यसरी गर्नुहोस् धनधान्यकी देवी लक्ष्मीको पूजा

0
5

काठमाडौं,

कार्तिक कृष्ण औँसी अर्थात् दीपावलीसहित धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गर्ने दिन। विशेषगरी साँझ लक्ष्मीको पूजा गर्ने विधान छ। विधिपूर्वक लक्ष्मीको पूजा गर्नाले श्रीसम्पत्ति र ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ।

लक्ष्मीको पूजा गर्ने विभिन्न विधि छन्। तीमध्ये सामान्य विधि यहाँ प्रस्तुत छ-

-शुद्ध वस्त्र लगाएर पूर्वतर्फ फर्किएर शुद्ध आसनमा बस्नुहोस्।

-अगाडि देब्रेतिर (विशेषगरी ईशान दिशामा) कलश, माझमा गणेश र दायाँतर्फ दियो स्थापना गर्नुहोस्।

-कलश-गणेश-दीपको अगाडि आफूपट्टी माझमा पर्नेगरी अर्को कलश थाप्नुहोस्।

-चन्दन, जौ, तिल, अक्षता, फूल, धुप, दीप, फल र पक्वान्न नैवेद्य आदि तयार पार्नुहोस्।

-सबै सामग्री तयार भइसकेपछि कर्मपात्र पूजा गर्नुहोस्। कर्मपात्रबाट कुशको औँठी लगाएर संकल्प गर्नुहोस्।

-अगाडि दायाँपट्टि दुबो, फल, दही, कुश र सर्स्युँ आदि राखी अर्घ्य थाप्नुहोस्। शुद्ध जल, पञ्चामृत आदि पनि अगाडि राख्नुहोस्। अर्घ्य पूजा गर्नुहोस्।

-मुख्य दीप प्रज्ज्वलन गर्नुहोस्। पूजा गरी अन्य दीप वा बत्ती बाल्नुहोस्।

-आसन (कुश वा फूल), जल अर्घ्य, पञ्चामृत चन्दन, अक्षता फूल आदि चढाएर क्रमशः कलश दीप र बिघ्नहर्ता गणेशको पूजा गर्नुहोस्।

-माझमा थापिएको कलश पूजा गरी थाली थाप्नुहोस्। चन्दनले अष्टदल लेखी बिचमा सुनको प्रतिमा थाप्नुहोस् वा लक्ष्मीको तस्विर राखेर देवीको आवाहन गर्नुहोस्।

-आसन, अर्घ्य, चन्दन र सौभाग्य आदि चढाएर देवी लक्ष्मीको पूजा गर्नुहोस्। धूप-दीप-नैवेद्य चढाउनुहोस्। फल, पान र भेटी पनि अर्पण गर्नुहोस्।

-लक्ष्मीका भाइ कुवेरको पूजा पनि गर्नुहोस्।

-बिमिरो र ओखर, कटुस र रुपैयाँ, गहना आदिको पनि पूजा गर्नुहोस्।

-यो मन्त्र पढेर पुष्पाञ्जली गर्नुहोस्-

विश्वरूपस्य भार्यासि पद्मे पद्मालये शुभे। ​महालक्ष्मि नमस्तुभ्यं सुखरात्रिं कुरुष्व मे।। ​विश्वरूपस्य भार्यासि पद्मे पद्मालये शुभे महालक्ष्मि नमस्तुभ्यं सुखरात्रिं कुरुष्व मे।। विश्वरूपस्य भार्यासि पद्मे पद्मालये शुभे महालक्ष्मि नमस्तुभ्यं सुखरात्रिं कुरुष्व मे।। विश्वरूपस्य भार्यासि पद्मे पद्मालये शुभे महालक्ष्मि नमस्तुभ्यं सुखरात्रिं कुरुष्व मे।।

अन्त्यमा नीराजन गरी, कपुरबत्ती बाली लक्ष्मीको आरती गर्नुहोस्।

देवीदेवताको पूजाअर्चना गर्दा सामग्री वा विधिभन्दा भाव ठूलो हो। त्यसैले सम्भव वा उपलब्ध हुनेसम्मका सामग्री र आफूले जानेको विधिबाट पनि पूजा गर्न सक्नुहन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here