झापा।

जेनजी आन्दोलनपछि देशभरको निजी क्षेत्र अस्थिर र भयभीत बनेको व्यवसायीहरूले बताएका छन्। झापामा उद्योग–व्यवसायी, सङ्घ–सङ्गठनका प्रतिनिधिहरू सहभागी रहेको संवाद कार्यक्रममा अधिकांश वक्ताले अहिलेको चुनौती अर्थतन्त्र नभई सुरक्षा, राजनीतिक हस्तक्षेप र व्यवसाय विरोधी वातावरण भएको बताएका छन्।
कोसी प्रदेश संवाद समूहको आयोजनामा झापाको बिर्तामोडमा आयोजित छलफलमा आन्दोलनपछि देशको आर्थिक गति सुस्त मात्र नभई उद्योग–व्यापार, रोजगारी र लगानी वातावरण नै धरापमा परेको बताए । शान्ति–सुरक्षा कमजोर भएको, व्यवसायीलाई लक्षित धम्की र उच्छृङ्खल गतिविधि बढेको तथा राज्यले कर तिरेर राष्ट्रलाई टेवा पुर्याउँदै आएका उद्यमीहरूलाई उल्टै गलत रूपमा चित्रित गरिएको गुनासो उनीहरूको छ।

झापामा भाटभटेनी डिपार्टमेन्ट स्टोरमा भएको आगजनीले निजी क्षेत्रमा जन्माएको त्रास प्रसङ्ग उल्लेख गर्दै व्यवसायीहरूले रातिसम्म पसल खोल्न नसक्ने, जुलुस निस्किए लगत्तै भीड आक्रमण गर्न सक्छ भन्ने डर व्यापारीहरूमा चुलिएको बताए। सम्पूर्ण कारोबार सङ्कटमा रहेको उल्लेख गर्दै उत्पादनका वस्तु बजारमा नबिक्ने, रोजगारी जोगाउन कठिन रहेको सबैका गुनासा थिए ।
उद्योग–व्यवसायीहरूले जेनजीको नाममा सामाजिक सञ्जालमार्फत फैलिएको दुष्प्रचार, उच्छृङ्खल समूहको दादागिरी र चन्दा आतङ्कले आफ्नो मनोबल खस्किएको स्पष्ट पारेका छन् । नेपाल टायल्स मार्बल व्यवसायी सङ्घका अध्यक्ष कुशल खतिवडाले जेनजी आन्दोलनपछि निजी क्षेत्रमाथि योजनाबद्ध आक्रमण भएको बताए। उनले राजनीतिक नियुक्तिमा दलीय हस्तक्षेप हटाई प्रतिस्पर्धात्मक व्यवस्था विकास गर्नुपर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासङ्घ, कोशीका सदस्य प्रकाश सिवाकोटीले ब्याजदर घटे पनि बैङ्कहरू ऋण प्रवाह गर्न अनिच्छुक भएको र अनुदान कार्यक्रमहरू कागजमै सीमित रहेको बताए। अलैँची व्यवसायी महासङ्घका पूर्व अध्यक्ष निर्मल भट्टराईले अहिले विदेशी मात्र होइन स्थानीय व्यवसायी समेत लगानी गर्न नचाहने अवस्थामा पुगेको बताए।
बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले जेनजी आन्दोलनपछि भाटभटेनी, सरकारी भवन तथा अन्य संरचनामा देखिएको क्षतिका कारण व्यवसायी रातिसम्म व्यापार खोल्न डराउने अवस्था आएको बताए। ‘जुलुस निस्किए तुरुन्त आगो लाग्छ कि भन्ने अवस्था’, उनले भने, हामी पूर्ववत् अवस्थामा शान्ति सुरक्षा होस् भन्ने चाहन्छौँ ।’
सहकारी पीडितको नाममा दादागिरी, लुटपाटको जोखिम, बजारमा रातिसम्म बजार चलायमान बनाउन भूमिका खेल्नु पर्नेमा जोड दिए । राधिका चुँडाल, पर्वता खरेल बिमली, निर्मला भण्डारी सबैले जेनजीको नाममा उच्छृङ्खल गतिविधि बढेका कारण महिलासहित साना व्यवसायी बढी जोखिममा परेको बताइन्। उनीहरूले भने, ‘उद्योग बन्द, परियोजना रोक्का र पर्यटन शून्य अवस्थामा पुगेका छन् ।’

घरजग्गा व्यवसायी सङ्घ झापाका अध्यक्ष इन्जिनियर महेन्द्र थापाले झापामा ल्याउन लागेको हिल्टन होटलसमेतका ठुला लगानी परियोजना स्थगित भएको बताए । झापा उद्योग सङ्घका अध्यक्ष यमकुमार श्रेष्ठले जोनजी आन्दोलनले ८० अर्बभन्दा बढी क्षति भएसँगै ठुला उद्योग बन्द गराइँदा समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नेमा जोड दिए ।
यता बैङ्किङ क्षेत्रमासमेत अनिश्चितता देखिएको छ। तरलता ‘देखाउने’ तर ऋण प्रवाह नगर्ने प्रवृत्तिले व्यवसाय विस्तार असम्भव भएको, ठुला उद्योगका लाइन काटिने, सिमेन्ट र अन्य उत्पादन उद्योग बन्द गराइने जस्ता गतिविधिले उद्योग ध्वस्त भएपछि देश नै ध्वस्त हुने चेतावनी व्यवसायीहरूले दिए।
त्यस्तै मेची उद्योग वाणिजय संघका अध्यक्ष खेमराज प्रसाईंले राज्यले सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताए । सुरक्षा नभएसम्म नीजि क्षेत्रले ब्यवसाय ढुक्कसंग गर्ने अवस्था नरहेको उनको भनाई छ ।
बैठकले राजनीतिक अस्थिरता, दलीय करण र बारम्बार हुने कानुन परिवर्तनलाई सङ्कटका मूल कारणका रूपमा औँल्याए । राजनीतिक स्थायित्व, सुरक्षा प्रत्याभूति, सरल बैङ्किङ नीति र लगानी–मैत्री वातावरण अविलम्ब निर्माण गरिनुपर्छ। वर्किङ क्यापिटल गाइडलाइन खारेज गर्ने, कर तथा जिएसटीका समस्या तत्काल सम्बोधन गर्ने, सीमावर्ती तस्करी नियन्त्रण गर्ने र एक द्वार सेवा प्रणाली कार्यान्वयन गर्ने आवश्यकता वक्ताहरूले जोड दिए।
शान्ति–सुरक्षा कायम नगरी, लुटिएका हतियार फिर्ता नआईकन र भागेका कैदी नियन्त्रणमा नलिईकन सुरक्षाको प्रत्याभूति गर्न नसकिने उनीहरूको बुझाई छ ।




























