डेंगी सचेतना

0
75

लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमणबाट अहिले विश्वका एक सय २८ देशका करिब चार अर्ब मानिस जोखिममा छन् । प्रत्येक वर्ष विश्वका पाँचदेखि दश करोड मानिसमा संक्रमण देखिने गरेको छ । त्यसमध्ये आधाजसोमा कडा प्रकृतिको संक्रमण भई बाइस हजारको ज्यान जाने गरेको छ । त्यस्तै डेंगी संक्रमणकै कारण चौबीस हजार बालबालिकाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ । नेपालमा सन् २००४ मा पहिचान भएको डेंगीले प्रत्येक तीन वर्षको अन्तरालमा प्रकोपको रुप लिने गरेको देखिएको छ । जथाभावी फ्यालिएको फोहोरमैला, अव्यवस्थित बसोबास, अविरल वर्षा, वातावरणको विनाश र जलवायु परिवर्तनका कारण लामखुट्टेको वृद्धि भइरहेको छ ।

जलवायु परिवर्तनका कारण विश्वको तापक्रम प्रत्येक वर्ष बढ्दै जाँदैछ । जसका कारण प्रत्येक वर्ष डेंगी गराउने लामखुट्टे पनि सर्दैछ । यसले नेपालका पहाडी मात्र होइन हिमाली क्षेत्रमा पनि डेंगी संक्रमण बढ्दै गएको छ । खासगरी गर्मी र वर्षात्को समयमा वृद्धि हुने डेंगी गराउने लामखुट्टेको टोकाइबाट हुने संक्रमण असोज महिनामा पुग्दा उच्च हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जब–जब तापक्रम बढ्छ, तब–तब डेंगीको संक्रमण वृद्धि हुन्छ र झन् संक्रामक हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यसबाट जोगिने सर्वोत्तम उपाय भएको विज्ञहरुले बताउने गरेका छन् । गर्मी मौसममा तराईमा मात्र देखिने डेंगी बाह«ै महिना र उच्च हिमाली क्षेत्रमा पनि देखिन थालेपछि स्वास्थ्य प्रणालीमै चुनौती थपिएको छ ।

डेंगीको संक्रमण र जोखिम बढ्दै गएपछि सरकारले यो साउन महिनालाई डेंगी सचेतना महिना घोषणा गरेको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले असार मसान्तका दिन एक कार्यक्रमका बीच डेंगी सचेतना महिना राष्ट्रिय अभियानको घोषणा गरेका हुन् । संक्रमण बढी हुने महिना भएकाले सचेतना अभियान सञ्चालन गर्न लागिएको भन्दै उनले आमनागरिकलाई संक्रमणबाट जोगाउन सचेतना बाहेक अर्को उपाय नभएको बताए ।

गत वर्ष अर्थात् सन् २०२४ मा डेंगी संक्रमणबाट एघार हजारभन्दा बढीको मृत्यु भएको थियो भने करिब डेढ करोड संक्रमित थिए । नेपालमा चालू आर्थिक वर्षमा पचास हजारभन्दा बढी संक्रमित भएका थिए भने पन्ध्र जनाको मृत्यु भएको थियो । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले सार्ने यो रोग शहर बजार क्षेत्रमा बढी देखिएको छ । त्यसैले वर्षाको समय खाली र खुल्ला ठाउँमा रहेका भाँडाहरुमा पानी जम्न नदिने, यसको लार्भा नष्ट गर्नु र झुल टाँगेर सुत्नु डेंगीबाट जोगिने सरल उपाय हो । त्यस बाहेक स्थानीय सरकार र सम्बद्ध निकायले औषधी छर्किने र प्रत्येक व्यक्तिले आफ्नो घर सफासुग्घर राखेर पनि डेंगीबाट बच्न सकिन्छ । सरकारको अभियानसँगै सरोकारवाला सबैको हातेमालोबाट किटजन्य महामारीबाट आफू, आफ्नो परिवार र समाजलाई जोगाउनु सबैको साझा दायित्व हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here