धमा हामी राजासँग मिल्दछौं, तर प्रजातान्त्रिक विषयहरुमा भने राजा हाम्रा विपक्षी भएको हुँदा हामीले राजाबाट अधिकार लिनै पर्दछ ।’ यसका लागि वीपीको पहिलो शर्त भनेको बोल्ने लेख्ने स्वतन्त्रता हो । किनभने यो अधिकार प्राप्त नभइकन अन्य अधिकार प्राप्त गर्न सकिँदैन । उदाहरणका लागि किसानलाई जमिन देउ भन्ने अधिकार नै छैन भने किसानलाई जग्गा दिलाउने मुद्दा कसरी अगाडि बढाउन सकिन्छ ? त्यसो हुनाले आर्थिक मुद्दा उठाउनुभन्दा अघि आर्थिक कुरा राख्ने अधिकार चाहियो । त्यसपछि मात्र आर्थिक ढाँचाको कुरा आउँछ । यो मान्यता वीपिको थियो ।

वीपी र समाजवाद :

वीपी बनारस हिन्दू विश्व विद्यालयको छात्र हुँदा डा. राममनोहर लोहिया र जयप्रकाश नारायण जस्ता समाजवादी विचारकको सम्पर्कमा रहेका थिए । त्यसैगरी कलकत्तामा कानूनको स्नातक छात्र हुँदा सन् १९३४ देखि वीपी भारतीय कांग्रेस समाजवादी दलमा काम गर्न थाले । वीपी समाजवादी आन्दोलनका मूर्धन्य पुरुषहरु जयप्रकाश नारायण, नरेन्द्र देव र राममनोहर लोहिया जस्ता व्यक्तिहरुको निकट सम्पर्कमा रहेर आउनुभयो । फलस्वरुप समाजवाद उहाँको निम्ति गहिरो अभिरुचीको विषयवस्तु बन्न पुग्यो । जुन कुुरा किशोरवस्थामा नै विकसित भएको थियो । त्यही कुरा पछि गएर उनको जीवनको वास्तविक दर्शनका रुपमा लागू भयो ।

मानिसहरुलाई मनोवैज्ञानिक रुपमा दुःख परेको समयमा सहानुभूतिको आवश्यकता पर्दछ । त्यो सहानभूतिको आवश्यकता समाजवादले पूरा गर्दछ । यसको अर्थ हो समाजवादको सम्बन्ध मानिसका दुःख–सुखका भावनासँग गाँसिएको हुन्छ । समाजवादी सिद्धान्तको आधार कुनै अदृष्य शक्तिले बनाएको होइन । यसर्थ हामी केही गर्न सक्दैनौ भन्ने कुरालाई समाजवादले मान्दैन । समाजवाद हामीहरुको हातमा छ, समाजलाई बिर्गाने वा बनाउने । समाज बनाउने वा बिगार्ने अधिकार आफूसँग छ भन्ने जुन विचार हो । त्यो विचार नै समाजवादी विचार हो । यो परिकल्पना वीपीले गरेका थिए । समाजवादीहरुले जनतासँग आफ्नो सम्बन्ध नङर मासुको जस्तो राख्नु पर्दछ । आफू समेत समावेश भएको समाजवादमा आप्mनो खुट्टामा आफै उभिनलाई प्रोत्साहित गर्नुपर्दछ ।

स्थानीय सीप र श्रम समेतका विषयलाई ध्यान दिँदै त्यसतर्फ जनतालाई आकर्षित गर्न आवश्यक छ । यसका लागि विदेशबाट प्राप्त योजनाकारका सर्टिफिकेटहरुलाई योजना आयोगमा राखेर मान्यता दिनुभन्दा एक वर्ष विकट गाउँबस्तीमा बसाएर अनुभव लिन लगाएर मात्र योजना आयोगमा छिराउनु पर्दछ भन्ने मान्यता वीपीको थियो । त्यसैले उनले योजना आयोगमा एक हल गोरु र किसानको तस्वीर राखेर योजना निर्माण गर्न निर्देशन दिएका थिए । वीपीको विचारमा न्यायपूर्ण समाज त्यो समाज हो जहाँ आफ्नो स्वभाव अनुरुप मानिसले काम गर्न पाउँछ । स्वभाव अनुरुपको पेशामा लाग्न पाए भने त्यो न्यायपूर्ण समाज हुन्छ । यसर्थ सामान्यरुपमा जनतामाथि विवेक पु¥याउन सक्नु समाजवाद हो । उदाहरणका लागि जनतालाई आर्थिक विकास र समानता चाहिन्छ । त्यो भए नभएको थाह पाउन लोकतन्त्र चाहिन्छ । समानता भनेको लैङ्गिक समानता, क्षेत्रीय समानता, जातीय समानता, भाषिक समानता, सांकृतिक समानता जस्ता कुरा पर्दछन् ।

वीपीको भनाइमा हामी समाजवादी बनेको जनताको हितका लागि हो । हाम्रो हितको लागि हो । हाम्रा सन्ततिहरुले सुख पाउलान भन्नका लागि हो । त्यसैगरी जनतालाई राम्रो गर्ने र राम्रो गर्न नसके जनताबाट सजाय पाउने, अर्को राम्रो सरकामा जाने, जस्ता नयाँ विकल्पलाई सधँै स्वभाविक रुपमा खुला राख्ने चाहनामा वास्तविक विकास र समानता लुकेको हुन्छ । त्यही प्राप्तीका लागि हामीले लोकतन्त्र र समाजवादीको चाहना राखेका हौं । महामानव वीपीको भनाइ अनुसार समाजवादको एउटा लक्ष्य छ, जसले यस महान आदोलनलाई प्रेरणा दिन्छ । त्यो हो समानता । समानता भनेको राजनीतिक समानता र आर्थिक समानता । महामानवले समाजवादलाई राजनीतिक रुपमा लोकतन्त्र र आर्थिकरुपमा विकास भनेका छन् । विकास बिनाको समानता गरिबीको वितरण वा गरीब बनाउने समानता हुन्छ । त्यसैले गाँस, बास, कपास, शिक्षा स्वास्थ्य र उचित वातावरण समाजवादको न्यूनतम लक्ष्य हो ।

आर्थिक ढाँचाको कुरा गर्दा युरोप अमेरिकाको जस्तो यदि आम्दानी छ भन्ने एकिन भएपछि कुन–कुन शीर्षकमा के–कति रकम बाडने हो भन्ने कुरा आउँछ । तर, तत्कालीन समयमा हामीसँग आँमदानीको स्रोत नै थिएन । त्यस अवस्थामा वीपिले प्लानिङ्गको लागि सर्वप्रथम हामीले निम्न कुरा सोच्नु पर्दछ भनेका थिए । हामीसँग साधन के छ ? किनकि भारत अमेरिकाका करदाताले दिएको पैसा त हामीले पाउने होइनौं । उनीहरुको साधन हाम्रो भन्न सकिँदैन । यसर्थ हामीहरुको साधन भनेको जमिन हो । जमिनमा उब्जनी बढाउन सकेको अवस्थामा मात्र हामी विकास गर्न सक्छौं । जमिनमा उत्पादन बढाउन कुलो नालाको व्यवस्था गर्नुप¥यो । अनि बिऊबिजनको व्यवस्था गर्नुप¥यो । त्यसपछि मलखादको कुरा आउँछ । यसप्रकार क्रमैसँग प्राथमिकताका कुरा निर्धारण हुँदै जान्छ । यी कुराका अतिरिक्त फेरि जमिनको स्वामित्व कसलाई दिने भन्ने कुरा पनि उठ्न सक्छ । जसका कारणले उत्पादनमा बृद्धि हुन सकोस् । उत्पादन वृद्धिका लागि अन्य के–के चाहिन्छ पहिचान गर्नुपर्दछ भन्ने मान्यता वीपीको थियो ।

समाजवाद र बुद्धिजीवीको भूमिका :

वीपीले समाजवादका लागि उठाएका दुईवटा महवपूर्ण पक्ष भनेका समानता र आर्थिक विकास हुन :
क) समानता : वीपीले उठाएका समानताका मुद्दाहरुमा विशेषगरी आज पनि निम्न पक्षलाई ध्यानमा राखेर कार्य गर्नुपर्दछ । जातीय छुवाछुतबिरुद्ध चाल्नुपर्ने कदमहरुको पहिचान र तिनको विकल्प पहिल्याउनुपर्ने हुन्छ । यो समस्या दलितमा मात्र केन्द्रित नभएर सम्पूर्ण मानव समाजको हो भन्ने कुरालाई तथ्यगत रुपमा प्रस्तुत गर्नु पर्दछ । त्यसैगरी महिलाका चुनौति, घरेलु हिंसा, यौनजन्य हिंसा आदि जस्ता कुरालाई पनि मानव समाजका शत्रू हुन भन्ने कुराका आधरमा सम्बोधन गर्नुपर्दछ । ज्येष्ठ नागरिकसँग सम्बन्धित चुनौति पहिल्याउँदै उनीहरुका सम्मानका कुरालाई पनि आत्मसात गर्ने वातावरण तयार गर्न दवाव सिर्जना गर्नुपर्दछ । त्यसैगरी क्षेत्रीय समानता, भाषिक समानता, सांस्कृतिक समानता आदि जस्तापक्षलाई समेत सम्बोधन गर्ने गरी नीति–नियमका साथै कार्यक्रम बनाउन र कार्यान्वयन गर्नसरकारलाई दवाव सिर्जना गर्ने भूमिका बुद्धिजीवीले खेल्नु पर्दछ ।

ख) आर्थिक विकास : वीपीले भने जस्तै आजका दिनमा पनि आर्थिक विकासका लागि सबैभन्दा पहिलो प्राथमिकता जमिनलाई नै दिनु पर्दछ । जसले गर्दा उत्पादनमा वृद्धि गर्न सकियोस् । यसका लागि बुद्धिजीवीले समयानुकुलका कृषिसँग सम्बन्धित आवश्यक पर्ने प्रविधिको उपयोगमा जोड दिनुपर्दछ । ताकी कृषि र सहकारीको क्षेत्रमा सँगसँगै विकास गर्न सकियोस् ।
ग) शिक्षामा विकास : संविधानमा व्यवस्था भए अनुरुप शिक्षामा सबैको समान सहभागिता हुनुपर्दछ । शिक्षामा पहुँच र समानता मात्र होइन न्यायपूर्ण वा समतामूलक शिक्षा हुुन पर्दछ । शिक्षालाई रोजगारीसँग जोड्नु पर्दछ । यसका लागि अबका दिनमा सामान्य प्रमाणपत्रका लागि मात्र अध्ययन गराउनेभन्दा पनि शिक्षालाई समयानुकूल प्रविधिमूलक रोजगारमा जान सक्ने र उत्पादनमुखी बनाउनु पर्दछ ।

घ) स्वास्थ्य र सरसफाई : बाँच्न पाउनु पनि मानिसको नैसर्गिक अधिकार हो । स्वास्थ्य र शिक्षा आज सामान्य नागरिकका पहुँचभन्दा बाहिर छन् । यसर्थ शिक्षा र स्वास्थ्यलाई पहुँचभित्र राख्न राज्यको भूमिका हुनु पर्दछ । राज्यलाई यो भूमिका निर्वाह गर्न बुद्धिजीवीले सहयोग गर्नुपर्दछ । त्यसैगरी जलस्रोतको विकास, वनको संरक्षण, पर्याटन विकास, सडक यातायात पनि मानव विकासका लागि अति आवश्यकीय क्षेत्र हुन् । यी क्षेत्रलाई योजनामा प्राथमिकताका साथ राखि कार्य गर्नु पर्दछ । आजको अर्को समस्या भनेको प्राकृतिक प्रकोप र यसबाट हुनसक्ने जोखिम पनि हो । यसबाट बच्नका लागि पनि योजनामा स्थानदिनु पर्दछ ।

त्यसैगरी खाद्यवस्तुको सुरक्षा र संरक्षण गर्नु पनि आजको आवश्यकता हो । यी कुराहरुलाई पनि योजनामा समावेश गर्नु पर्दछ । माथि उल्लेखित क्षेत्रहरु जसले वीपीले परिकल्पना गरे अनुरुप समाजवादभित्रका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यका साथै उचित वातावराण आदि जस्ता आधारभूत कुरामा जनताको सहज पहुँच पुग्नु पर्दछ भन्ने हो । यसतर्फ सबैको ध्यान आकृष्ट हुनु पर्दछ । माथि उल्लेखित कुराहरु समाजवादका लागि आवश्यक पर्ने सैद्धान्तिक पक्ष हुन् । यी पक्षलाई योजनामा समावेश गरी कार्यान्वयनमा जान निम्न सर्तको महवपूर्ण भूमिकारहने हुनाले यसतर्फ पनि चर्चा गर्नुपर्ने हुन्छ ।

पहिलो शर्त सुशासन :

राजनीतिक दलहरुले राज्य र नागरिक समाजका बीचमा मध्यस्तताको भूमिका निर्वाह गर्नु पर्दछ । सरकार र संसदमा जस्तोसुकै शक्तिको बीचमा एक–आपसमा साँठगाँठ भए तापनि उनीहरुले संविधान र नागरिकका आधारभूत अधिकारको संरक्षण गर्नु पर्दछ । यसका लागि विशेषगरी बुद्धिजीवीले राजनीतिक शक्तिलाई कानूनलाई कमजोर र निस्तेज पार्ने कार्यमा सहभागी हुनबाट रोक्नु पर्दछ । त्यसैगरी सुशासनको अर्को पाटो भनेको कानूनी शासनका लागि घुसखोरी पनि ठूलो खतरा हो । यसबाट राजनीतिक शक्तिलाई सचेत गराउनु पनि बुद्धिजीवीको महŒवपूर्ण भूमिका रहन आउँछ ।

दोस्रो शर्त नागरिक सहभागिता र लोकतन्त्र :

हामीले मागेको अधिकार वा न्याय समतामुखी वा न्यायोचित छ वा छैन भन्ने कुरालाई ध्यान दिनुपर्दछ । यसका लागि त्यो व्यक्ति वा समुदायको अवस्था कस्तो छ ? सामाजिक परिवेशसँग मेल खान्छ वा खादैन ? उसको स्रोतमा पहुँच छ वा छैन ? ऊ बसेको समाजको भूबनोटको अवस्था कस्तो छ ? सभ्यता, संस्कृति, परम्परा र सामजिकीकरणका आदिका अवस्था कस्ता छन् ? भन्ने कुराहरुमा समेत ध्यान दिनुपर्ने हुन्छ । यी कुराका अतिरिक्त लोकतन्त्रको सर्वाधिक महवपूर्ण विशेषता भनेको राज्यका प्रत्येक कार्यमा नागरिकको सहभागिता हो । यदि जनता वा नागरिकको सहभागिता राज्यका अंगमा हुँदैन भने लोकतन्त्रको कुनै अर्थ रहँदैन ।

लोकतन्त्रमा राज्य शक्तिको स्रोत र राष्ट्रिय संप्रभूताको प्रयोग जनताबाट निर्वाचित प्रतिनिधिद्वारा हुने भएकाले नागरिकका अधिकार र कर्तव्यको संरक्षण गर्नु पनि राजनीतिक दलको दायित्व हो भन्ने कुराको एकिन बुद्धिजीवीले सम्बन्धित पक्षलाई गराउनु पर्दछ । अन्यथा वीपीले भने झैँ ‘म रहुञ्जेल मेरा साथीहरुलाई एउटा नचाहिँदो निर्धक्का पनि भयो । वीपी छदैँछन् नि भन्ने । त्यसले गर्दा जति कोशिस र जति जिम्मेवारीबाट काम लिनुपर्ने थियो त्यसमा उनीहरुले ढिलाई गरे । म रहिन भने उनीहरुले त्यो ढिलाई गर्न सक्दैनन् । गरे भने उनीहरुको अस्तित्व पनि सिद्धिन सक्छ ।’ उक्त भनाइ जस्तै वीपीको परिकल्पना अनुरुपको समाजवाद नारामा मात्र सिमित हुनेछ । अन्यथा समाजवादको अस्तित्वमा प्रश्न चिन्ह उठ्न सक्ने सम्भावना पनि त्यतिकै रहन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here